News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ ।
- क्यान सचिव पारस खड्काले एनपीएल र हङकङ सिक्सेसको तालिका जुधेकाले टिम पठाउन कठिन देखिएको बताए ।
- प्रतियोगिता अक्टोबर ३० देखि नोभेम्बर १ सम्म हङकङको तिनकोङ रोड रिक्रिएसन ग्राउन्डमा हुनेछ ।
१२ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ ।
आयोजकले सोमबार सार्वजनिक गरेको टिमहरूको सूचीमा नेपालको नाम छैन । यसपटक प्रतियोगितामा स्कटल्यान्डले पनि खेल्दै छ ।
प्रतियोगितामा हङकङ, ओमान, यूएई, स्कटल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, इंग्ल्यान्ड र बंगलादेश छन् ।
अक्टोबर ३० देखि नोभेम्बर १ सम्म ३ दिन हङकङको तिनकोङ रोड रिक्रिएसन ग्राउन्डमा चल्ने प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को तालिकासँग जुधेको छ ।
सोही कारण नेपाली टोली यसपटक सहभागी नहुने बुझिएको हो । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यसपटक सहभागिता कठिन देखिएको बताए ।
‘हाम्रो एनपीएल हुने समयमा हङकङ सिक्सेस हुने तय भएको छ यसपालि, टिम पठाउन कठिन देखिएको छ’ पारसले अनलाइनखबरसँग भने ।
नेपालले यसअघिका दुई संस्करणमा सहभागिता जनाएको थियो ।
हङकङ सिक्सेसका खेलहरू ६ ओभरको मात्र हुन्छन् र खेलाडी पनि ६ जना मात्र खेल्छन् जसको लक्ष्य हरेक बलमा छक्का प्रहार गर्नु हुन्छ । त्यहीकारण प्रतियोगिताको नाम नै ‘सिक्सेस’ राखिएको छ ।
यस खेलका लागि मैदान पनि तुलनात्मक रूपमा सानो हुन्छ । ६ जना मात्र खेलाडी खेल्ने हुँदा बलर र विकेटकिपरबाहेक फिल्डरहरू ४ जना मात्र हुन्छन् । त्यहीकारण ब्याटरहरू हरेक बलमा ठुलो शट खेल्छन् ।
ब्याटिङ र बलिङमा अर्को रोचक नियम छ । ब्याटरले ५० रन बनाएपछि स्वत: रिटायर हुनुपर्छ र अन्तिम विकेट बाँकी हुँदा मात्र फेरि फर्किएर खेल्न पाइन्छ । पाँच विकेट झरिसकेपछि पनि एकजना ब्याटर एक्लै खेल्न पाउँछन् र अर्कोले रनिङमा साथ दिन क्रिजमै बस्छन् ।
बलिङ पनि विकेटकिपर बाहेक सबैले गर्नुपर्ने हुन्छ र एकजनाले मात्र २ ओभर गर्न पाइन्छ ।
यो प्रतियोगिताका लागि विशेषत: अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका खेलाडीहरू समावेश गरेर टोली पठाइन्छ । ६ जना मात्र खेलाडी हुने हुँदा ब्याटिङ बलिङ दुवैमा सक्षम भएका खेलाडी चयन हुन्छन् ।
प्रतिक्रिया 4