Comments Add Comment

कोरोना खोपका लागि चैतसम्म नपर्खिन सांसदहरुको आग्रह

२८ साउन, काठमाडौं । सांसदहरुले कोराना भाइरसविरुद्धको खोपका लागि चैतसम्म नपर्खिन सरकारलाई आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरस संक्रमणको अवस्था, त्यसलाई न्युनीकरण गर्न सरकारले बनाएको योजना, खोप अभियानको विषयमा जानकारी गराएका थिए । उनले चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाउने सरकारको योजना रहेको र त्यस अनुसार तयारी अघि बढिरहेको बताएका थिए ।

तर सांसदहरुले भने कोरोना खोपका लागि चैतसम्म नपर्खिन आग्रह गरे । दशैं–तिहारजस्तो चाडपर्वमा मानिसहरु धेरै आवतजावत गर्ने हुनाले कोरोना संक्रमण बढ्न सक्ने भन्दै उनीहरुले दशैंअघि नै खोप दिन आग्रह गरे । दशैंअघि नै कोरोना खोप दिन नसकेमा तेस्रो लहर भयावह बन्न सक्ने सांसदहरुले बताए ।

सांसद खेमप्रसाद लोहनीले अबको चार महिनामा सबै नागरिकलाई खोप दिने गरी व्यवस्थापन गर्न आग्रह गरे ।

‘अब खोप प्रशस्त आउँछ । अब सरकारले नागरिकलाई कमसेकम एक खोप त लाऊ भन्नेछ’ स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने ।

‘कोरोना खोप चैत मशान्तसम्ममा भन्ने यहाँ पनि आयो, धेरै ठाउँमा आएको छ । यो धेरै ढिलो हुन्छ । अहिले चैत भन्यौं भने असार जान्छ । त्यसकारण अबको चार महिनामा खोप लगाउने व्यवस्थापन गरौं’ उनले भने ।

पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले खोपका लागि गरेको काम प्रसंसायोग्य नै रहेको तर, व्यवस्थापन कमजोर भएको बताए । ‘व्यवस्थापन किन यति कमजोर ?’ थापाको प्रश्न छ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण न्युनीकरण गर्नका लागि भनेर राति ८ बजेपछि यातायात सञ्चालनमा रोक लगएको छ । सांसद थापाले कोरोना साँझ र राति बढ्दै जाने दिउँसो घट्ने यसको वैज्ञानितक तथ्य के हो ? भनी प्रश्न गरे ।

सांसद रामकुमारी झाँक्रीले खोप केन्द्रको व्यवस्थापन चुस्त हुन नसकेको बताइन् । ‘खोपका लागि मान्छेहरुलाई लाइनमा राखिएको छ । खोप कार्डमा रि म्यानेजमेण्ट गर्ने हो कि !’ उनको सुझाव छ ।

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले निशुल्क भनिएको कोरोना उपचारका लागि नागरिकले महंगो शुल्क तिर्नुपरिरहेको भन्दै सांसदको ध्यानाकर्षण गराए ।

सांसद कृष्णकुमार राईले होटल रेष्टुरेन्टमा समेत कोरोना खोप भेटिएको भन्दै सरकारको जवाफ मागे ।

सांसद रामबहादुर विष्टले नेपालले पैसा तिरिसकेको भनिएको खोप भारतबाट आउँदैछ कि आउँदैन ? भनी सोधे ।

सांसद महेश बस्नेतले विद्यार्थीको परीक्षा स्वास्थ्य मापदण्ड पालना नगरी किन लिइएको ? भनी प्रश्न गरे । उनले खोप लगाएको प्रमाणपत्र लिन लाइन लागेको विषयमा सरकारको जवाफ मागे ।

जवाफमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सरकार सबै कोणबाट कोरोनाको महामारी न्युनीकरणमा लागिरहेको र लाग्ने बताए । अब कोरोना खोप पर्याप्त आउने पनि विश्वास दिलाउन खोजे । ‘अब खोप प्रशस्त आउँछ । अब सरकारले नागरिकलाई कमसेकम एक खोप त लाऊ भन्नेछ’ उनले भनेका छन् ।

उनले अनुदान र खरिद गरेर पनि खोप ल्याउने पहल जारी रहेको र कतिपय सुनिश्चित भइसकेको पनि बताएका छन् । अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको त्यसमध्ये ४२ लाखलाई लगाइएको जानकारी दिए ।

यस्तै, नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्‍याएको राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । र हरेक दिन डेढ लाखदेखि २ लाख नागरिकले खोप लगाउने गरेको उल्लेख गर्दै उनले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको पनि बताएका छन् ।

अब सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५÷१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने मन्त्री श्रेष्ठले बताएका छन् ।

तर, एकैपटक धेरै खोप ल्याएर भण्डारण गर्ने नेपालको क्षमता नरहेको उनले बताए । ‘हाम्रो खोप भण्डारण २५ लाखभन्दा छैन’ उनले भने, ‘यसकारण ल्याएर द्रुतगतिमा लगाउने नै विकल्प हो ।’

यस्तै, मन्त्री श्रेष्ठले मेलम्ची बाढी पीडितका लागि तत्काल खोप व्यवस्था हुने पनि बताएका छन् । ‘म भोलि पर्सिका दिनमा मेलम्चीका जनतालाई पुर्ण रुपमा खोप लगाउने प्रतिवद्धता जाहेर गर्न चाहन्छु’ उनले भने ।

सांसदहरुले होटलमा, नेताको घरमा र मम पसलमा समेत खोप भेटाइएको भनी सोधेका प्रश्नको जवाफ दिँदै उनले खोप दुरुपयोग गरेको पाइए कारवाही हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment