+
+

सेती संरक्षणमा सरुभक्तका चार मुक्तक

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३० गते १८:०३

३० साउन, पोखरा । सेती नदीको खोच र पाताले छाँगोमा साहसिक पर्यटन पूर्वाधार निर्माणका लागि भन्दै ४० वर्षसम्म ठेक्का दिन पोखरा महानगरपालिकाले निजी क्षेत्रसँग प्रारम्भिक सम्झौता गरेको छ । रामघाटमा ड्याम बनाएर ढुंगा गिटी बालुवा निकाल्न ३५ वर्षसम्म निजी क्षेत्रलाई दिने प्रक्रिया अगाडि बढिरहेको छ । एकातिर सेती नदी दोहन भइरहेको छ भने अर्कोतिर महानगरले नै लामो समयका लागि ठेक्का दिने प्रक्रिया बढाएपछि नागरिक स्तरबाट विरोध भइरहेको छ ।

पोखराको बीच भागमा खोचै खोच भएर बग्ने सेती नदीसँग सांस्कृतिक, प्राकृतिक, धार्मिक र आर्थिक हिसाबले पनि पोखरेलीको आस्था र सम्बन्ध छ । सेती संरक्षणमा कवि, लेखकहरुले पनि आवाज उठाउन थालेका छन् ।

सेतीको प्राकृतिक सुन्दरतालाई नाश गर्ने होइन संरक्षण गर्नुपर्ने आवाज उठाउँदै आएका साहित्यकार सरुभक्तले चार मुक्तक नै लेखेका छन् ।

धवल अन्नपूर्णाको हृदयोत्पन्न नारा ह‍ो सेती गण्डकी

अविचल अनि अक्षय आस्थाक‍ो भारा हो सेती गण्डकी

तिमी यस्को प्रवाहलाई अनादर गर्ने प्रयास नगर

युगौंयुगदेखिको सतत जीवनधारा ह‍ो सेती गण्डकी ।

अन्धविश्वास होइन सद् धर्म‍ोत्पन्न नारा हो सेती गण्डकी

मनुष्य जीवनका लागि अत्युक्तम भारा हो सेती गण्डकी

धरतीमा फुक्दै, गहिरिदै बग्नुको अर्थ बुझ्न सक्यो भने

चर्मचक्षुले पनि देखिन्छ, मातृ दुग्धधारा हो सेती गण्डकी ।

जन्मदेखि मृत्युसम्म समयोत्पन्न नारा हो सेती गण्डकी

कुन सृष्टिबाट अवतीर्ण दिव्य भारा ह‍ो सेती गण्डकी

हृदयको रक्तप्रवाह विना कहाँ जीवन चल्न सक्छ र

यस्तै यस कर्मभूमिको लागि अमृतधारा हो सेती गण्डकी ।

स्थावर–जङ्गमभित्र प्रेमोत्पन्न नारा हो सेती गण्डकी

विनाश हैन जीवन–सिर्जनाको भारा हो सेती गण्डकी

हिमाली करूणाको रसलाई डकैती नगर्नु कसैले

सौन्दर्य शक्तिको अनुपम प्रेमधारा हो सेती गण्डकी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?