Comments Add Comment

ब्रुनो फर्नान्डेजको ह्याट्रिकमा म्यानचेष्टर युनाइटेडको शानदार जित

३० साउन, काठमाडौं । ब्रुनो फर्नान्डेज र पउल पोग्बा चम्किएपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिग २०२१-२२ को पहिलो खेलमा लिड्स युनाइटेडलाई ५-१ ले पराजित गरेको छ ।

शनिबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ब्रुनोले ह्याट्रिक गर्दा पोग्बाले चार गोलका लागि असिस्ट गरे । यस्तै मासोन ग्रीनउड र फ्रेडले एक एक गोल गरे ।

ब्रुनोले ३० औं मिनेटमा पोग्बाको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । पहिलो हाफमा युनाइटेडले अग्रता कायम राख्यो । तर दोस्रो हाफको सुरुमै लिड्सले बराबरी गोल फर्कायो । ४८ औं मिनेटमा लिड्सका लुका अयिलिङले बराबरी गोल गरे ।

त्यसपछि भने खेलमा युनाइटेडले दबाब बनायो र १० मिनेटभित्रमै तीन गोल गर्‍यो । ५२ औं मिनेटमा ग्रीनउड र ५४ औं मिनेटमा ब्रुनोले गोल गरेपछि युनाइटेडले ३-१ को अग्रता बनायो । दुवै गोलका लागि पोग्बाले असिस्ट गरे ।

६० औं मिनेटमा ब्रुनोले भिक्टोर लिन्डलोफको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।

त्यसपछि ६८ औं मिनेटमा पोग्बाकै पासमा फ्रेडले युनाइटेडको लागि पाँचौ गोल गरे । पोग्बा प्रिमियर लिगको एकै खेलमा चार असिस्ट गर्ने समग्रमा सातौं र युनाइटेडको पहिलो खेलाडी बने । उनले गत सिजन २६ खेलमा जम्मा ३ असिस्ट मात्र गरेका थिए ।

यसै खेलमार्फत जाडोन सान्चोले पनि युनाइटेडका लागि डेब्यु गरे । उनी दवस्रो हाफमा डानिएल जेम्सको स्थानमै मैदान प्रवेश गरेका थिए ।

यसैगरी खेलअघि युनाइटेडले राफेल भरानलाई ओल्ड ट्राफोर्डमा आफ्नो खेलाडीको रुपमा प्रस्तुत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment