Comments Add Comment
अन्तरवार्ता :

‘प्रचण्डले अब सक्दैनन्, हटाउनुपर्छ भन्ने त छैन नि !’

एकले अर्काे सिध्याउने गरी लड्नुपर्छ भन्ने छैन, संयुक्त मोर्चा बनाएर सत्ता गठबन्धन गर्न सकिन्छ : पुन

३१ साउन, काठमाडौं । पुनर्स्थापित भएको पाँच महिनापछि बल्ल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक राखेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव अघि सारेको छ ।

तर माओवादकै नेताहरु नेतृत्वले शक्तिको स्रोत संगठनभन्दा राजनीतिक दाउपेचलाई मान्दा संगठन निर्माण तथा विस्तार प्राथमिकतामा नपरेको गुनासो गर्छन् । अझै पनि नेतृत्वले पार्टीलाई बलियो बनाउन प्राथमिकता दिन्छन् भन्नेमा नेता कार्यकर्ताको संशय छ । तर स्थायी कमिटी सदस्य वर्षमान पुन भन्छन्- वैचारिक राजनीतिक रुपले नेपालको ‘एजेण्डा सेट’ गर्न हामी अग्रमोर्चामा छौं । अब देशभर संगठन अभियान नै सञ्चालन गर्छौं ।

साथै कांग्रेस, एमाले र जनता समाजवादी पार्टीमा जस्तो नेतृत्वको विवाद माओवादी केन्द्रमा नभएको उनको दाबी छ । नेता पुन भन्छन्, ‘लिडरसीपको स्थायित्व छ । प्रचण्डले अब सक्दैनन्, प्रचण्डलाई हटाउनुपर्छ भन्ने छैन ।’

प्रस्तुत छ, पूर्वमन्त्री एवं माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पुनसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

सर्वोच्च अदालतले माओवादी केन्द्र ब्यूँताएको पाँच महिना भइसक्यो । तर तपाईंहरुको ध्यान सरकार ढाल्ने र नयाँ बनाउनेतिर बढी देखियो । संगठन निर्माणमा रुचि किन नभएको ?

यसमा तीन वटा पक्ष छन् । पहिलो- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छँदा नै हामी प्रचण्ड-माधव समूह र ओली समूह भएर राजनीतिक रुपमा विभाजित भइसकेका थियौं । अदालतले नेकपा एमाले र माओवादी केन्द्र बनाइसकेपछि कानूनी रुपमा विभाजन भयो । त्यो अवस्थामा वैचारिक र राजनीतिक विभाजनमै बस्नुपर्थ्यो, तर कानूनी रुपले आ-आफ्नो ठाउँमा जाउँ भन्ने भएपछि अहिलेको अवस्था आयो । यद्यपि हामी अझै पनि पूर्वमाओवादीहरु मात्र होइन, नेपालका कम्युनिस्टहरु एक ठाउँमा आउन आवश्यक छ र यो वैचारिक, राजनीतिक रुपले सम्भव छ भन्ने विश्वास गर्छौं । यसअर्थमा माधवजीहरुले एमालेभित्रै संघर्ष गर्छौं भन्नुभयो । यदि त्यो नहुँदा एक ठाउँ हुन्छौं भने हामी एक्लै किन संगठन गर्दै हिंड्ने भनेर केही समय पर्खियौं ।

दोस्रो, यो बीचमा फेरि प्रतिनिधिसभा विघटन भयो र हामी त्यसविरुद्ध संघर्षमा केन्द्रित भयौं । अन्नतः पाँच वटा प्रदेशमा सरकार निर्माण गर्ने वा भएको सरकारलाई स्थायित्व दिने र केन्द्रमा नयाँ सरकार बनाउने अवस्थामा पुग्यौं ।

तेस्रो, कोभिड-१९ का कारण पछिल्लो ३/४ महिना निषेधाज्ञामै रह्यौं । अहिले पनि आंशिक निषेधाज्ञा नै छ । यसले पनि संगठन निर्माण तथा विस्तारको काम प्रभावित भएको छ । यसका बाबजुद आन्तरिक पार्टी पंक्तिलाई जति सम्भव छ, सुदृढ र परिचालन गर्ने नियमित काम गरिरहेका छौं ।

अहिले केन्द्रीय कमिटी बैठक राखेर अब सम्मेलनतिर जान लागेको चाहिं माधवजीहरु तत्काल आउने सम्भावना रहेन भनेर हो ?

कम्युनिस्ट पार्टीहरु वा समाजवादलाई कार्यदिशा मान्नेहरुको ढिलोचाँडो एकता हुन्छ । तत्काल सहकार्य पनि जरुरी छ । तर, हाम्रो प्राथमिकता माओवादी केन्द्रलाई मजबुत बनाउने, आफ्नो खुट्टामा उभ्याउने नै हो भन्ने निष्कर्षमा छौं । त्यसअनुसार संगठनात्मक राष्ट्रिय अभियान चलाउँछौं र विचार, राजनीतिक र संगठनका लागि राष्ट्रिय सम्मेलनको प्रस्ताव पनि गरेका छौं ।

तपाईंहरुलाई कहिले एमाले त कहिले कांग्रेसको बैशाखी बन्न खोजेको आरोप लाग्दै आएको छ । अब आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने निष्कर्ष हो ?

वैचारिक राजनीतिक रुपले नेपालको ‘एजेण्डा सेट’ गर्न माओवादी एक नम्बरमा छ । अग्रमोर्चामा छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्यायका मुद्दाहरु माओवादीले उठायो । राष्ट्रिय मुद्दाका रुपमा स्थापित भयो । संविधानमा व्यवस्थित भयो र अहिले कार्यान्वयनको चरणमा छ । जहाँसम्म बैशाखी खोज्यो भन्ने प्रश्न छ, हामी विगतदेखि नै आफ्नै खुट्टामा उभिएका छौं, आफ्नो राजनीतिमा उभिएका छौं ।

गठबन्धन गर्नु त हामीले अपनाएको निर्वाचन प्रणालीले सिर्जना गरेको बाध्यता हो । समानुपातिक सहभागितामुलक अर्थात् मिश्रति निर्वाचन प्रणाली बनाएदेखि हरेक सरकार गठबन्धनमा छ । पहिलो- २०६५ मा माओवादी, एमाले र फोरमको सरकार थियो । दोस्रो- कांग्रेस, एमाले र अन्य पार्टीहरुको बन्यो । तेस्रो र चौथो त्यहि दोहोरियो ।

०७० मा दोस्रो संविधानसभा निर्वाचन भयो, कांग्रेस-एमालेको गठबन्धन सरकार बन्यो । संविधान बनेपछि माओवादी-एमालेको गठबन्धन बन्यो । संविधानअनुसार, पहिलो चुनाव भएपछि एमाले-माओवादी गठबन्धनकै सरकार बन्यो । हामीले पार्टी एकता पनि गरेका थियौं, तर केपी ओलीजीको स्वेच्छाचारी, अलोकतान्त्रिक, व्यक्तिवादी चरित्रका कारण दुई तिहाइको बहुमत पनि रहेन, नेकपा पनि रहेन । त्यो अवस्थामा माओवादी, कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) को अर्को गठबन्धन बन्यो । त्यसैले माओवादीले मात्र गठबन्धन गरेको होइन, १४ वर्षदेखि निरन्तरको श्रृंखला छ र ठोस् अवस्थामा ठोस् रुपले गठबन्धन गर्नुपर्छ, त्यो नै सही राजनीति हो भन्नेमा हामी स्पष्ट छौं ।

तर, ०६४ को पहिलो संविधानसभाको चुनावमा प्रत्यक्षतर्फ झण्डै बहुमत र समग्रमा कांग्रेस र एमाले जोड्दा पनि नपुग्ने पहिलो पार्टी थियो माओवादी । आज त्यो माओवादी छिन्नभिन्न छ । संसदको नम्बरमा पनि निकै खुम्चिनु भएको छ र कार्यकर्तामा पनि त्यसरी नै क्षयीकरण भएको छ भन्ने लाग्दैन ?

