Comments Add Comment

आफ्नो मृत्यु दर्ता खारेज गरी नागरिकता पाए सुभाषले

२९ साउन, विराटनगर । जिउँदो हुँदाहुँदै मृत्यु भयो भनेर काजकिरिया गरिएका एक व्यक्तिले मृत्यु दर्ता खारेज गरी पाँच वर्षपछि नागरिकता पाएका छन् । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बिहीबार नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गरेका हुन् ।

२०७२ साल असारमा साउदी अरबमा दुर्घटनामा परेका उनको मृत्यु भयो भन्दै शव आएपछि आफन्तले अन्त्येष्टि गरी २०७२ साउन ६ गते मृत्यु दर्ता गरेका थिए । तर दुर्घटनाको एक वर्षपछि उनी जीवितै घर फर्किए ।

तामाङको बिहीबार मृत्यु दर्ता खारेज गरी मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले नागरिकताको प्रतिलिपी प्रदान गरेका हुन् । ‘राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार मृत्यु दर्ता खारेज गरी नागरिकताको प्रतिलिपी दिइएको छ,’ प्रजिअ निरौलाले भने ।

सुभाषको भनेर अन्त्येष्टि गरिएको शव अर्कैको

वैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका सुभाष २०७२ साल असार २५ गते दुर्घटनामा परेका थिए । दुर्घटनाको २८ दिनमा सुभाषको भनेर शव नेपाल आयो । परिवारले धार्मिक संस्कार अनुसार अन्तिम संस्कार गरे ।

तर पछि उक्त शव सुभाषको नभएर बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको रहेको पुष्टि भयो । उनी कार्यरत कम्पनीको लापरबाहीका तेजेन्द्रको शवलाई सुभाषको भनेर नेपाल पठाइएको थियो । दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाष उपचारपछि २०७३ सालमा नेपाल फर्किएका थिए ।

उनले आफ्नै मृत्यु दर्ता खारेजीका लागि प्रक्रिया थालेका थिए । ‘पाँच वर्षसम्म सरकारी निकायमा धाएर बिहीबार बल्ल नागरिकता पाएँ,’ सुभाषले भने ।

भोजपुरको (साविक कुदाककाउले गाविस–९) हालको षडानन्द नगरपालिका–२ का उनी भोजपुरबाटै २०६० जेठ २९ गते ४८४१–११–२५५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेर वैदेशिक रोजगारीका लागि साउदी गएका थिए । सुभाषको मृत्यु दर्ता भोजपुरमै गरिएको थियो ।

भोजपुरबाट जारी भएको नागरिकता नम्बर नै कायम रहने गरी मोरङबाट प्रतिलिपी उपलब्ध गराइएको प्रजिअ निरौलाले जानकारी दिए ।

मृत्यु दर्ता हुँदा लामो समयदेखि अनावश्यक दुःख पाउनु परेका कारण सरकारले आफूलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।

आफू जीवित रहेको सरकारी प्रमाणसहित नेपाली नागरिकता प्राप्त गरेका उनले पुनः विदेश जाने सोच बनाएको बताए । बेलबारी बस्दै आएका उनले केही समय सिटी सफारी सञ्चालन गरेका थिए । उनका दुई छोराछोरी र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment