Comments Add Comment

एमाले रुपन्देहीको माधव पक्षले माग्यो ओलीको राजीनामा

३० साउन, बटवल । रुपन्देहीमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।

शनिबार बसेको सो पक्षको प्रथम बैठकले पार्टी अध्यक्ष ओलीलाई राजीनामा दिएर पार्टी एकता कायम गर्न केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरेको हो ।

दुई दुई पटक प्रतिनिधिसभा विघटन, नेकपा विभाजन र एमाले भित्र एकता कायम गर्न नसकेकोले पार्टी एकताका लागि नैतिकताका आधारमा ओलीले राजिनामा दिनुपर्ने केन्द्रीय कमिटीलाई सुझाव दिने निर्णय गरिएको रुपन्देही अध्यक्ष राजु गुरुङले बताए ।

बैठकले पार्टी सदस्यता नवीकरण र नयां सदस्यता वितरण भदौ मसान्तसम्म सम्पन्न गर्न मातहत कमिटीलाई निर्देशन गरेको छ । यसैगरी बैठकले संगठन विभाग प्रमुखमा खेम लुईटेल, आर्थिक विभागमा सिद्धिचरण भट्टराई, जनसंगठन विभागमा राजु गुरुङ, स्कुल विभागमा सिद्धिचरण भट्टराई र प्रचार विभागमा सरिता श्रीसलाई जिम्मेवारी प्रदान गरेको छ ।

भदौ १५ भित्र पालिकास्तरमा जनवर्गीय संगठनको कमिटी निर्माण, भदौ मसान्तसम्म शाखा तहको कमिटी गठन र पुनर्गठन अघि बढाउने निर्णय गरेको जिल्ला उपसचिव सिद्धिचरण भट्टराईले बताए ।

बैठकलाई सम्बोधन गर्दै पार्टीका पोलिटब्यूरो सदस्य डा. विजय पौडेलले अध्यक्ष ओलीकै कारण पार्टी एकता हुन नसकेको बताए । उनले सम्मानजनक र भावनात्मक एकताका लागि ओली तयार नभए नयाँ पार्टी गठन गर्नुपर्नेमा जोड दिएका थिए ।

‘प्रतिनिधिसभा विघटन गर्नु र नेकपाभित्र विधि पद्धति मिचेको भन्दै बैठकमा अध्यक्ष ओलीले आत्मआलोचना गरेर गल्ती महसुस गर्न तयार नहुँदा एकताको सम्भावना पर धकेलिएको छ’ उनले भने ।

बैठकमा प्रदेशसभा सदस्य विष्णु पन्थी र रमा घर्ती पनि उपस्थित थिए । शंकर पोखरेल मुख्यमन्त्री पदमा रहँदासम्म उनीहरु माधव नेपाल पक्षमा खुलेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment