+

मंकीपक्स जस्ता आयातित संक्रमणबाट बच्न हाम्रो तयारी के छ ?

२०८१ पुष  ७ गते १२:१३ २०८१ पुष ७ गते १२:१३
मंकीपक्स जस्ता आयातित संक्रमणबाट बच्न हाम्रो तयारी के छ ?

सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरहरुमा पहिलो पटक ‘मंकीपक्स’ भाइरस देखिएको थियो । हाल यो भाइरसको नाम परिवर्तन गरेर ‘एमपक्स’ राखिएको छ । पहिलो पटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा यो भाइरस मानिसमा देखिएको थियो । यो भाइरसलाई क्लाड-१ र २ गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ ।

सन् २०२२ मा फैलिएको भाइरस क्लाड-२ थियो, जुन क्लाड-१ भन्दा कम घातक मानिन्छ । क्लाड-१ को मृत्युदर पहिले १० प्रतिशतसम्म देखिने गरेकोमा हालैको प्रकोपमा भने १ देखि ३ प्रतिशतसम्ममा सीमित भएको देखिन्छ । पछिल्लो समय भारतमा मध्यपूर्वीय अर्थात् खाडीका देशबाट फर्केर आउनेमा एकपछि अर्को गर्दै ‘एमपक्स’ देखिने क्रमले निरन्तरता पाइरहेको देखिन्छ ।

नेपालीहरु पनि रोजगारको सिलसिलामा मध्यपूर्वी अर्थात् खाडी देशहरुमा जानेको संख्या उच्च भएकाले ‘एमपक्स’को जोखिम उच्च थियो र अहिले पनि छ । हालै साउदी अरबबाट फर्केका एक नेपालीमा पहिलो पटक ‘एमपक्स’ पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमण भएको एकदेखि २१ दिनसम्ममा ‘एमपक्स’का लक्षण देखा पर्ने गर्छ । सुरुको अवस्थामा भने लक्षणहरु अरु संक्रामक रोगसँग मिल्दोजुल्दो नै हुन्छ । ज्वरो आउनु, टाउको र जीउ दुख्नु, जाडो लाग्नु, लिम्फ ग्रन्थीहरु सुन्निनु यसका प्रारम्भिक लक्षण हुन् । यी लक्षण देखिएको एकदेखि तीन दिनमा अनुहार तथा शरीरमा बिबिराहरु देखिन थाल्छ, जुन पछि पानी फोका हुँदै, फुट्दै, सुक्दै र झर्ने गर्छन् ।

बिबिराहरु अनुहार तथा हातखुट्टातिर बढी देखिन्छ । हाल साउदी अरबबाट फर्किएका बिरामीमा एक्सपोजर भएको झण्डै एक हप्तामा गुप्ताङ्ग नजिकै बिबिरा देखिएका थिए । तर उसले यसलाई केही चासो तर सहज रुपमा लिएका थिए । तर संक्रमितलाई एक्सपोजर भएको झण्डै तीन हप्तातिर भने जाडो हुने, कमजोर महसुस हुने र लगत्तै हात, शरीरमा बिबिरा देखिन थाल्यो । घाटी दुख्ने, मुखभित्र हल्का सेतो घाउ पनि देखिएको थियो । त्यहाँ (साउदी अरबमा) उपचार गर्दा गर्दै बिरामी नेपाल आएका थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएपछि प्रयोगशाला परीक्षण गर्दा ‘एमपक्स’ पुष्टि भएको थियो ।

‘एमपक्स’ सामान्यतया दुईदेखि चार हप्तामा आफैं निको हुने गर्छ । कतिपयमा भने निमोनिया, एनकेफलाइटिस, अन्धोपन जस्ता जटिलता देखिन सक्छ । सङ्क्रमितको थुकको छिटा, घाउ/फोकाको तरल पदार्थ, सङ्क्रमितले प्रयोग गरेका सरसामान, यौन सम्पर्क एमपक्स भाइरस सर्ने गर्छ ।

विगतमा सङ्क्रमितहरू अधिकांश पुरुष समलिङ्गी हुने गरेको भने पनि अहिले विपरीत लिङ्गीसँगको शारीरिक सम्पर्कबाट पनि यो भाइरस फैलिंदै गएको देखिन्छ । घाउ, पानी फोका वा बिबिरा सबैभन्दा बढी गुप्ताङ्ग र गुदद्वार वरिपरि हुने हुँदा सुरुमा धेरैजसो स्वास्थकर्मीसम्म पुग्ने सम्भावना धेरै कम हुन्छ । घाउ, पानी फोका/बिबिरा पीडादायक हुन्छ भनिए पनि हालै नेपाली संक्रमितमा देखिएको घाउ/बिबिरा पीडादायक नभए जस्तै सबैमा नहुन पनि सक्छ । यसको उपचारका लागि एमपक्स विरुद्धको विशेष एन्टी-भाइरल औषधि छैन । तर लक्षण र जटिलताको आधारमा उपचार गर्ने गरिन्छ । विशेषगरी ब्याक्टेरियल संक्रमणको जोखिमलाई निगरानी गर्दै उपचार गरिन्छ । एमपक्स विरुद्धको खोप भए पनि नेपालमा भने उपलब्ध रहेको सार्वजनिक गरिएको छैन ।

आयातित एमपक्सबाट के पाठ सिक्ने ?

साउदी अरब, कतार र यूएई जस्ता मध्यपूर्वीय देशहरुमा एमपक्स देखिने क्रमले निरन्तरता पाइरहेको छ । माथि उल्लेख गरे झैं पछिल्लो समय भारतमा मध्यपूर्वीय देशबाट फर्केर आउनेहरुमा एमपक्स देखिने क्रम बढ्दो छ । नेपालीहरुका लागि यी देशहरु (साउदी अरब, कतार र यूएई) रोजगारका लागि मुख्य आकर्षणका रहँदै आइरहेका छन् । त्यसैले ती देशहरुमा जाँदा त्यहाँ देखिरहेका संक्रमण र त्यसबाट बच्ने उपायबारेमा पनि चासो र जानकारी लिनु आवश्यक हुन्छ ।

नेपाल सरकारले सीपमूलक व्यावसायिक तालिम दिए जस्तै सर्ने र नसर्ने रोगबारे पनि जानकारी अनिवार्य गरिदिए त्यहाँ हुनसक्ने सक्ने स्वास्थ्य जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने थियो । मध्यपूर्वी देश मात्र होइन हाल नेपालीको रोजगार गन्तव्य अफ्रिकी मुलुकहरु समेत बनिरहेकाले त्यहाँबाट पनि आउनसक्ने संक्रमणबारेमा विशेष चासो दिन जरुरी भइसकेको छ ।

अफ्रिकी देशहरुमा एमपक्स अहिले पनि नयाँ नयाँ उपप्रजातिमा म्युटेसन हुँदै र देखिंदै जाने क्रम जारी छ । सहज यातायातको पहुँच र नेपालीको बढ्दै गइरहेको आवतजावतले त्यहाँ देखिने कुनै पनि नौलो र घातक जस्तै इबोला, मार्गबर्ग भाइरस जस्ता भाइरसहरु नेपालसम्म नआइपुग्ला वा जोखिम नहोला भन्न सक्ने आधार देखिंदैन । केही वर्षअघि महामारीको रुपमा देखा परेको संक्रमण कोभिड-१९ पनि आयातीत नै थियो । तर यी र यस्ता आयातित तर घातक संक्रमणबाट बच्नका लागि हामी तयार छौं त ?

डा. शेरबहादुर पुन मंकीपक्स संक्रमण
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

वैद्यखानाका निर्देशकलाई स्वास्थ्य मन्त्रालयले सोध्यो स्पष्टीकरण

मंकीपक्स जस्ता आयातित संक्रमणबाट बच्न हाम्रो तयारी के छ ?

मंकीपक्स जस्ता आयातित संक्रमणबाट बच्न हाम्रो तयारी के छ ?

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

वीर अस्पतालको बेड नम्बर २१४ : उपचार खर्चको आशमा ‘आमा-छोरी’

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

अकुपञ्चरलाई वैकल्पिक हैन, पूरक चिकित्साका रुपमा लिऔं

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

दिनमा दुई घण्टा बढी फोन, ल्यापटप चलाउनुहुन्छ ? यसो गर्नुस्

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?

निजी अस्पतालले नर्सलाई सरकारी सरह पारिश्रमिक देलान् ?