+
+
Shares

आगामी हिउँदमा ११ सय ५४ मेगावाट विद्युत् आयात गरिने

प्राधिकरणले आगामी जनवरीदेखि मेसम्मका लागि ११ सय ५४ मेगावाट बिजुली आयात गर्ने जनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १९:०५

१२ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हिउँदमा १ हजार १ सय ५४ मेगावाट विद्युत् आयात गर्ने भएको छ ।

बाढीपहिरोले विभिन्न जलविद्युत् आयोजनामा पुगेको क्षति र हिउँदमा बढ्दो माग परिपूर्ति गर्न प्राधिकरणले आगामी जनवरीदेखि मेसम्मका लागि उक्त परिमाणमा बिजुली आयात गर्ने जनाएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले सुक्खायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने विद्युत्ले माग परिपूर्ति नहुने भन्दै त्यसका लागि आयात गरिने बताए ।

श्रेष्ठका अनुसार सुक्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २ सय १८ मेगावाट विद्युत् उपलब्ध हुनेछ । यो वर्ष हिउँदमा २ हजार २ सय ७२ मेगावाट विद्युत् माग हुने अनुमान रहेको सोही आधारमा आन्तरिक उत्पादनबाट परिपूर्ति हुन नसक्ने विद्युत् आयात गर्ने योजना प्राधिकरणको छ ।

प्राधिकरणले माग–आपूर्ति संकलनका लागि ढल्केबर–मुजफ्फरपुर– ६ सय मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न विन्दुबाट ३ सय ५० मेगावाट, आरटीसीका माध्यमबाट १ सय ५० मेगावाट गरी १ हजार १ सय ५४ मेगावाट विद्युत् आयात गरिने प्राधिकरणले जनाएको छ ।

आन्तरिक उत्पादनले मात्रै उक्त माग धान्न नसकिने भएकाले भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था रहने श्रेष्ठले बताए ।

आगामी हिउँदमा विद्युत् आपूर्ति व्यवस्थापनका लागि प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ । सामान्य अवस्थामा हिउँदमा थपिने विद्युत् माग व्यवस्थापन गर्न सक्ने गरी तयारी भइरहेको उनको भनाइ छ ।

गत वर्ष काठमाडौं उपत्यकामा विद्युत् पिक डिमान्ड करिब ७ सय मेगावाट पुगेको थियो । यस वर्ष उक्त मागमा करिब १० प्रतिशत वृद्धि हुने प्राधिकरणको अनुमान छ ।

‘काठमाडौं उपत्यकामा हिउँदमा लोड बढी हुन्छ, गत वर्ष ७ सय  मेगावाट पिक डिमान्ड रेकर्ड गरेका थियौं, यसपालि त्यसमा करिब १० प्रतिशत बढ्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘त्यो बढेको माग पूरा गर्न अहिले हामीले तयारी गरिरहेका छौं ।’

श्रेष्ठका अनुसार काठमाडौं उपत्यकाको पुराना सबस्टेसनमा रहेको लोडलाई नयाँ चार्ज भएका तथा चार्ज हुने क्रममा रहेका सबस्टेसनमा सार्ने योजना प्राधिकरणले बनाएको छ ।

चोभार, फुटुङ र मुलपानी लगायत सबस्टेसन मार्फत बढी लोड भएका फिडर तथा ट्रान्स्फर्मरको भार स्थानान्तरण गर्ने तयारी छ ।

यसका लागि प्राधिकरणले बागमती प्रादेशिक कार्यालय प्रमुखको संयोजकत्वमा चार–पाँच सदस्यीय टास्क फोर्ससमेत गठन गरेको छ । उक्त टोलीले लोड व्यवस्थापन सम्बन्धी अध्ययन सुरु गरिसकेको श्रेष्ठले बताए ।

काठमाडौं उपत्यकामा बिछ्याइएका ११ केभीका भूमिगत केबुललाई पनि हिउँद सुरु हुनुअघि नै चार्ज गर्ने प्राधिकरणको तयारी छ । तीमार्फत बढी लोड भएका सबस्टेसनको केही भार अन्यत्र स्थानान्तरण गर्ने योजना रहेको उनले बताए ।

भोटेकोशी बाढीका कारण क्षतिग्रस्त २२० केभी प्रसारण संरचना पुनर्स्थापना गर्न पनि प्राधिकरणले काम अघि बढाएको छ ।

चिलिमे हबबाट थ्रीबी हब हुँदै माथितिर जाने २२० केभी प्रसारण लाइन क्षतिग्रस्त भए पनि थ्रीबी हब तत्कालै पुनर्निर्माण गर्न नसकिने अवस्था रहेको श्रेष्ठले बताए ।

बाढीले थ्रीबी हब सबस्टेसन नै बगाएको भन्दै उनले त्यसलाई सोही क्षेत्रमा पुनर्निर्माण गर्नुपर्ने बताए । चिलिमे क्षेत्रमा प्राधिकरणकै जग्गा रहेकाले त्यहीँ नयाँ थ्रीबी हब निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।

हिउँदको विद्युत् व्यवस्थापनमा कुलेखानी जलाशयलाई पनि महत्त्वपूर्ण स्रोतका रूपमा प्रयोग गर्ने प्राधिकरणको तयारी छ । यस वर्ष कुलेखानीमा पानीको सञ्चिति पर्याप्त रहेको श्रेष्ठले बताए ।

प्राधिकरणले आन्तरिक उत्पादन, भारतबाट हुने आयात, कुलेखानी जस्ता जलाशययुक्त आयोजना प्रयोग तथा प्रसारण र वितरण प्रणालीको सुदृढीकरण मार्फत हिउँदको माग व्यवस्थापन गर्ने तयारी गरेको छ ।

‘जसरी गरे पनि हामीले जनतालाई बिजुली दिने हो,’ श्रेष्ठले भने, ‘बिजुलीमात्र दिएर पुगेन, गुणस्तरीय र भरपर्दो बिजुली दिने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?