+
+

अमेरिकाले छाडेपछि अफगानिस्तानमा अब के होला ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १२:४२

१६ भदौ, काठमाडौं । सोमबारको मध्यरातपछि अब अफगानिस्तानमा कुनै पनि अमेरिकी सेना बाँकी छैनन् । सन् २००१ पछि पहिलोपटक यस्तो अवस्था आएको हो ।अमेरिकाले अफगानिस्तानमा रहेका अधिकांश अमेरिकी र जोखिममा रहेका अफगान नागरिकको उद्धार गरेपछि आफ्ना सेना पनि फिर्ता लगेको हो ।

पछिल्लो दुई सातामा अमेरिकाले १ लाख १४ हजारभन्दा धेरै मानिसको उद्धार गरेको छ । यद्यपि अफगानिस्तानबाट आफ्ना सबै सेना फिर्ता ल्याउने निर्णयले अमेरिकी राष्ट्रपति जो बाइडन र उनको प्रशासनमाथि केही प्रश्नहरु उठेका छन् ।

अफगानिस्तानमा छुटेका अमेरिकी र जोखिममा रहेका अफगान नागरिकको के होला ?

अमेरिकाले अफगानिस्तानबाट ५५ सयभन्दा धेरै अमेरिकी नागरिकको उद्धार गर्‍यो । केही अमेरिकी नागरिकले अफगानिस्तानमा नै बस्ने निर्णय गरे । केहीलाई भने तालिबानले अन्तिम समयमा विमानस्थल पुग्नै नदिएको अमेरिकाले बताएको छ । त्यसैले उनीहरु अहिले अफगानिस्तानमा नै छन् ।

अमेरिकाले आगामी दिनमा मुलुक छाड्न चाहनेलाई तालिबानले अनुमति दिने अपेक्षा गरेको छ । यद्यपि कुनै विमानस्थल सञ्चालनमा नआई उनीहरु कसरी आफ्नो मुलुक फर्किन सक्छन् भन्ने आशंका उत्पन्न भएको छ ।

अफगानिस्तानमा हजारौं मानिस अब तालिबानको निसानामा पर्न सक्छन् । जसमा अफगानिस्तानमा अमेरिकी सेनाका लागि दोभाषेको रुपमा काम गर्ने, पत्रकार र महिला अधिवक्ता छन् । अमेरिकाको उद्धारमा उनीहरु पर्न सकेनन् । उनीहरुको अवस्था कस्तो रहनेछ भन्ने अझै स्पष्ट छैन । तर, तालिबानले उनीहरुसँग बदला लिन सक्ने आकलन धेरैको छ ।

आइतबार अमेरिका, बेलायत र अन्य मुलुकले तालिबानलाई विदेशी नागरिक र भ्रमणको अनुमति पाएका नागरिकलाई मुलुक छाड्न दिन आग्रह गरेका छन् ।

काबुल एयरपोर्टको अवस्था के होला ?

पछिल्लो दुई साता काबुल एयरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा थियो । अमेरिकाले हामिद कारजाई एयरपोर्टमा ६ हजार सैनिक पठाएको थियो । अमेरिकी सेना फर्किएपछि सो विमानस्थल पुनः तालिबानको कब्जामा छ ।

तालिबान अहिले कतार र टर्कीसँग काबुलबाट हवाई उडान सञ्चालनको विषयमा वार्ताको क्रममा छ । यो वार्ता सफल भए मात्र अफगानिस्तानमा छुटेका धेरै मानिस आफ्नो मुलुक फर्किन पाउँछन् । टर्कीका विदेशमन्त्री मेल्भट काभुसोग्लुले नागरिक उडान सुरु गर्नुपूर्व काबुल विमानस्थलको मर्मतसम्भार हुनुपर्ने बताएका छन् ।

नेटोको एक सदस्यको रुपमा रहेको टर्कीले पछिल्लो ६ वर्षदेखि काबुल एयरपोर्टको सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको छ । अब तालिबानलाई उक्त विमानस्थल सुम्पिएपछि भने यो विमानस्थल खुला हुनु अफगानिस्तानको अन्य मुलुकसँगको सम्बन्धको लागि मात्र नभई सहयोग पाउन र अन्य सेवाको लागि पनि निकै महत्वपूर्ण हुन्छ ।

अमेरिका–तालिबान सम्बन्ध कस्तो होला ?

अमेरिकाले अफगानिस्तानमा आफ्ना कूटनीतिक अधिकारी नराख्ने र कतारस्थित कार्यालयबाट हेर्ने बताइसकेको छ । आगामी दिनमा अफगानिस्तानसँगको सम्बन्ध कस्तो रहने भन्ने पनि तालिबानको गतिविधिमा निर्भर रहने अमेरिकाले बताएको छ ।

यद्यपि अमेरिकी प्रशासनले अफगानिस्तानमा मानवीय र आर्थिक संकट आउन नदिनको लागि पहल गर्नुपर्ने हुन सक्छ ।

संयुक्त राष्ट्रसंघले अफगानिस्तानको समग्र जनसंख्याको आधाभन्दा धेरै १ करोड ८० लाख मानिस अहिले सहयोगको खोजीमा रहेको र आधाभन्दा धेरै बालबालिका कुपोषणको सामना गरिरहेको बताएको छ ।

पछिल्लो चार वर्षमा अहिले अफगानिस्तानले दोस्रो खडेरीले सामना गरिरहेको छ । बेलायतसहितका केही मुलुकले तालिबानको सरकारलाई विश्वका कुनै पनि मुलुकले अफगानिस्तानको सरकारको मान्यता दिन नहुने बताएका छन् ।

आईएसको जोखिम कस्तो होला ?

अमेरिका र तालिबानबीच सहकार्य हुन सक्ने एउटा विषय इस्लामिक स्टेट (आईएस)को चुनौती हो । यद्यपि यो संगठनसँग लड्न तालिबान र अमेरिकाबीचको सहकार्य तथा सूचना साटासाट गर्नेबारे धेरै आशंका कायमै छ ।

अफगानिस्तानमा आईएसको शाखा इस्लामिक स्टेट खुरासन (आईएस-के) पहिलोपटक सन् २०१४ मा अफगानिस्तानको पूर्वी भागमा देखिएको थियो । बर्बर आक्रमणको कारण छिटै नै यो संगठनलाई धेरैले चिनेका थिए । केही दिनअघि काबुल विमानस्थलबाहिर भएको आत्मघाती आक्रमणको जिम्मा पनि यो संगठनले लिएको थियो । यो आक्रमणमा १७० जनाको मृत्यु भएको थियो । जसमा १३ जना अमेरिकी सैनिक पनि थिए ।

अमेरिकाले त्यसयता उक्त संगठनविरुद्ध दुईवटा ड्रोन आक्रमण गरिसकेको छ । अमेरिकी राष्ट्रपति बाइडनले अमेरिकाले उक्त आक्रमणको जवाफी कारबाही जारी राख्ने बताएका छन् । आईएस–केलाई तालिबानको शत्रुको रुपमा लिइन्छ । यद्यपि उसले तालिबान छाड्नेलाई आफ्नो समूहमा भर्ती गराउँदै आएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?