Comments Add Comment

जग हल्लियो नेपाली सिनेमाको, डिजिटल मार्केट पनि ध्वस्त हुँदै

गतिलो सिनेमा निर्माणको अभ्यास हुँदै आएको हुँदो हो त, यतिबेला नेपाली सिनेमा ओटीटी (ओभर द टप) प्लेटफर्म मार्फत वैश्विक दर्शकमाझ पुगिरहेका हुन्थे । ओटीटीकै लागि धमाधम सिनेमा र सिरिजहरू बनिरहेका हुन्थे ।

तर, अवस्था यति रहरलाग्दो छैन ।

नेपाली सिनेमालाई वैश्विक स्तरको ओटीटी प्लेटफर्मले पत्याएकै छैन । सिनेमा हल बन्द छन् । ओभरसिज मार्केट ध्वस्त छ । विकल्प एउटै बाँकी छ, डिजिटल मार्केट ।

ओएसआर, बुढासुब्बा, हाइलाइट्स नेपाल जस्ता केही संस्थागत च्यानल छन्, जसमाथि नेपाली सिनेमाको आशा बाँकी छ । यही डिजिटल माध्यमबाट नेपाली सिनेमाले अब आफ्नो टाउको उठाउनेछ ?

यो प्रश्नको जवाफ खोज्नुअघि हालसम्मको हिसाब-किताब लेखाजोखा गरौं । सिनेमाको डिजिटल प्रतिलिपि खरीद गरेबापत कति पैसा दिने गर्छन् ? यही माध्यममा मात्र निर्भर रहँदा नेपाली सिनेमा उँभो लाग्न सक्ला ?

जग हल्लिएको बेला

सामान्य अवस्थामा वर्षेनि सय हाराहारीमा नेपाली चलचित्र प्रदर्शनमा आउने गर्थे । त्यसमध्ये आधा दर्जनले मात्र मुश्किलले मुनाफा आर्जन गर्थे ।

यही क्षेत्रमा रहेर निरन्तर चलचित्र बनाउने निर्माताको संख्या दर्जनको हाराहारीमा छ । बाँकी सबै निर्माता एक पटक कोशिश गरौं न भन्ने सोचका साथ मात्र आएका छन् । झन्, विगत डेढ वर्षदेखि कोरोना महामारीका कारण कोमामा रहेको नेपाली चलचित्र क्षेत्र कहिले कसरी उठ्छ भन्न सकिने अवस्था छैन । भूकम्पका कारण ६ वर्ष अगाडि थलिएको नेपाली चलचित्र क्षेत्र बल्ल उठ्दै थियो । तर, यसपटक पाँच दशकको यात्रामा नेपाली चलचित्र क्षेत्रले सबैभन्दा बढी पीडा भोगिरहेको छ ।

बलिउडले पनि भोगेको पीडा यही नै हो । तर, भारतमा ओटीटी प्लेटर्फमको विकाससँगै धेरै बलिउड चलचित्रका निर्माताले राहतको सास फेरे । हल बन्द भएको अवस्थामा करोडौं नाफामा बलिउडका अधिकांश चलचित्र बिक्री भए । केही महँगा बजेटका चलचित्रले हल कुर्नु बाहेक अन्य चलचित्रका लागि लामो पर्खाइ आवश्यक परेन । ओटीटी प्लेटर्फम भारतीय बजारमा वरदान नै सावित भैरहेको छ ।

नेपालमा पनि ओटीटीको शुरुआत नभएको होइन । पहिलो चरणको लकडाउनपछि ओटीटीलाई बलियो रूपमा अगाडि बढाउने सोचका साथ केही लगानीकर्ताहरू कस्सिए पनि । तर, करोडौंको लगानी हुने यो क्षेत्रमा लागिरहेका सीमित प्रतिशत दर्शकले मात्र ओटीटीलाई अगाडि बढाउन संभव हुने कुरै थिएन । ‘सिनेमाघर एप, चलचित्र टीभी’ लगायतका ओटीटी प्लेटर्फमले नेपाली चलचित्रलाई राहत दिन सकेनन् । चलचित्र टीभी आफैं कोमामा पुगेको अवस्था छ ।

सिनेमाघर एपले पनि हलमा रिलिज भइसकेका आधा दर्जन चलचित्रबाहेक नयाँ थप्न सकेन । सिनेमाघर एपका प्रमुख खगेन्द्र लामिछाने आफूहरूले नयाँ नयाँ चलचित्र किन्ने विषयमा सोचे पनि अहिले नै करोडौं लगानी गर्न सक्ने अवस्था नभएको स्वीकार गर्छन् । उनले, आफूहरूको एपमा दर्शकको संख्या उल्लेख्य बढेको दाबी गरे । तर, लकडाउनको समयमा फस्टाउनुपर्ने यी एपहरू खासै चम्किन सकेनन् । उसो भए, हलको विकल्प के त ? दर्जनौं चलचित्र र अरबौं लगानी उठाउने विकल्प के त ?

बुढासुब्बा डिजिटलले चलचित्र ‘ए मेरो हजुर’का चारै वटा सिरिज ३० देखि ४० लाखको हाराहारीमा खरीद गरेको छ । यसमध्ये केहीबाट लगानी उठे पनि अधिकांशबाट डिजिटल संचालकहरू पनि नाफामा छैनन्

निर्माताका लागि हलको विकल्पमा अन्य माध्यम बन्न सकेका छैनन् । बलिउडमा जस्तो नेपालमा ओटीटी प्लेटर्फमबाट निर्माता सुरक्षित हुने अवस्था सिर्जना हुन अझै केही वर्ष पर्खिनुपर्ने अवस्था छ ।

हल बन्द, ओटीटी विकल्प नसक्नु र विश्व बजारलाई नै कोरोनाले आफ्नो चपेटामा पार्नुको कारणले गर्दा ओभरसिज बजार पनि बन्द रहनु ! चलचित्र निर्माण गरिसकेका निर्माता पुर्पुरोमा हात राखेर बस्नु र चलचित्रमै भविष्य खोज्नेहरू अन्धकारमा रुमल्लिनु बाहेक अरू विकल्प तत्कालीन अवस्थामा देखिंदैन ।

यस्तो समयमा डिजिटल बजारले नेपाली चलचित्रलाई सम्हाल्न सक्छ त भन्ने प्रश्न उठाउन सकिन्छ ।

डिजिटल मार्केटको भर

नेपालमा युट्युबमा चलचित्र हेर्ने क्रमको विकास भएसँगै केही युट्युब च्यानलहरूले यसमाथि करोडौं खर्च गरे । निर्माण नै नभएका चलचित्रमाथि केही युट्युब संचालकहरूले आफैं एड्भान्स रकम दिएर चलचित्र निर्माण भएको अवस्था छ । केही वर्ष अगाडिसम्म नेपालमा हाइलाइट्स नेपालको एकलौटी बजार थियो । नेपालमा निर्माण भएका महँगादेखि सस्ता सबै खालका चलचित्रमाथि हाइलाइट्सको एकाधिकार थियो । तर, अहिले हाइलाइट्स चलचित्र खरीदबाट पर हटिसकेको छ । यसको कारण यो बजारबाट घाटा हुनु हो ।

अहिले नेपालमा ओएसआर डिटिजल र बुढासुब्बा मुभिज नै चलचित्र खरीदमा अग्रपंक्तिमा छन् । यसले, निर्मातालाई केही हदसम्म राहत दिए पनि पूर्ण रूपमा डिजिटल मार्केटमै आश्रति हुने अवस्था छैन ।

डिजिटल मार्केटबाट कति कमाउँछन् निर्माता ?

बुढासुब्बा डिजिटलले चलचित्र ‘ए मेरो हजुर’का चारै वटा सिरिज खरीद गरेको छ । यो चलचित्रको हरेक सिरिजलाई ३० देखि ४० लाखको हाराहारीमा बुढासुब्बाले पैसा लगानी गरेको छ । यसमध्ये केहीबाट लगानी उठे पनि अधिकांशबाट डिजिटल संचालकहरू पनि नाफामा छैनन् ।

बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरी चलचित्रको कथा, ब्यानर, निर्देशक, कलाकार हेरेर रकम फाइनल गर्ने बताउँछन् । उनी भन्छन्- ‘सुरुआतमा त हामीले पनि ३०-४० हजारमै चलचित्रको डिजिटल राइट्स किनेका थियौं । तर, बजारको अवस्था र समय अनुसार चल्नुपर्छ । अहिले चलचित्र खरीद गर्दा हामीले ४-५ लाखदेखि ४०-५० लाखसम्म तिरेका छौं ।’

बुढासुब्बा डिजिटलले करीब २०० वटा चलचित्र खरीद गरिसकेको छ । यस्तै, पाँच वर्ष अगाडि स्थापना भएको ओएसआर डिजिटलका प्रमुख ओम अग्रवाल चलचित्रको ब्रान्डदेखि निर्माताको अवस्थासम्म हेरेर चलचित्र खरीद गर्ने बताउँछन् ।

उनले भने- ‘धेरै चलचित्र त हामी निर्माताको पीडा हेरेर नै किन्छौं । चलचित्र डुबिसकेपछि निर्माता हामीसम्म आइपुग्नुहुन्छ । हामीले पनि च्यानलमा एउटा नयाँ चलचित्र थपिन्छ भनेर खरीद गरेका छौं । धेरै चलचित्र त कहीं पनि नबिकेपछि हामीले खरीद गरेका छौं ।’

ओएसआरले मह संचारले निर्माण गरेको चलचित्र ‘शत्रु गते’ को युट्युब राइट्सका लागि ३० लाख रुपैयाँ खर्च गरेको थियो । राम्रो ब्यानर, कलाकार, निर्माता, निर्देशक र कथा भएका चलचित्रलाई ३० देखि ३५ लाखसम्म खर्च गर्ने गरेको ओम बताउँछन् ।

नेपाली चलचित्रको डिजिटल बजार बढ्दो क्रममा रहे पनि अब पहिलेको जस्तो विभिन्न कम्पनीले चलचित्रमाथि लाखौं लगानी गर्ने अवस्था कोरोनापछिको कालखण्डमा नहुने पक्का छ

ओएसआरले ‘कबड्डी, जात्रै जात्रा, शत्रु गते, प्रेमगीत-३’ लगायतका चलचित्रको डिजिटल राइट्सका लागि महँगो रकम खर्च गरेको छ । ओमले भने-‘नेपालमा एक वर्षमा बन्ने सय चलचित्रमध्ये कति वटा चलचित्रले नाफा कमाउँछन् र कतिवटा राम्रो हुन्छन् भनेर त हामीले भन्नै पर्दैन । ती चलचित्र बाहेक अधिकांशको अवस्था कमजोर छ । हामीले, निर्माताको दुःख हेर्न नसकेर धेरै चलचित्रको अधिकार किनेका छौं ।’

निर्माताको दुःखले हैरान

चलचित्र बनाउने निर्मातालाई केही हदसम्म सुरक्षित बनाएको डिजिटल बजार अहिले फेरि अन्योलग्रस्त अवस्थामा पुगेको छ । हल नखुलेसम्म डिजिटल बजार अगाडि बढ्न मुश्किल छ । किनकि, हलमा चलचित्र नचलाई निर्माताले युट्युबमा चलचित्र रिलिज नगर्ने भएकाले पनि लामो समयसम्म डिजिटल संचालकहरूले प्रतीक्षा गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बैंकबाट लिएको ऋणको ब्याज आफैंले तिर्नुपर्ने, करोडौं रुपैयाँ फ्रिज हुने अवस्था आएको छ ।

ओएसआरका संचालक ओम अग्रवाल भन्छन्- ‘चलचित्र हलमा रिलिज भएपछि पनि निर्माताले मास्टर कपी ढिलो उपलब्ध गराइदिंदा हामीले चलचित्र युट्युबमा ढिलो मात्र रिलिज गर्नुपर्ने अवस्था छ । यसले, हामीले गरेको लगानी पनि फिर्ता आउने अवस्था छैन । अर्कोतिर, हलमा चलचित्र रिलिज भएपछि दर्शकको कमजोर प्रतिक्रिया पाउँदा युट्युब भ्यूजमा पनि धक्का लाग्छ । कहिलेकाहीं महँगो रकम खर्च गरेका चलचित्रले युट्युबबाट ४-५ लाख पनि फिर्ता गर्दैनन् । औंलामा गन्न नसकिने थोरै चलचित्रले नाफा दिए पनि अधिकांशबाट घाटा नै भएको छ ।’

बुढासुब्बा डिजिटलका प्रमुख नवराज गिरीले निर्माताले दुःख दिंदा निकै समस्या भएको गुनासो गरे । नेपालमा डिजिटल बजार विस्तार हुनुको साटो झनै कमजोर बन्दै गएको र निर्माताले यसलाई बुझ्न नसकेको उनको भनाइ छ । गिरी भन्छन्- ‘चलचित्र बनाउँछौं भनेर एड्भान्समा पैसा लगेर धेरै निर्माताले चलचित्र नै बनाएनन् । यसले, हाम्रो करोडौं रुपैयाँ फसेको छ । कतिपयले चलचित्र नै बनाउन शुरू गरेका छैनन् भने, कतिपयले एउटा कलाकार राखेर चलचित्र बनाउँछु भन्दै एडभान्स लगेर अर्कै कलाकार राखेर चलचित्र बनाएका छन् ।’

गिरीले नामै तोकेर भने- ‘निर्माता माधव वाग्लेले पारस बनाउने भन्दै १० लाख एड्भान्स लानुभयो । पछि, यसको अधिकार भुवन केसीलाई बेचेर हिमानी बनाउनतर्फ लाग्नुभएको छ । न त मेरो फोन उठाउनुहुन्छ न त पैसा नै फिर्ता गर्नुहुन्छ । यसले त हाम्रो कम्पनीमाथि धोका भयो नि !’

गिरीले चलचित्र ‘के घर के डेरा’को घोषणा गरेर निर्माता सिंगे लामाले १० लाख एड्भान्स लगेर चलचित्र नै शुरू नगरेको बताए । भने- ‘अब, चलचित्र बनाउने कुनै सुरसार नै छैन । न त निर्माता नै सम्पर्कमा आउनुभएको छ । एकातिर हामीले बैंकमा सावाँको ब्याज तिर्नुपरेको छ । अर्कोतिर, निर्माताले धोका दिएका छन् । काम कसरी गर्न सकिन्छ ?’

निर्माता भुवन केसीले पनि ‘एन्टी हिरो’ बनाउने भन्दै १० लाख एड्भान्स लगेका थिए । तर, अब यो चलचित्र बन्ने संभावना छैन । गिरीका अनुसार, यो रकम ‘पारस’मा मिलाउने गरी भुवनसँग सहमति भएको छ ।

‘बाबरी क्याफे, ए मेरो हजुर-४, म यस्तो गीत गाउँछु-२’ लगायतका चलचित्र पनि रिलिजको अन्योलमा रहँदा आफूले दिएको एड्भान्स रकम नै पि|mज भएको उनको भनाइ छ । गिरी गुनासो गर्दै भन्छन्- ‘निर्माताले बोलेको कुरा पूरा गर्दैनन् । लगेको पैसा न त फिर्ता गर्छन् न त चलचित्र नै बनाउँछन् । अब, म कानूनी उपचारमा जाने तयारीमा छु । मसँग अरू विकल्प नै भएन ।’

फिल्म बाहिर ध्यान मोड्दै डिजिटल संचालक

कुनै समय नेपाली चलचित्रमा एकछत्र राज गरेको हाइलाइट्स नेपाल अहिले यो क्षेत्रबाट विस्तारै टाढा भइसकेको छ । यो क्षेत्रबाट करोडौं रकम घाटा लागेपछि हाइलाइट्सका संचालक ओम गुरुङले बाटो मोडिसकेका छन् । हाइलाइट्सले थुप्रै चलचित्रमा सह-निर्माता भएर समेत लगानी गरेको थियो । तर, चलचित्र युट्युबमा राखेर फाइदा नभएपछि ओम गुरुङले बाटो मोडेका हुन् । यस्तै, सोचमा बुढासुब्बा र ओएसआरका संचालक समेत पुगेका छन् । ओएसआरले अहिले चलचित्र भन्दा कमेडी शो, कमेडी सिरियलमा बढी लगानी गरेको छ । ‘कमेडी च्याम्पियन, सक्किगो’नि’ लगायतका रियालिटी शो र हास्य शृङ्खलामा लगानी गर्नुको कारणबारे ओएसआरका मालिक ओम अग्रवाल भन्छन्- ‘यी शोहरू केही हप्ता बन्द भए पनि फेरि छायांकन गरेर प्रसारण भैहाल्छन् । टीभीसँगै हामीले युट्युबमा पनि अपलोड गर्न सक्छौं । चलचित्रको जस्तो लगानी गरेर लामो समय पर्खनै पर्दैन ।’

बुढासुब्बा डिजिटलले भने अब आफैं लगानी गर्दै चलचित्र बनाउन थालेको छ । संचालक गिरी भन्छन्- ‘अब हामीले पहिलेको जस्तो चलचित्र किन्दैनौं । चलचित्र किने पनि चलचित्र तयार भैसकेपछि हेरेर मात्र निर्णय गछौर्ं । अब, कलाकार वा स्त्रिmप्ट हेरेको भरमै लगानी नगर्ने हाम्रो निर्णय छ ।’

बुढासुब्बाले आफैं चलचित्र निर्माणको थालनी समेत गरिसकेको छ ।

केही समय अगाडि फस्टाएको नेपाली चलचित्रको बजार कोरोना महामारीपछि सुस्ताउने देखिएको छ । केही निर्माताले आफैं युट्युब च्यानल खोलेर चलचित्र सार्वजनिक गर्न थालिसकेका छन् । निर्माता रोहित अधिकारीले दीपकराज गिरी र उनको टिमलाई लिएर बनाएको ‘छ माया छपक्कै’ चलचित्रको सम्पूर्ण डिजिटल राइट्स दीपकराज गिरी र उनको टिमलाई नै दिए । यो टिमले आमा अग्निकुमारी मिडिया मार्फत चलचित्र रिलिज गर्‍यो ।

यस्तै, मह संचार र किरण केसीले मिलेर बनाएको चलचित्र ‘दाल भात तरकारी’को डिजिटल राइट्स पनि मह संचारले नै लिएको थियो । यो चलचित्र मह संचारको युट्युब च्यानलबाट रिलिज भयो ।

नेपाली चलचित्रको डिजिटल बजार बढ्दो क्रममा रहे पनि अब पहिलेको जस्तो विभिन्न कम्पनीले चलचित्रमाथि लाखौं लगानी गर्ने अवस्था कोरोनापछिको कालखण्डमा नहुने पक्का छ । यस्तो अवस्थामा निर्माताले फेरि नयाँ बजार खोज्न आवश्यक छ । डिजिटल बजारले निर्मातालाई केही राहत दिएको थियो । अब यो बजारबाट केही लगानी पाउनका लागि निर्मातालाई पहिलेको जस्तो सहज नहुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
विजय सुवेदी ‘आवाज’

ट्रेन्डिङ

Advertisment