
१७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीमा जान चाहेका सिन्धुपाल्चोकका जनप्रतिनिधिलाई नेकपा एमालेका नेता–कार्यकर्ताले रोक्न प्रयत्न गरेका छन् ।
गत मंगलबार काठमाडौंमा उपलब्ध सिन्धुपाल्चोकका जनप्रतिनिधिको भेलामा जान धेरै जनप्रतिनिधिलाई रोकिएको मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन् ।
‘निर्वाचन आयोगमा गई सनाखत गर्नुअघि काठमाडौंमा उपलब्ध जनप्रतिनिधिको भेला राखेका थियौं, तर कतिपयलाई रोक्ने प्रयत्न भयो, धरपकड भयो’ उनले अनलाइनखबरसँग भनिन् ।
मंगलबार काठमाडौंमा उपलब्ध सिन्धुपाल्चोकका जनप्रतिनिधिको भेलामा एकीकृत समाजवादीका नेता विजय पौडेललाई पनि बोलाइएको थियो । तर जनप्रतिनिधिलाई एकीकृत समाजवादीमा जानबाट रोक्न डरत्रास र धम्की दिने काम भइरहेको उपप्रमुख नेपलले बताइन् । ‘एक जना वडाध्यक्षको त घरमै मान्छे पठाएर भेलामा आउन नदिएको सुनेको छु’ उनले भनिन् ।
नेकपा एमाले विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादी रोज्न स्थानीय जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको समय दिइएको छ ।
हालसम्म सिन्धुपाल्चोकमा मेलम्ची नगरपालिका उपप्रमुख नेपाल र चौतारा साँगाचोकगढी–१० का अध्यक्ष बेलबहादुर महत गरी दुई जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।
‘आज एक/दुई जना जानुहुन्छ होला’ उपमेयर नेपालले भनिन्, ‘हामीले अहिले धेरै आशा गरेका छैनौं ।’
प्रतिक्रिया 4