Comments Add Comment

साताका १० गीतः ‘कुरा वुझ्न पर्चदेखि यस्तै हो संसार’सम्म

युट्युबमा एक सातामा तीन दर्जन बढी गीत सार्वजनिक भए । त्यसमध्ये तीज गीतकै बर्चश्व बढी देखिएको छ । सार्वजनिक गीतमध्ये यस साता केही गीतले राम्रो चर्चा कमाए । प्रकाश सपूतको तीज गीत ‘कुरा बुझ्न पर्च’ निकै चर्चामा रह्यो । त्यस्तै दुर्गेश थापाको ‘बीच्च बीच्चमा ५–पानी पानीमा’ तीज गीत पनि राम्रै चर्चामा रह्यो । गतवर्ष सार्वजनिक ‘सोचेझै जिन्दगी रैनछ’को भाग दुईका रुपमा सार्वजनिक ‘यस्तै हो संसार’ले पनि युट्युबमा राम्रो भ्यूज पाईरहेको छ ।

यी बाहेक अन्य केही गीतहरुले पनि युटयुबमा राम्रो भ्यूज पाएका छन् । हामीले यहाँ एक सातामा सार्वजनिक भएका १० गीत प्रस्तुत गरेका छौं ।

प्रकाशको ‘कुरा बुझ्न पर्च’

गत शुक्रबार सार्वजनिक गीतकार तथा संगीतकार प्रकाश सपूतको तीज गीत ‘कुरा बुझ्न पर्च’ले निकै चर्चा पायो । गीत युट्युब र टिकटकमा यतिबेला नम्बर १ ट्रेन्डिङमा छ ।

प्रकाश सपूतको शब्द, संगीत रहेको गीतमा शान्तीश्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतको भिडियोलाई प्रकाश स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा नायिकाद्धय स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय गरेका छन् । साथमा लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत लगायतको अभिनय भिडियोमा हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । पारिवारिक जीवनका बारेमा आधुनिक पुस्ताका युवतीको अवधारणालाई गीतमार्फत पेश गरिएको छ । एक साता पुरा नहुँदै गीतको भिडियोले युट्युबमा ५१ लाख ७० हजार बढी भ्यूज पाएको छ ।

खेम र अनिताको ‘यस्तै हो संसार’

गतवर्ष निकै चर्चामा रहेको तीज गीत ‘सोचेझै जिन्दगी रैनछ’को भाग २ को रुपमा ‘यस्तै हो संसार’ सार्वजनिक गरिएको हो ।

नेत्र अर्यालको शब्द रहेको यस गीतमा गायक खेम सेन्चुरी र गायिका अनिता चलाउनेले स्वर दिएका छन् । गीतमा संगीत भने खेम सेन्चुरीको नै छ । गीतको म्युजिक भिडियोमा नायक पल शाह, नायिका वर्षा राउत, मोडल दुर्गेश थापा र अञ्जली अधिकारीको अभिनय हेर्न सकिन्छ । गम्भीर बिष्टको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन, विष्णु शर्माको सम्पादन छ । सार्वजनिक भएको दुई दिनमा गीतको भिडियोलाई युट्युबमा ४ लाख बढी पटक हेरिएको छ ।

दुर्गेश र पलको ‘बीच्च बीच्चमा ५–पानी पानीमा’

गायक एवं मोडल दुर्गेश थापाको तीज गीत ‘बीच्च बीच्चमा ५–पानी पानीमा’ चार दिनअघि युट्युबमा सार्वजनिक गरिएको हो । दुर्गेश थापाको शब्द तथा संगीत रहेको गीतमा दुर्गेश र बसन्त थापाले स्वर दिएका छन् । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा नायक पल शाह र मोडल दुर्गेश थापाको अभिनय छ ।

अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । हालसम्म गीतको भिडियोको भ्यूज १२ लाख ६० हजार बढी पुगेको छ ।

दीपाश्री निरौलाको ‘दिदी बहिनी’

कलाकार एवं चलचित्र निर्देशक दीपाश्री निरौलाको निर्देशन एवं अभिनयमा सार्वजनिक तीज गीत हो, ‘दिदी बहिनी’ । श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको गीतलाई शान्तीश्री परियार, लक्ष्मी मल्ल र श्रीकृष्ण बम मल्लले स्वर दिएका छन् ।

गजित विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दीपाश्रीका साथमा रजनी केसी, गजित विष्ट, निर्मल शर्मा, सुमन गिरी, कमला लामिछानेको अभिनय छ । राजु केसीको छायाँकन रहेको यस भिडियोलाई टेकेन्द शाहले सम्पादन गरेका छन् । अहिलेको परिस्थितिमा तीजमा माइत जान नपाएका चेलीको मर्म र पीडालाई गीतमा व्यक्त गरिएको छ ।

बिहीबार मात्र सार्वजनिक गीतको भिडियोले एक दिन नबित्दै झण्डै १ लाख ६५ हजार बढी भ्यूज पाएको छ ।

जुम्ल्याहा दिदीबहिनीको ‘आयो तीजको लहर’

मेलिना राईको स्वरमा ६ दिनअघि ‘आयो तीजको लहर’बोलको तीज गीत सार्वजनिक भएको हो । निहारिका लक्ष्मी शाहको शब्द रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत, उदयराज पौडेलको एरेन्ज छ । गीतको भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय हेर्न सकिन्छ । शान थापाको निर्देशन, राजिव समिरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन एवं सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोले एकसाता नपुग्दै युट्युबमा १६ लाख ५० हजार बढी भ्यूज पाएको छ । भिडियोलाई केन्द्र मोशन पिक्चर्सले निर्माण गरेको हो ।

‘धुर्मुस–सुन्तली’को स्वरमा ‘तिमी मेरो शिवजी’

हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले पहिलोपटक रेकर्ड गराएको गीत हो, ‘तिमी मेरो शिवजी’ । पशुपति शर्माको शब्द एवं संगीतमा सिताराम र कुञ्जनाले पहिलोपटक गीतमा स्वर दिएका हुन् । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा सिताराम र कुञ्जनाकै अभिनय छ । उनीहरुले ‘मेरी बास्सै’मा निर्वाह गरेको मुस्कान पासा र फतौरी बुढीको गेटअपमा भिडियोमा अभिनय गरेका छन् । राजेश घिमिरेले छायाँकन गरेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । चार दिनअघि सार्वजनिक गीतको भिडियोले युट्युबमा झण्डै ४ लाख पटक हेरिएको छ ।

शिशिरको ‘भैगो माया लाउँदिन’

शिशिर भण्डारी र एलिना उदासको स्वरमा ‘भैगो माया लाउँदिन’ यसै साता सार्वजनिक भयो । शिशिरकै शब्द एवं संगीत रहेको गीतका संगीत संयोजक कुशल सिंह हुन् । सन्तोष राजवाहकको निर्देशन रहेको भिडियोमा शिशिर भण्डारी, बिना राउत, सरोज प्रजा, बसन्त भण्डारी लगायतको अभिनय छ ।

उत्सव दाहालले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । शनिबार युट्युबमा सार्वजनिक गरिएको भिडियोलाई हालसम्म ४ लाख ४५ हजार बढी पटक हेरिएको छ ।

प्रमोदको ‘कसलाई दोष’

प्रमोद खरेलको स्वरमा ‘कसलाई दोष’ बोलको गीत सार्वजनिक भयो । सुनिल बिसीको शब्द एवं संगीत रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ । विक्रम चौहानको निर्देशनमा बनेको गीतको भिडियोमा बिक्रम बुढाथोकी, सुस्मिता बमरेल, दिनेश कठायतको अभिनय हेर्न सकिन्छ ।

प्रकाश खड्काको निर्देशन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । चार दिनअघि सार्वजनिक गीतको भिडियोले युट्युबमा ३ लाख १० हजार बढी भ्यूज पाएको छ ।

‘बाँचेपो पाइएला नाच्न हजुर’

शर्मिला गुरुङ्ग, देवी घर्ती मगर, खेम सेञ्चुरी र पुरुषोत्तम पौडेलको स्वरमा ‘बाँचेपो पाइएला नाच्न हजुर’ बोलको तीज गीत सार्वजनिक भएको हो । नेत्र अर्यालको शब्द रहेको यस गीतमा खेम सेञ्चुरीको संगीत छ भने बिनोद बाजुरालीको एरेन्ज छ ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा रामचन्द्र रायमाझी, रमा थपलिया, अञ्जली अधिकारी, खेम सेञ्चुरी लगायतको अभिनय छ । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । पाँच दिनअघि यस गीतको भिडियो युट्युबमा सार्वजनिक भएको हो । भिडियोले अहिलेसम्म २ लाख १५ हजार बढी भ्यूज पाएको छ ।

लक्ष्मी न्यौपानेको ‘मै सानी हुँदा’

गायिका लक्ष्मी न्यौपानेको मौलिक तीज गीत हो, ‘मै सानी हुँदा’ । गतवर्ष सार्वजनिक ‘मै माग्थेँ बालापन’ भाग २ का रुपमा उनले यस गीत सार्वजनिक गरेकी हुन् । यस गीतको शब्द राजकुमार बगरले तयार पारेका हुन् । लक्ष्मीकै संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । स्मृति तिमिल्सिना (गुरुआमा)को निर्देशन रहेको भिडियोमा स्मृति स्वयंमका साथमा रीना थापा मगरले अभिनय गरेकी छिन् । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।

तीज गीतमा मौलिकता हराएको गुनासो आईरहेको अवस्थामा लक्ष्मीको यस गीतमा भने तीजको मौलिकपन पाइन्छ । ४ दिनअघि सार्वजनिक भएको यस गीतको भ्यूज भने केही कम छ । अहिलेसम्म भिडियोले ७५ हजार भ्यूज पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment