+
+

नेपाल भारतसँग फेरि पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते २०:२६

२० भदौ, काठमाडौं । एक महिनापछि हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपालका लागि आफ्नो क्षमता जाँच्ने अवसर थियो, भारतसँगको दुई मैत्रीपूर्ण खेल ।

प्रतियोगिता अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रष्ट भनेका थिए, ‘यो खेल हार्नुको अर्थ साफमा पनि हार्छौं भन्ने होइन । तर हामी दुबै खेल जित्न चाहन्छौं । फिफा र्‍याङ्किङका लागि पनि जित्न जरुरी छ ।’

तर नेपालले दुबै खेल जितेन । १७ भदौमा भएको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले आइतबार भने २–१ गोलको हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको प्लेइङ ११ मा प्रशिक्षक अल्मुताइरीले तीन खेलाडी परिर्वतन गरेका थिए ।

अघिल्लो खेलमा गोल गरेका स्ट्राइकर अञ्जन विष्टको स्थानमा मनिष डाँगीलाई स्थान दिए भने नवयुग श्रेष्ठलाई बेञ्चमा राखेर आशिष लामा आए । यस्तै मिडफिल्डमा सुमन अर्यालको स्थानमा सुजल श्रेष्ठलाई अवसर दिए ।

पहिलो हाफमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । नेपाली डिफेण्डरको उत्कृष्ट प्रदर्शनका कारण भारतले उल्लेख्य आक्रमण बुन्न सकेन ।

पहिलो हाफमा नेपालले पनि गोल गर्ने केही अवसर सदुपयोग गर्न सकेन । अनुभवी स्ट्राइकरलाई बेञ्चमा राखेर आएका मनिष र आशिष गोल गर्न चुके । खेलको १४ औं मिनेटमा मनिषले पेनाल्टी एरियाभित्र वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् ।

भारतीय गोलरक्षक अमरिन्दर सिंह आफ्नो स्वाभाविक पोजिसनमा भएको बेला पनि मनिष आफैं अनियन्त्रित भए र नेपालले गोल गर्ने राम्रो अवसर गुमायो ।

खेलको २७ औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर गुमायो । आयुष घलानको लामो क्रसमा आशिषले सिक्स यार्ड बक्सबाट बललाई कनेक्ट गर्न सकेनन् ।

पहिलो हाफमा अन्तिमतिर भारतले एउटा अवसर बनाएको थियो । ४१ औं मिनेटमा विपिन सिंहले क्रस गरेको बल नेपालका गौतम श्रेष्ठले क्लियर गरेका थिए ।

पहिलो हाफ सकिन दुई मिनेटअघि नेपाली प्रशिक्षक अल्मुताइरीले आशिष र सुमन लामाको स्थानमा विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए ।

दोस्रो हाफमा भारत हावी

दोस्रो हाफमा भारतले सुधारिएको प्रदर्शन गर्‍यो । विपिन सिंहको स्थानमा मैदान प्रवेश गरे फारुख चौधरीले ६२ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । कप्तान सुनील क्षेत्रीको हेडर पासमा अनमार्क रहेका फारुखले सहजै गोल गरेका थिए ।

७४ औं मिनेटमा मनिष डाँगीले अञ्जन विष्टको पासमा गोल गर्ने अवसर गुमाए । त्यसको ६ मिनेटपछि भारतले काउन्टरमा गोल ग¥यो । डिबक्स बाहिर नेपालले पाएको फ्रिकिकमा सुजल श्रेष्ठले हानेको बल भारतीय गोलकिपरले पञ्च गरे । त्यही बललाई अगाडि बढाएका भारतका कप्तान सुनील क्षेत्रीले मैदानको मध्य भागबाट एक्लै बल अघि बढाए र सोलो गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको ८६ औं मिनेटमै नेपालका लागि दुई खेलाडीले डेब्यु गरे । यही खेलबाट नेपालका लागि सर्वाधिक खेलको कीर्तिमान बनाएका कप्तान किरण चेम्जोङलाई रिप्लेस गर्दै गोलकिपर विशाल श्रेष्ठले डेब्यू गरे ।

यस्तै राजन गुरुङले पनि डेब्यु गरे । राजन मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरेका थिए ।

लगत्तै नेपालले गोल फर्कायो । ८६ औं मिनेटमा तेज तामाङले लोभलाग्दो गोल गरेपनि हार टार्न पर्याप्त भएन ।

खेलपछि प्रशिक्षक अल्मुताइरीले नेपाली टिमको प्रदर्शनप्रति आफूलाई कुनै गुनासो नरहेको बताए । साफमा नेपालको प्रदर्शन सुधारिएको हुने भन्दै उनले भने, ‘आजको हारमा धेरै गुनासो छैन ।’

लगातार हारको श्रृङ्खला

नेपाल र भारतबीच अहिलेसम्म २१ खेल भएको छ, जसमध्ये १४ खेल गुमाएको नेपालले ५ वटामा बराबरी खेलेको छ । दुई वटा मात्र नेपालले जितेको छ ।

भारतविरुद्ध नेपालको पछिल्लो जित ८ वर्षअघि साफ च्याम्पियनसिपमा भएको थियो । आजकै दिन अर्थात ५ सेप्टेम्बर २०१३ मा नेपालले भारतलाई २–१ ले हराएको थियो । त्यसयता नेपालले कुनै पनि खेलमा भारतलाई जित्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?