Comments Add Comment

नयाँ ‘टिम’ बनाउँदै कुलमान, महत्वपूर्ण निर्देशनालयमा नेतृत्व हेरफेर

३१ साउन, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालका लागि आफ्नो ‘टिम’ बनाउन  सुरु गरेका छन् । नेतृत्व फेरिएसँगै माथिल्लो तहबाट जिम्मेवारी हेरफेर भएको सुरु भएको हो । उनले पहिलो चरणमा केही उपकार्यकारी निर्देशक र निर्देशनालय प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन् ।

घिसिङ कार्यकारी निर्देशकबाट विदा भएपछि ‘लोडसेडिङ अन्त्य गर्ने टिम‘का सदस्यहरुको ब्यापक सरूवा भएको थियो । कार्यकारी निर्देशक भएर पदबहाली गरेकै दिनमा घिसिङले ‘राइट म्यान इन राइट प्लेस’लाई प्राथमिकता दिने बताएका थिए ।

उनले जीवनकै सबैभन्दा ठूलो चुनौती स्वीकारेर प्राधिकरणमा दोहोरिएको भन्दै कुनै पनि सम्झौता नगर्ने र विगतमा जस्तै राम्रो ‘टिम’ बनाएर काम गर्ने बताएका थिए । घिसिङको यसअघिको टिमका केही महत्वपूर्ण सदस्यहरुले यसअघि नै अवकास पाइसकेका छन् भने केही अवकासको नजिक छन् ।

घिसिङले सबैभन्दा महत्वपूर्ण मानिने ग्राहक तथा वितरण सेवा निर्देशनालयमा उपकार्यकारी निर्देशक मनोज सिलवाललाई ल्याएका छन् । सिलवालले यसअघि घिसिङलाई एडीबीका प्रसारण तथा वितरणका आयोजना हेर्ने ‘आयोजना व्यवस्थापन निर्देशनालय’मा बसेर सघाएका थिए । पछिल्लो समय इन्जिनियरिङ सेवा निर्देशनालयमा रहेका सिलवाललाई घिसिङले यसपटक वितरण प्रणालीको विस्तार र सुधार गर्ने जिम्मा दिएका छन् ।

ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपानेलाई उत्पादन निर्देशनालयमा प्रमुखमा जिम्मेवारी दिइएको छ । यसअघि घिसिङको टिममा रहेर लोडसेडिङ अन्त्य गर्न न्यौपानेले ग्राहक तथा वितरण सेवा निदेशनालयबाट महत्वूर्ण भूमिका खेलेका थिए ।

न्यौपानेलाई यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पनि ग्राहक तथा वितरण सेवा निर्देशनालयमा नै राखेका थिए । न्यौपानेको कार्यकाल अब करिब एक वर्ष मात्रै बाँकी रहेकाले नयाँ व्यक्तिलाई सो जिम्मेवारीमा अभ्यस्त गराउन घिसिङले सिलवाललाई वितरणतर्फ लगेको प्राधिकरण स्रोत बताउँछ ।

उत्पादन निर्देशनालयका प्रमुख तथा प्रवक्ता मदन तिमल्सिनालाई सहायक कम्पनी अनुगमन निर्देशनालयको निमित्त प्रमुखमा सरूवा गरिएको छ । उनलाई पूर्वकार्यकारी निर्देशक शाक्यले उत्पादन निर्देशनालयको प्रमुखमा रूपमा ल्याएका थिए । सो निर्देशनालय विगत ३ वर्षदेखिको भूमिकाविहीन रहेकाले तिमल्सिनालाई त्यहाँ नयाँ ढंगले काम थाल्ने चुनौती छ ।

त्यसैगरी आयोजना व्यवस्थापन निर्देशनालयको प्रमुखमा निर्देशनालयमै कार्यरत तारा प्रधानलाई तोकिएको छ । आयोजना व्यवस्थापन निर्देशनालयको प्रमुख रहेका उपकार्यकारी निर्देशक रामजी भण्डारीलाई इन्जिनियरिङ सेवा निर्देशनालयमा लगिएको छ ।

उपकार्यकारी निर्देशक माधव कोइरालालाई एनईए इन्जिनियरिङ कम्पनीको प्रवन्ध निर्देशक र अर्का उपकार्यकारी निर्देशक विज्ञानकुमार श्रेष्ठलाई तामाकोसी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा यथावत राखिएको छ ।

प्राधिकरणको उपकार्यकारी निर्देशकबाट राजीनामा नदिएकाले पूर्वकार्यकारी निर्देशक शाक्य पनि उपकार्यकारी निर्देशकमा कायमै छन् । जल तथा उर्जा आयोगमा सचिव सरहको पूर्णकालीन सदस्य नियुक्त भएका शाक्यले उक्त पदको नियुक्तिपत्र बुझेका छैनन् ।  प्राधिकरणमा पनि उनको जिम्मेवारी तोकिएको छैन ।

अर्थ निर्देशनायका प्रमुख रहेका उपकार्यकारी निर्देशक रहेका लेखनाथ कोइराला यथावत छन् । उनी यही भदौमा नै अवकास पाउनेको सूचीमा छन् ।

घिसिङले प्रसारण निर्देशनालयका प्रमुख दीर्घायुकुमार श्रेष्ठ, योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका प्रमुख रवीन्द्र चौधरी र भारप्रेषण केन्द्रको प्रमुख सुरेशकुमार भट्टराईलाई सोही पदमा कायम राखेका छन् ।

विद्युत् व्यापार विभागको प्रमुख  रहेका प्रवल अधिकारीले उमेर हदका कारण अवकास पाउने मितिबारे विवाद भएपछि राजीनामा दिएका छन् । तर, स्वीकृत भएको छैन । उनले सिटरोलमा अन्य कागजातमा भन्दा २ वर्ष बढी उमेर लेखेका कारण देखाउँदै जबरजस्ती छिटो अवकास दिन खोजिएको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् ।

यसैगरी सामान्य सेवा विभागका निर्देशक बेलप्रसाद शर्मालाई जनसाधन विभागमा लगिएको छ । जनसाधन विभागका सहनिर्देशक विश्वनाथ शर्मालाई समान्य सेवा विभागको प्रमुखका रुपमा तोकिएको छ ।

कर्मचारी प्रशासन महाशाखाका उप निर्देशक रोसनलाल सुनारलाई उत्पादन निर्देशनालयको प्रशासन महाशाखामा सरुवा गरिएको छ । उत्पादन निर्देशनालयकी उपनिर्देशक इन्दिरादेवी दहात्तलाई उत्पादन निर्देशनालयबाट व्यवस्थापन लेखापरीक्षण महाशाखाको प्रमुखका रुपमा जिम्मेवारी तोकिएको छ ।

व्यवस्थापन लेखापरीक्षण महाशाखाका जिपानन्द श्रेष्ठलाई कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment