Comments Add Comment

नेपालमा ‘ट्वीनडेमिक’ को संकेत !

झण्डै एक वर्ष अगाडि कोभिड-१९ को लहरले तीव्रता लिइरहेको बेला फ्लुको सिजन पनि नजिकिँदै थियो । दुवै भाइरस एउटै समयमा देखिए थप समस्या देखिन सक्ने आँकलन वैज्ञानिकहरुको थियो । तर नेपालमा  फ्लु संक्रमितको संख्या शून्य प्राय थियो । त्यही कुरा मैले मेडिकल जर्नलमार्फत पनि प्रकाशित गरेको थिएँ । वास्तवमा, सन् २०२० फ्लु संक्रमितको संख्या नेपालमा मात्र होइन, विश्वभर नै नै आश्चर्यलाग्दो तरिकाले खस्किएको थियो ।

तर अहिले नेपालमा ‘ट्वीनडेमिक’ को सम्भावना देखिएको छ । कोभिड-१९ र फ्लु भाइरस सँगसँगै उकालो लागेको अवस्थालाई ‘ट्वीनडेमिक’ भनिन्छ । हाल कोभिड-१९ को लहरले निरन्तरता पाइरहँदा फ्लु संक्रमितहरु संक्रमितको संख्या दुई हप्ताको अन्तरालमा दुई गुणाले बढेको देखिएको छ ।

सन् २०२०, अप्रिल महीनाको पहिलो हप्तासम्म नेपालमा फ्लु भाइरस देखिएको थियो । त्यो बेला हप्तामा १०० जनासम्म संक्रमित भएका थिए । विशेषत: फ्लु ‘ए’ अन्तर्गत स्वाइन फ्लूको नामले चिनिने ‘H1N1pdm09’ र हङकङ फ्लुको नामले चिनिने ‘H3’ भाइरस बढी देखिएको थियो । ‘फ्लु बी’ देखिएको भए पनि हालसम्म थाहा भएको प्रकार (लिनिज) भन्दा फरक भाइरस देखिएको थियो । अर्थात् फ्लु ‘बी’ को नयाँ भाइरस देखिएको थियो । फ्लु ‘बी’ को नयाँ भाइरसले सन् २०२१ मा पनि निरन्तरता पाइरहेको छ ।

सन् २०२० मा फ्लु भाइरस देखिन छाडेपछि नेपालमा कोरोना महामारीको पहिलो लहरले गति लियो ।

नेपालमा वर्षको दुई पटक फ्लुले उत्कर्षको रुप लिने गर्दछ, जसमा जुलाई-अगस्ट महिना पनि एक हो । तर सन् २०२० को जुलाई-अगस्ट महीनामा कोरोनाको लहरले उत्कर्षको विन्दु चुम्दै गर्दै फ्लु भाइरसको संख्या भने शून्य अवस्थामा पुगेको थियो अर्थात् वैज्ञानिकहरु सोचे जस्तो ‘ट्वीनडेमिक’ को अवस्था देखिएन/सिर्जना भएन । पश्चिमा देशहरुमा पनि कोभिड-१९ को लहरसँगै फ्लूको संख्या (फ्लू सिजनमा) नगन्य अवस्था मात्र देखियो ।

कुनै पनि संक्रमितमा रोग पहिचान गर्दा शुरुमा लक्षणहरुको साहारा नै लिने गरिन्छ । तर, नेपालमा कोरोना र ‘फ्लु भाइरस’हरु सँगसँगै देखिँदा र लक्षणहरु पनि एक अर्कासँग धेरै मिल्दोजुल्दो हुँदा स्वास्थकर्मीहरुलाई नै संक्रमण छुट्याउन चुनौती थपिएको छ

तर सन् २०२१ को सुरुआतीदेखि कोभिड-१९ ले निरन्तरता पाइरहँदा फ्लुले पनि आफ्नो उपस्थिति देखाउन शुरु गरिसकेको थियो । ययपि सबैको ध्यान कोभिड-१९ मा केन्द्रित हुदाँ फ्लु भाइरसबारे खासै पत्तो पाएन वा बहस भएन ।

वास्तवमा, फ्लुको दुई सिजनमध्ये एक फेब्रुअरी-मार्च महीनामा (सन् २०२१) फ्लुले केही उचाइ लिएको थियो । यो वर्षको जुलाई-अगस्ट महिनामा (फ्लु मौसम) भने फ्लु भाइरसले आफ्नो गति तीव्रताका साथ लिइरहेको छ । हाल नेपालका विभिन्न स्थानहरुमा पनि भाइरल फिबर (रुघा खोकी) व्यापक भएको जानकारी सञ्चार माध्यमहरुमा आउने क्रम जारी छ । कोरोनासँगै फ्लु संक्रमित बढ्दा दुई भाइरसलाई छुट्याउन चुनौती थपिएको छ ।

संक्रमण फ्लुको भए पनि कोरोना नै हो कि भनेर संक्रमितहरु थप मानसिक तनावमा हुने गरेको छ । केही दिन अगाडि मेरो एक परिवारसँग सम्पर्क भएको थियो, जसका सबै सदस्यहरुमा ज्वरो, खोकी, जीउ तथा टाउको दुख्ने जस्ता लक्षणहरु देखिएका थिए । कोरोना फैलादो क्रममा रहेको र लक्षणहरु पनि मिल्दोजुल्दो हुँदा आत्तिएर पीसीआर टेष्ट तीन पटकसम्म गरेका रहेछन्, तर तीनै पटक नेगेटिभ देखियो । त्यसपछि त्यो परिवारमा फ्लु भाइरसले संक्रमण गरेको पुष्टि भयो । अर्को एउटा घटना छ, छाती कस्सिएको जस्तो हुने, स्वर भासिने, कामज्वरो आउने, हल्का खोकी लाग्ने, बान्ता र पखाला लाग्ने जस्ता लक्षण देखिएकापछि एक महिलाले कोरोनाको परीक्षण गराइन् । तर रिपोर्ट नेगेटिभ देखिएपछि फ्लु परीक्षण गर्दा ‘बी’ पोजिटिभ देखियो ।

फ्लुको तथ्यांक हेर्दै गर्दा सन् २०२१ मा फ्लु ‘ए’ र ‘बी’ देखिएका छन् । फ्लु ‘ए’ अन्तर्गत हङकङ फ्लुको नामले चिनिने ‘H3’ भाइरस देखिएको भएता पनि गत वर्ष धेरै संक्रमितहरुमा देखिएको स्वाइन फ्लुको नामले चिनिने ‘H1N1pdm09’ भने हालसम्म देखिएको छैन । फ्लु ‘बी’ अन्तर्गत ‘यामगाता’ र ‘भिक्टोरिया’ गरी दुई लिनिज हुन्छन् । आश्चर्यको कुरा के छ भने नेपालमा देखिएका ‘फ्लु बी’ का केही संक्रमितमा यी दुवै लिनिजमा नपर्ने नयाँ भाइरस देखिएको छ । यो सन् २०२० को अप्रिल महीनासम्मको नमूनामा पनि देखिएको थियो । यो ‘फ्लु बी’ को नयाँ भेरिएन्ट पनि हुनसक्छ । यो नयाँ भेरिएन्ट उपस्थितिले समाजमा के कस्तो प्रभाव पारिरहेको छ र हाल उपलब्ध ‘फ्लुविरुद्ध’को खोपको प्रभावकारितामा पारिरहेको असरबारे अनुसन्धान गर्न आवश्यक देखिन्छ । यस्ता अनुसन्धानहरुको नतिजा नेपाल मात्र नभइ विश्वको लागि पनि उपयोगी हुनेछ ।

मिल्दाजुल्दा लक्षणले थपिएको चुनौती

कुनै पनि संक्रमितमा रोग पहिचान गर्दा शुरुमा लक्षणहरुको साहारा नै लिने गरिन्छ । तर, नेपालमा कोरोना र ‘फ्लु भाइरस’हरु सँगसँगै देखिँदा र लक्षणहरु पनि एक अर्कासँग धेरै मिल्दोजुल्दो हुँदा स्वास्थकर्मीहरुलाई नै संक्रमण छुट्याउन चुनौती थपिएको छ । स्वाद र गन्धको क्षमतामा ह्रास आउने विशेषत कोरोना संक्रमितमा देखिने गर्दछ । त्यस्तै संक्रमितको सम्पर्क आएको पाँच/छ दिनपछि लक्षणहरु देखिए त्यो कोरोना संक्रमण हुनसक्दछ । तर फ्लु भाइरसको संक्रमण रहेछ भने संक्रमितमा ३/४ दिनभित्रै लक्षणहरु देखा पर्न सक्छ ।

लक्षणहरुको आधारमा मात्र संक्रमणको निश्चित निदान गर्न नसकिने हुँदा प्रयोगशाला परीक्षण आवश्यक पर्ने गर्दछ । कोरोना कि फ्लु भाइरसको संक्रमण भन्ने दुविधाको निदान पीसीआर परीक्षणबाट गर्न सकिन्छ । हाल पीसीआर प्रविवधि सबै प्रदेशमा उपलब्ध रहेकाले दुवै भाइरसको पहिचान सहजै गर्न सकिन्छ । फ्लूको परीक्षण कोरोनामा जस्तै आरडीटी किटबाट पनि गर्न सकिन्छ ।

अन्तमा, ‘ट्वीनडेमिक’ अवस्था विश्वका केही देशहरु मध्येमा नेपालले पनि पहिलो पटक सामना गरिरहेको/गर्दैछ । यसर्थ यस्तो अवस्थामा समुदायमा पार्ने प्रभावबारे पूर्वाअनुमान गर्न सहज हुने छैन । विश्वमा योभन्दा अगाडि अरु देशहरुले पनि ‘ट्वीनडेमिक’ को अनुभव गरेका छैनन् । ‘ट्वीनडेमिक’ को प्रारम्भिक चरणमा मुख्यत संक्रमितमा मानसिक तनाव तथा चिकित्सकलाई संक्रमण छुट्याउन चुनौती भएको देखेको छु । दुवै भाइरसबाट एकै पटक संक्रमित भए कस्तो स्वस्थ्य चुनौती देखिन्छ ? उपचार पद्धतिमा के कस्तो असर/परिवर्तन गर्नुपर्ने हुन्छ भन्ने आगामी दिनहरु स्पष्ट हुँदै जानेछन् ।

तर ‘ट्वीनडेमिक’ को अवस्थालाई पद्धतिबद्ध समाधान गर्न सकिए त्यो विश्वका लागि नै उपयोगी नमूना हुने/बन्न सक्नेछ । किनभने आगामी केही महीनामा विश्वका अरु देशहरुमा पनि फ्लुको सिजन आउँदैछ र ‘ट्वीनडेमिक’ ले फेरि एकपटक चर्चा, परिचर्चा र तयारीको अवस्थालाई लिएर बहसले स्थान पाउनेछन् ।

(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment