+
+
Shares

मुहान जोगाउन अछाममा रिचार्ज पोखरी निर्माण अभियान

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १७:१९

३१ साउन, डोटी। अछामको चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी निर्माण अभियान सञ्चालन गरेको छ ।

‘तीन सय ६४ दिन आफ्नो कामको लागि उठौ, एक दिन वातावरण संरक्षणका लागि जुटौ’ भन्ने मुल नाराका साथ उक्त अभियान थालिएको हो ।

विश्वभर वातावरणीय विनासका घटना भइरहँदा चौरपाटी गाउँपालिकाले रिचार्ज पोखरी निर्माण गरि वातावरणीय संरक्षणको सन्देश दिएको छ । स्थानीयवासीको सहभागितामा गाउँपालिकाले सातवटै वडामा शुक्रवार र शनिवार गरी दुई दिनसम्म रिचार्ज पोखरी निर्माण गरेको गाउँपालिकाका अध्यक्ष हर्क साउँदले बताए ।

‘खासमा हामीले शुक्रवारको दिन गाउँपालिका व्यापी अभियान सञ्चालन गरेका छौं’ अध्यक्ष साउँदले भने ‘तर कुनै कुनै टोलमा शुक्रवार नभ्याईएको हुँदा शनिवार पोखरी निर्माण गरेका छौं ।’

गाउँपालिकाका अध्यक्ष साउँदका अनुसार २०७५ र २०७६ सालमा पनि रिचार्ज पोखरी निर्माण अभियान सञ्चालन गरिएको थियो तर गत बर्ष भने कोरोना महामारीका कारण उक्त अभियान सञ्चालन गर्न सकिएन ।

वर्षभरी आफ्ना व्यक्तिगत काम गरेपनि एक दिन वातावरण संरक्षणका लागि काम गरे प्राकृतिक सम्पदा जल, जङ्गल, जमिन, जङ्गली जनावर र चराचुरीको संरक्षण हुने हुँदा रिचार्ज पोखरी अभियान सञ्चालन गरिएको अध्यक्ष साउँदले बताए । रिचार्ज पोखरी निर्माण अभियान अन्तरगत हालसम्म करीब सात हजार पोखरी निर्माण भएका छन् ।

‘वन जगलमा घरपालुवा जनावरलाई चरिचरनका लागि लैजादा पानी चाहिन्छ, जंगली जनावर र चराचुरुङ्गीहरुलाई पनि पानी चाहियो’ अध्यक्ष साउँदले भने ‘यसले वरिपरीका बिरुवाहरुलाई पनि चिस्यान दिन्छ र पोखरी भन्दा तलका मुहानहरुमा पनि पानी सुक्दैन ।’ रिचार्ज पोखरीबाट तत्कालीन र दिर्घकालीन फाईदा हुने उनको दावी छ । पानीका मुहान संरक्षण हुने, सुख्खा डाँडामा बोट बिरुवा जोगाउन सकिने खेती सिचाई गर्न सहज हुने अध्यक्ष साउदको भनाइ छ ।

अभियानमा गाउँपालिकाका प्रत्येक घर परिवारबाट सहभागिता रहेको अध्यक्ष साउँदले वताए । ‘केही व्यक्तिहरुलाई आलोचना गर्नबाटै फुर्सद पाउँदैनन्, उनीहरु यस्तो काममा सहभागि हुने कुरा भएन’ अध्यक्ष साउँदले भने ‘तर करीव करीब ९० प्रतिशत घरधुरीबाट सहभागि रहेको छ ।’

अभियानमा सहभागिहरुको तीन पुस्ते बिवरण, उनले रिचार्ज पोखरी वनाउनका लागि लगेको औजार, उनले त्यहाँ गएर काम गरे÷नगरेको, कति समय काम गरेको सवै बिवरण गाउँपालिकाले तयार गरेको अध्यक्ष साउँद वताउँछन् । उनी थप्छन् ‘हामीले को ले त्यहाँ गएर फोटो मात्रै खिच्यो, को घुमेर मात्रै फर्कियो भन्ने पनि लगत राखेका छौं ।’

बिगतका बर्षहरुमा बनाएका रिचार्ज पोखरीहरुले तल रहेका मुहानहरुमा पानी बढेको स्थानीयवासीहरुको वताएका छन् । रिचार्ज पोखरीले पशु चौपायाहरुका लागि पनि सहज भएको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?