Comments Add Comment

पूँजीबजारमा महिला : परिवारको उन्नतिमा साझेदारी

शेयर बजार चक्रीय प्रणालीमा चल्ने हुँदा यो क्षेत्र आम लगानीकर्ताको लागि सधैंभरी एकै किसिमको आकर्षणको क्षेत्र हुँदैन । बजार कहिले बढ्ने र कहिले घट्ने हुनु सामान्य हो । ‘बुल मार्केट’ मा धेरै नयाँ लगानीकर्तालाई आकर्षित गर्ने बजारले ‘बियर मार्केट’ सम्म पुग्दा यसै क्षेत्रमा लाग्नेहरू समेत निष्क्रिय रहेको पाइन्छ ।

२०६३ साल अघिसम्म शेयर बजारमा महिला लगानीकर्ताको संख्या सीमित थियो । २०६३ सालमा म शेयर बजार प्रवेश गर्दासम्म पनि महिलाहरू खुलेर लगानी गर्न जाने गरेको भेटिंदैनथ्यो । त्यसपछिका केही वर्षहरू पनि सक्रिय महिला लगानीकर्ताको संख्या औंलामा गन्न सकिने अवस्थामा मात्रै थियो ।

समयको गतिसँगै आज महिला लगानीकर्ताको नाममा १६ लाख डिम्याट खाता छन् । घरका पुरुष सदस्यहरूले डिम्याट खाता खोलिदिएर प्राथमिक तथा दोस्रो बजारमा लगानी गरिदिने महिला लगानीकर्ता मात्रै होइन आफैं सक्रिय रूपमा दोस्रो बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्ने महिलाको संख्या पनि बढ्दो छ ।

आर्थिक गतिविधिमा पुरुषको मात्र सहभागिता हुने सामाजिक पृष्ठभूमिलाई चिर्दै शेयर बजारमा महिलाहरू संख्यात्मक मात्रै होइन, गुणात्मक रूपमा पनि आफूलाई स्थापित गर्दै गएका छन् ।

विश्वकै शेयर बजारलाई तुलनात्मक अध्ययन गर्ने हो भने महिलाको संख्या पुरुषको तुलनामा न्यून छ । नेपालको सन्दर्भमा पनि पुरुषको तुलनामा सक्रिय महिला लगानीकर्ताको संख्या कमै छ । ‘बुल मार्केट’ मा प्रवेश गरी ‘बियर मार्केट’ मा पुग्दा शेयर बजारबाटै पलायन हुने सिजनल लगानीकर्तामा पनि महिलाकै संख्या बढी देखिन्छ ।

आफूसँग भएको थोरै थोरै पूँजी प्राथमिक बजारमा लगानी गर्ने र त्यसको शेयर बिक्री गरी पूँजी निर्माण गर्दै सो पूँजी दोस्रो बजारमा लगानी गर्ने गरी मनग्गे आर्जन गर्ने लगानीकर्ता यो पटक ठूलो संख्यामा देखिएका छन् । नेपालको शेयर बजारकै इतिहासमा छोटो समयमा भएको ठूलो वृद्धिले सम्पूर्ण लगानीकर्ताको यस क्षेत्रप्रतिको आकर्षण बढाएको छ ।

आफ्नो पारिवारिक दायित्व पूरा गरी फुर्सदको समयमा शेयरमा कारोबार वा लगानी गरी परिवारको आर्थिक उन्नतिमा साझेदार बन्न सक्नु महिलाका लागि गौरवको विषय हो ।

चक्रीय प्रणालीमा चल्ने शेयर बजारमा ‘बुल मार्केट’ मा सजिलै कमाउनेहरू ‘बियर मार्केट’ मा नराम्रोसँग गुमाउन पनि सक्छन् । शेयर बजार सधैं एकनासको कमाइ हुने क्षेत्र होइन । तर पनि यो क्षेत्र महिला पुरुष दुवैको आकर्षणको क्षेत्र बन्दै गएको कुरा ४० लाख हाराहारीको डिम्याट खाता र ७ लाखभन्दा बढी अनलाइन कारोबार गर्न टीएमएस लिनेहरूको संख्याले पुष्टि गरेको छ ।

पितृसत्तात्मक समाज, आर्थिक गतिविधिमा पुरुषहरूको मात्र सहभागिताको ऐतिहासिक पृष्ठभूमिलाई चिर्दै महिलाहरूले नेपाली शेयर बजारमा संख्यात्मक मात्र होइन, गुणात्मक रूपमा आफूलाई स्थापित गर्दै गएका छन् ।

सरकारले हरेक आर्थिक वर्षका लागि ल्याउने बजेट, केन्द्रीय बैंकले हरेक वर्ष ल्याउने मौद्रिक नीति, शेयर बजारसँग सम्बन्धित नियामक निकायहरू नेपाल धितोपत्र बोर्ड, बीमा समिति, विद्युत् नियमन विभाग लगायतले गर्ने नीतिगत व्यवस्थाले शेयर बजारलाई प्रभाव पार्छ ।

यसैगरी राष्ट्र बैंकले गर्ने नीतिगत सुधार तथा परिवर्तन, बैंक तथा वित्तीय संस्थाका सम्बन्धमा जारी गर्ने परिपत्र, स्प्रेड रेट, तरलता, ब्याजदर, शेयर धितो कर्जा लगायतका कार्य जसले शेयर बजारलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पार्छ । ती सबै कुराको अध्ययन गर्ने, नजानेको कुराहरूमा छलफल गर्ने, आफ्नो विचार राख्ने स्तरसम्म आज धेरै महिला पुगेका छन् ।

आफूसँगै भएको स–सानो पूँजी लगानी गर्ने र फुर्सदको समयलाई सदुपयोग गरी आत्मनिर्भर हुन सकिने शेयर बजारमा शहरी क्षेत्रमा महिला सहभागिता पछिल्लो समय बढ्दो क्रममा भए पनि ग्रामीण क्षेत्रका महिला भने अझै यस क्षेत्रमा आकर्षित हुनसकेका छैनन् ।

हुनत नेपालका अधिकांश ग्रामीण बस्तीमा बसोबास गर्ने पुरुषहरू पनि यो क्षेत्रमा आकर्षित छैनन् । अझ पनि उनीहरूमा शेयर बजार सम्बन्धी ज्ञान छैन । जलविद्युत् कम्पनीहरूले दिने गरेको स्थानीय कोटाको शेयर र कृषि विकास बैंकले दिएको कृषक कोटाको शेयर अहिले पनि बिक्री गर्ने ठाउँ नदेखेका धेरै लगानीकर्ता छन् ।

ग्रामीण महिलाहरूले पशुपालन तथा कृषि कार्यबाट बचत गरेको पेवापातलाई शेयर बजारमा लगानी गर्न सके उनीहरूको आय आर्जनलाई टेवा दिई जीवनयापनमा आमूल परिवर्तन ल्याउन सकिन्छ ।

शेयर बजार पूँजी निर्माणको महत्पूर्ण आधार हो । ठूला–ठूला उद्योग, व्यापार, भौतिक पूर्वाधार लगायत क्षेत्रको विकासका लागि विदेशी दातृ निकायसामु सहयोगको हात पसार्नुको साटो आफ्नै देशमा छरिएर रहेका स–साना पूँजीहरू एकत्रित गर्दै लगानी गरी देश विकास र जनताको जीवनस्तर दुवै सुधार्न सकिन्छ । यस्तो पूँजी बजारलाई राज्यले सोही अनुरूपको महत्व दिई व्यवहार गर्न सके पक्कै पनि देशको समग्र विकास हुनेमा दुईमत छैन ।

राजधानीमा मात्र सीमित रहेका स्टक ब्रोकर कम्पनीहरू अब काठमाडांै बाहिरका शहरी क्षेत्रमा पनि विस्तार हुँदै गएका छन् । निकट भविष्यमा थपिने प्रदेशस्तरका ब्रोकर कम्पनी र बैंकका सहायक कम्पनीहरूलाई पनि ब्रोकर लाइसेन्स दिने व्यवस्थाले शेयर बजारलाई क्रमशः ग्रामीण भेगसम्म पु¥याउन सक्नेछ भन्नेमा विश्वस्त हुन सकिन्छ ।

शेयर बजारले महिलाहरूलाई पैसा मात्रै चिन्ने बनाएको छैन, उनीहरू आर्थिक व्यवस्थापन, वित्तीय चेतना लगायत विषयमा पनि जानकार भएका छन् । महिलाहरू आर्थिक पक्षमा जानकार भएका मात्रै होइनन् उनीहरूलाई राम्रो वित्तीय शिक्षा समेत शेयर बजारबाट प्राप्त भइरहेको छ । शेयर बजारमा लागिरहेका महिलाहरू अहिले घरपरिवारभित्र आर्थिक उन्नतिको साझेदार बनिरहेका छन् ।

तर १६ लाख डिम्याट खाता महिलाको नाममा खोलिएका छन् भनेर ढुक्क भएर बस्नुहुँदैन । अझ धेरै महिला शेयर बजारबाट बाहिर छन् । धेरैमा वित्तीय चेतना छैन । अब ग्रामीण भेगका विपन्न महिलालाई पनि शेयर बजारमा ल्याउनु जरूरी छ । उनीहरूलाई आर्थिक उपार्जन गराएर महिला आफैं सक्षम छन् भन्ने देखाउनु आजको आवश्यकता हो ।

(शेयर बजारमा डेढ दशकदेखि सक्रिय तिवारी लगानीकर्ताहरूको सबैभन्दा पुरानो संगठन नेपाल इन्भेष्टर्स फोरमको सचिव हुन् ।)

यो पनि पढ्नुहोस शेयर बजारले बदल्दै समाज : ‘बैंक नदेखेकाहरू मौद्रिक नीतिमा चासो राख्छन्’ यो पनि पढ्नुहोस ‘पूँजीबजार बढेको छ, जोखिम झनै बढेको छ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment