+
+
Shares

ओलीको वक्तव्य– विष्णु पौडेललाई अपहरण शैलीमा गिरफ्तार गरियो

‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ८ गते २१:२३

८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ ।

‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार गरेको छ, त्यसप्रति हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ,’ वक्तव्यमा भनिएको छ ।

एमाले सदैव कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको वक्तव्यमा उल्लेख छ ।

‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हा,’ वक्तव्यमा अगाडि भनिएको छ, ‘यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा एमालेमाथि लगातार भइरहेका श्रृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यान्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ ।’

उपाध्यक्ष पौडेल सुर्खेतको कार्यक्रम सकेर मंगलबार नै काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको उल्लेख गर्दै ‘विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको’ वक्तव्यमा उल्लेख छ ।

‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सदैव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो स्टन्ट र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ। सत्ताको उन्मादमा गरिएको यस प्रकारको अधिनायकवादी कदमको हाम्रो पार्टी डटेर सामना गर्नेछ,’ वक्तव्यमा भनिएको छ ।

यस्तै, सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको  बाटोतर्फ उन्मुख रहेको एमालेले भनेको छ । ‘हामी सरकारलाई चेतावनी दिन चाहन्छौं– विपक्षी दलका नेताहरूमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गरियोस्,’ वक्तव्यमार्फत अध्यक्ष ओलीले भनेका छन्, ‘सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापका  विरुद्ध   सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट हुन हार्दिक आह्वान गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?