यसमा आंशिक सत्यता छ । शान्ति प्रक्रियामा आएपछि पहिलो चुनावमा एजेण्डा र शक्तिले जुन अवस्थामा थियौं, अहिले त्यो शक्तिमा अलिकति कमजोर भएका छौं । तर एजेण्डामा होइन । आज पनि हामीले उठाएको एजेण्डा वरिपरि छ, मुलुक ।

हामीले हेटौंडा महाधिवेशनबाट अब नेपालमा जनवादी क्रान्ति पूरा भयो, समाजवादी क्रान्तिमा जानुपर्छ भन्यौं । एमालेको नवौं महाधिवेशनले पनि त्यही भन्यो । कांग्रेसले पनि संविधानमार्फत् समाजवाद उन्मुुख राज्य व्यवस्था मान्यो । त्यसप्रकारको अर्थतन्त्र र समाज हुनुपर्छ भनेको छ । अर्थात् हाम्रो एजेण्डातिर आएका छन् । भलै बुझाइ आफ्ना छन्, कार्यक्रम आफ्ना छन् ।

त्यसैगरी ५ पुसको प्रतिनिधिसभा विघटन प्रतिगमन हो भनेर हामी सडकमा गयौं । देश नै त्यसको वरिपरि आयो । कांग्रेस त्यसरी खुलेर आउन सकेको थिएन, शेरबहादुर देउवाजी नै न त्यसरी आउनु भएको थियो । दोस्रो पटक ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन भएपछि, ओहो ! ओलीजीले लोकतन्त्र, संविधान नै मास्न खोज्नु भएको हो भनेर छ्याङ्ग भएपछि शेरबहादुरजी पनि खुलेर आउनुभयो, कांग्रेस पनि आयो ।

संसद पुनर्स्थापना भएर देश एउटा बाटोमा जान खोजेको छ । लोकतान्त्रिक संरचनाहरू पुनर्स्थापित हुने र संविधानसम्मत् सञ्चालन हुने बाटोमा जान खोजेका छन । हाम्रो प्रयास, राज्यका अंगहरु संविधानअनुसार, लोकतान्त्रिक रुपमा चलोस्, राष्ट्रिय जीवन लोकतान्त्रिक ढंगले चलोस् । कोहीदेखि कोही डराउनुपर्ने, कसैले कसैलाई सिध्याउँछ कि बदला लिन्छ कि भन्ने अवस्था नहोस् भन्ने हो । हामीले यही राष्ट्रिय एजेण्डा बोक्यौं र आज त्यही वरिपरि देश छ ।

निश्चिय पनि माओवादी आन्दोलनलाई आजको राजनीतिमा बदल्ने क्रममा टुटफुटहरु भए, संक्रमणहरु भए । हामी एकजुट पनि भयौं, फेरि फुटहरु भए । त्यसैले अब केन्द्रीय समितिमा राष्ट्रिय सम्मेलनको प्रस्ताव गरेका छौं, जहाँ विचार, राजनीति र संगठनात्मक संरचना अनि त्यसको स्थायित्वको बहस गर्छौं । प्रदेशहरुमा त एक ढंगले संगठन चलाइराखेकै छौं । तर जनताको तहसम्म संगठन पुर्याउन अब संगठन अभियान नै सञ्चालन गर्दछौं र देशभरका ६७४३ वटै वडा र ५३ वटै पालिकामा सुदृढ संगठन बनाउँछौं ।
त्यो अभियान चलाउन टेक्ने ठाउँ त अहिलेकै संगठन हो । तर, हिजो नेकपामा रहँदा पूर्वमाओवादीको भागमा परेको र अहिले पनि पार्टीमै रहेका नेताहरुको कमिटीको भरमा पार्टी चलेको छ । यति धेरै तदर्थवादमा रहेको पार्टी तपाईंहरुले भनेको जस्तो रातारात नम्बर वान बन्न सम्भव छ र ?

अहिले त सबभन्दा समस्या आएको कि नेकपा एमालेमा हो कि जनता समाजवादी पार्टीमा हो । कांग्रेस महाधिवेशनका कारण विवादमा छ । तर माओवादी केन्द्रमा राजनीतिक कार्यदिशाबारे पनि बहस छैन, एकमत छौं । नेतृत्व प्रचण्डप्रति कसैको प्रश्न पनि छैन । त्यसैगरी मूल नेतृत्व पङ्ती स्थायी कमिटी लगायतमा पनि विवाद छैन । जिल्लाहरुमा पनि लिडरसीपको स्थायित्व छ ।

फेरि हाम्रो पार्टीले ‘अब जागौं, उठौं, हिंडौं’ भन्दा लाखौं मान्छे सडकमा ओर्लिएका छन् । त्यसैले हामीसँग त्यो तागत छ, त्यसलाई नयाँ सन्दर्भमा राष्ट्रिय सम्मेलनमार्फत् सुदृढ गर्छौं । हामीसँग ३ लाख पार्टी सदस्य यसअघि नै थिए, आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनबाट त्यसलाई अझ विस्तार गर्छौं ।

नेतृत्वप्रति प्रश्न नभएको हो कि कहिल्यै नछोड्ने भए भनेर प्रश्न नगरेको ?

प्रश्न नउठ्दासम्म त अनुमान मात्र हो । प्रचण्डले अब सक्दैनन्, प्रचण्डलाई हटाउनुपर्छ भन्ने त छैन नि ! पार्टीलाई गतिशील र जीवन्त बनाइराख्न सम्मेलन गर्दैछौं, महाधिवेशन पनि गर्छौं । त्यहाँ नेतृत्वबारे जनवादी लोकतान्त्रिक अभ्यास पनि हुन्छ । त्यसक्रममा प्रचण्ड कमेरड अहिलेकै रुपमा रहनुहोला वा अर्को रुपमा रहनुहोला वा अर्को कोही कमरेड आउनु होला । त्यो अलग प्रश्न हो ।

तर, आज प्रचण्डले राजनीतिक नेतृत्व गर्न सकेन, संगठनात्मक नेतृत्व गर्न सकेन भन्ने त छैनन् नि । जसरी केपी ओली र माधवकुमार नेपालजीको बीचमा छ । शेरबहादुर र रामचन्द्र पौडेलजीको बीचमा छ । उपेन्द्र यादव र महन्थ ठाकुजी त अलग-अलग हिँडिराख्नु भएको छ । यसरी हेर्दा राष्ट्रिय चार पार्टीमा नेतृत्वबारे प्रश्न नउठेको र सापेक्षित रुपमा सुदृढ पार्टी हाम्रो नै हो ।

झण्डै चार दशकदेखि प्रचण्ड पार्टी नेतृत्वमा हुनुहुन्छ । १० वर्षे सशस्त्र विद्रोहको नेतृत्व गर्नुभयो, शान्ति प्रक्रियामा आएर पहिलो संविधानसभामा पार्टीलाई पहिलो बनाउनुभयो । अब पनि प्रचण्डले नै नेतृत्व गर्नुपर्छ भन्नु भनेको तपाईंहरुले आफैंलाई विश्वास नगरेको कि फेरि प्रचण्डले आफैं गर्न सक्छु भन्नुभएको ?

विचार, राजनीति, संगठनका हिसाबले प्रश्न छैन । तर, जहाँसम्म कसरी नयाँ नेतृत्व तयार गर्ने भन्ने प्रश्न छ, यो पार्टीको आन्तरिक विषय हो । अध्यक्ष वा कार्यकारी पदमा विधिसम्मत् ढंगले कति कार्यकालसम्म बस्न पाइने ? राजकीय जिम्मेवारी कसरी लिने ? उमेर समूहका आधारमा कसरी प्रतिनिधित्व गराउने ? जस्ता विषयमा हामी सकारात्मक रुपले छलफल गरिरहेका छौं, सम्मेलनमार्फत हल गर्छौं । यो विषय झगडा वा विवाद गरेर नेतृत्वको विकल्प खोज्नुपर्ने अवस्था छैन र अरु पार्टीमा जस्तो हाम्रो पार्टी पनि होइन ।

वास्तविकता के हो भने अध्यक्षले वा अध्यक्षको टिमले माओवादीलाई हिंजोको रुपमा टिकाउन सकेन । यो गल्ती कमजोरी हो, हामीले सार्वजनिक रुपमा पनि भन्ने गरेका छौं, अहिले पनि भन्छौं

तपाईंले भनेको जस्तो त्यो सकारात्मक बहसमा नेतृत्व हस्तान्तरण गरौं भन्ने पनि छ ?

राष्ट्रिय सम्मेलन हुँदा विचार, संगठन सँगसँगै नेतृत्वबारे पनि छलफल होला । नयाँ-नयाँ ताजगीकै लागि सम्मेलनहरु हुन्छन् । तर, अहिले चाहिं त्यस्तो केही छैन ।

२३ फागुनमा माओवादी केन्द्र ब्यूँतिएपछि पार्टीको नाम फेर्ने प्रस्ताव पनि आयो । कतिपय नेताहरुले यदाकता ‘माओवाद’ विचारधाराबारे पुनर्विचार गरेर अघि बढ्नुपर्छ भन्न थालेको सुनिन्छ, राष्ट्रिय सम्मेलनमा यसबारे पनि बहस हुन्छ ?

अहिलेसम्म त्यो विषय उठेको छैन । तर, राष्ट्रिय सम्मेलनमा विचार, राजनीति, संगठन सबै विषयमा छलफल हुन्छ । अहिले बहस सुरु नभएको हुनाले यसो हुन्छ भन्न हतारो हुन्छ । जहाँसम्म पार्टीको नामको सन्दर्भमा छ, नेकपा निर्माण गर्ने क्रममा ऐतिहासिक काम गर्यौं, त्यस्तो अवसरमा नाम बदल्नु स्वाभाविक हो । अब अहिले नै हतार गरेर पार्टीको नाम बदल्ने सोचेका छैनौं ।

बुलेट छोडेर ब्यालेटमा आइसक्नुभयो । माओवाद, सशस्त्र विद्रोहसँग कुनै साइनो सम्बन्ध नभएको पंक्ति थपिएको छ, पार्टीमा । माओवादी पार्टीले चाहिं विचारका सन्दर्भमा चाहिं १० वर्षे सशस्त्र विद्रोह, माओवाद मात्र भनेर बसिरहन मिल्छ ?

कांग्रेस पनि हतियार बोकेर आएको पार्टी हो, एमाले पनि झापा विद्रोह गरेर आएको पार्टी हो । मूल कुरा विचार हो र माओवादले खुला परिवेश, नयाँपनाको पनि कुरा गर्छ । चीनले माओवाद मान्छ, तर समाजवाद निर्माणका लागि बल प्रयोग गरिरहेको छैन । शान्तिपूर्ण संघर्ष गरिरहेको छ । त्यसैले माओवादको एउटा पाटो बल प्रयोग हो भने अर्को पाटो शान्तिपूर्ण प्रतिस्पर्धा हो ।

चीन र नेपालको परिवेश त एउटै छैन नि फेरि ?

त्यही भएर त माओवादको विकास गर्दै बहुदलीय प्रतिस्पर्धामा छौं । हिजो प्रचण्डपथ भन्यौं, २१औं सताब्दीको जनवाद विकास गर्यौं । मार्क्सवादको विकास लेनिनवाद र लेनिनवादको विकास माओवादका रुपमा हो । यसरी नै विकास गरेर मात्र कम्युनिस्ट आन्दोलन अगाडि जान्छ । हामीले जडसुत्रका रुपमा न माक्र्सवादलाई लिएका छौं, न लेनिनवाद र माओवादलाई लिएका छौं ।

नेपाली सन्दर्भमा हामीले प्रचण्डपथ भन्यौं, आज २१औं शताब्दीको नयाँ समाजवादका मोडलहरु खोज्छौं । किनकि हेटौंडा महाधिवेशनबाटै समाजवाद भनेका थियौं, समाजवादमै अगाडि बढ्छौं । तर आजको कार्यनीति के हुन्छ भने जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्ने अर्थात् समाजवादको आधार निर्माण गर्ने । त्यो भनेको संविधानमा व्यवस्था भएका मौलिक हकहरु रोजगारी, आवास, खाद्य सुरक्षा, आधारभूत शिक्षा र स्वास्थ्यको ग्यारेन्टी आदिलाई कार्यान्वयन गर्ने हो । राष्ट्रिय पुँजी निर्माणका लागि देशको औद्योगीकरण गर्ने आदि । यो समाजवादमा जाने पूर्वाधारहरु हुन् र आजको हाम्रा कार्यनीति हुन् ।

माओवाद भन्नुभयो भने विभिन्न टुक्रामा छरिएर रहेका माओवादी समेट्ने होला, त्यो भन्दा अगाडि बढ्नुभयो भने राजनीतिक रुपले हिजोसम्म एक ठाउँमा रहेका माधव नेपाल समूह र अरु वामपन्थी शक्तिहरुलाई पनि समेट्ने होला नि ?

हामी माओवादबाट अगाडि जानुपर्छ । यसरी जाँदा आजको २१औं शताब्दीको विश्व परिस्थिति, नेपालको सन्दर्भ सबैलाई आधार बनाएर विचारको विकास गर्छौं र नेपाली मौलिकतासहित समाजवादमा जाने बाटो तय गर्छौं । जहाँसम्म कम्युनिस्ट पार्टी वा वाम समूहहरुको ध्रुवीकरणको सन्दर्भ छ, त्यसबेला हामी अगाडि बढ्नेगरी वैचारिक छलफल गर्छौं ।

तर टुटफुट तथा क्षतीको यो अवस्था आउनुमा तपाईंहरुको दोस्रो पुस्ता पनि जिम्मेवार छ, अवसर चाहिं खोज्ने, तर कमजोरीको जिम्मेवारी नदिने गर्नुभयो भन्ने आरोप छ नि ?

भन्नेले त दुनियाँ कुरा गर्छन् । तर वास्तविकता के हो भने अध्यक्षले वा अध्यक्षको टिमले माओवादीलाई हिंजोको रुपमा टिकाउन सकेन । यो गल्ती कमजोरी हो, हामीले सार्वजनिक रुपमा पनि भन्ने गरेका छौं, अहिले पनि भन्छौं । साथसाथै हामी त मूलघर छोडेर हिंडेका होइनौं । मूलघर छाडेर सानो गोठमा सरेका अरु साथीहरु हुन् । ती साथीहरुले ठूलो घर बनाएको भए त्यो बाटो पो ठिक रहेछ भनेर हामी त्यहाँ जान्थ्यौं होला । त्यो त बनेन ।

त्यसैले उहाँहरुले पनि गल्ती कमजोरी महसुस गर्नुपर्यो । दुबै पक्षले गल्ती कमजोरी महसुस गरेपछि नयाँ ढंगले, नयाँ सन्दर्भमा वाम समूहहरु एक ठाउँमा आउने बाटो खोजौं । हिजोकै माओवादीहरु मात्र भन्यौं भने संकीर्ण र पछाडि फर्किएको हुन्छ । अरु धेरै शक्तिहरु, जो आजको प्रतिस्पर्धात्मक राजनीतिलाई स्वीकार गर्दै समाजवादतिर जान तयार छ, त्यो विचार, राजनीतिमा प्रतिबद्धता जाहेर गर्छ, ती साथीहरु एकठाउँमा होऔं ।

हामीले कि एकता, कि एकले अर्कालाई सिध्याउनेगरी लड्नुपर्छ भन्ने छैन । संयुक्त मोर्चा बनाएर बैचारिक बहस गरौं, चुनावी तालमेल गरौं, सत्तामा गठबन्धन गरौं । त्यो बीचमा सबै कुरा मिल्दै गए भने एकता पनि गरौं

अहिले सम्भव छैन भने युनाइटेड फ्रन्ट जस्तो एउटा फोरम बनाऔं, समाजवादबारे बहस गरौं । बाहिर चर्चा पनि छ- समाजवादी केन्द्र । त्यही नाम नहोला, तर समाजवादको गन्तव्यबारे बहस गरौं । एउटा देशमा दुई/तीन/चार वटा पुँजीवादी पार्टीहरु हुन्छन्, विभिन्न पुँजीपतिहरुको बीचमा प्रतिस्पर्धा हुन्छ भने हामी पनि एउटा बनाऔं ।

आज पुँजीवादी पार्टीहरुसँग लडौं र जितौं । भोलि हाम्रा बीचमा सकारात्मक प्रतिस्पर्धा हुनसक्छ । कम्युनिस्ट पार्टी ए, कम्युनिस्ट पार्टी बी, कम्युनिस्ट पार्टी सी सबै सर्वहारा, श्रमजिवी, उत्पीडित वर्गका पार्टी हुन्छन् र त्यसमा पनि राम्रो पार्टी, राम्रा नेता खोज्नसक्छन् । बुर्जुवाहरुले आफूभित्र विकल्प दिन सक्छन् भने कम्युनिस्टहरुले चाहिं कि एउटै, कि कोही पनि हुँदैन भन्ने कसरी हुनसक्छ ?

पश्चिम बंगालमा २५ वर्षभन्दा बढी वाम मोर्चाले काम गरे, केरलामा आज पनि गरिरहेका छन् । बोलिभियामा समाजवादीहरुले युनाइटेड फ्रन्ट बनाएर १७/१८ वर्ष जितेका हुन् । भेनेजुएलामा मिलेरै बनाएका छन् । जहाँजहाँ जितेका छन्, त्यहाँ मिलेर जितेका छन् । त्यसैले हामीले कि एकता, कि एकले अर्कालाई सिध्याउनेगरी लड्नुपर्छ भन्ने छैन । संयुक्त मोर्चा बनाएर बैचारिक बहस गरौं, चुनावी तालमेल गरौं, सत्तामा गठबन्धन गरौं । त्यो बीचमा सबै कुरा मिल्दै गए भने एकता पनि गरौं । नभए समाजवादका लागि ५/१०/१५ वर्षे गठबन्धन गरौं ।

त्यसो हो भने अब आउने चुनावमा पनि वाम गठबन्धनका लागि तपाईंहरु तयार हो ?

ओली प्रवृत्ति र प्रतिगमनविरुद्ध वाम-लोकतान्त्रिक गठबन्धन बनायौं, यो आजीवन होइन । अन्ततः एउटा ठाउँमा पुगेर वाम र लोकतान्त्रिक शक्तिको बीचमा प्रतिस्पर्धा हुन्छ । सके लोकतान्त्रिक शक्ति अगाडि जान्छ, नभए वाम लोकतान्त्रिक शक्ति अगाडि जान्छ । अहिले संविधान र लोकतन्त्र बचाउन केही समय सहकार्य आवश्यक भयो । जसरी हिजो २०४६ र २०६२/६३ मा सहकार्य भयो, त्यस्तै सहकार्य हो यो ।

अहिलेको सत्ता गठबन्धन दीर्घकालीन होइन ?

धेरै परसम्म जाने त हुँदै होइन, किनभने त्यहाँ त संघर्ष हुन्छ । एउटा चुनावसम्म जाला वा संविधान सुरक्षित भयो, व्यवस्था सुरक्षित भयो, अब प्रतिस्पर्धा गरौं भन्ने अवस्थामा प्रतिस्पर्धामै जाने हो । कांग्रेस पनि प्रष्ट छ, हामी पनि प्रष्ट छौं । तर फेरि लाइक म्याण्डेट लेफ्ट पार्टीहरुबीच अलि परसम्म गठबन्धन गर्छौं, गर्नु पनि पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment