Comments Add Comment

केन्द्रीय समिति बैठक पार्टी कार्यालयमै राख्न शेखरको आग्रह

अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेस प्रतिकुल छ : शेखर

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय समिति बैठक पार्टी कार्यालयमै राख्न ध्यानाकर्षण गराएका छन् । पार्टी कार्यालयमा धर्ना भएको भन्दै बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा बसेपछि केन्द्रीय सदस्य कोइरालाले नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

उनले धर्नामा बसेकाहरु आफ्नै पार्टी नेता कार्यकर्ता भएको उल्लेख गर्दै धर्नालाई देखाएर बैठक बाहिर राख्नु उचित नहुने बताएका हुन् ।

‘आज दुख लागेको छ । सानेपाको कार्यालय छोडेर केन्द्रीय समिति बैठक यहाँ गर्दैछौं । पार्टी कार्यालयमा धर्नामा बसेका हाम्रै साथीहरु हुन् । उनीहरुको माग हामीले सुन्नैपर्छ,’ केन्द्रीय समिति बैठकमा नेता कोइरालाले भने, ‘१३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य साथीहरू नै पार्टी कार्यलयमा धर्नामा बस्नु भएको थियो तर पार्टी अफिसमै बैठक बस्यो र साथीहरूको माग सुनुवाइ भयो । मेरो बिनम्र आग्रह छ कि हरेक केन्द्रीय समिति बैठक पार्टी अफिसमै राखौं ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार सञ्चालनमा ध्यान दिन आग्रह गरे । महत्वपूर्ण समय पार्टी काममा खर्च भइरहेकोतर्फ सजग गराउँदै नेता कोइरालाले भने, ‘२५ प्रतिशत समय मात्रै सरकार सञ्चालनमा खर्च भएको छ । यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?’

उनले सरकारलाई चाँडो पूर्णता दिन आग्रह गरे । साथै गठबन्धन सरकारसामु धेरै चुनौतिहरु रहेकाले सरकार चनाखो हुनुपर्नेमा उनको जोड थियो । त्यस्तै अन्तर्राष्ट्रिय परिस्थिति कांग्रेसको प्रतिकुल रहेको नेता कोइरालाको भनाई थियो । ‘हाम्रा छिमेकी राष्ट्र र मित्र राष्ट्रहरुसंगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने छ । त्यसकारण पार्टीको सम्पुर्ण शक्ति सरकारलाई सफल बनाउँन केन्द्रित हुनुपर्ने देखिन्छ,’ उनले भने ।

उनले क्रियाशील सदस्यतामा देखिएको विवाद चाँडो टुंग्याउनुपर्ने बताए । विषेश महाधिवेशन र म्याद थप्ने कुरा स्वीकार्य नहुने भन्दै उनले क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुन नसक्ने अडान राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment