Comments Add Comment

कांग्रेस केन्द्रीय समिति शुक्रबार फेरि बस्ने

फाइल तस्वीर

२८ साउन काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । बिहीबार बसेको बैठकमा तीन वटा प्रस्ताव पेश भएका छन् ।

महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन निर्देशिका पेश गरेका छन् भने उपसभापति विमलेन्द्र निधिले समायोजनसम्बन्धी प्रतिवेदन वैठकमा पेश गरेका छन् । त्यस्तै केन्द्रीय सदस्य रमेश लेखकले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन पेश गरेका छन् ।

बैठकमा सदस्यता छानविन समिति सदस्य कल्याण गुरुङले फरक मत राखेका थिए । उनले प्रक्रियाविपरीत आएका सदस्यतालाई पनि मान्यता दिनुका साथै तल्लो तहबाट सदस्यता फारमलगायतका प्रमाणपत्र नआएको भन्दै फरक मत रहेको केन्द्रीय समिति बैठकमा जानकारी गराए ।

समिति सदस्य प्रदीप पौडेलले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने दवावका कारण हतारमा काम गर्नुपरेको स्वीकार गरेका थिए । उनले प्रतिवेदन सार्वजनिक गर्न माग गरे । ‘प्रतिवेदनमा नामहरु थपघट भइरहेका छन् भनेर बाहिर आशंकाहरु गर्न थालिएको छ, यसलाई चिर्नका लागि प्रतिवेदन सुरुमै सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘सदस्यता किन गोप्य राख्नुपर्‍यो ? यो त सबैले हेर्न पाउनुपर्छ ।’

बैठकमा सदस्यता छानविन समितिका सबै सदस्यले आफ्नो धारणा राखेका थिए भने केन्द्रीय सदस्य मोहन बस्नेत र हृदयराम थानीले पनि क्रियाशील सदस्यताबारे धारणा राखेका थिए । क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते प्रतिवेदन पार्टी सभापतिलाई बुझाएको थियो । विभिन्न १३ निर्वाचन क्षेत्रमा देखिएको विवाद सुल्झाउने जिम्मा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई दिएको थियो ।

कांग्रेसको भदौ १६–१९ का लागि तय भएको महाधिवेशन क्रियाशील सदस्यता नटुंगिएका कारण अनिश्चित बनेको छ । महाधिवेशनको नयाँ कार्यतालिका ल्याउनेबारे शीर्ष नेताहरुबीच निरन्तर संवाद भएपनि सहमति जुट्न सकेको छैन । बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच छलफल भएको थियो । तर कार्यतालिकामा भने सहमति जुट्न नसकेको एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment