+
+

डोटीका ६ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १८:२८

२२ भदौ, डोटी । नेकपा एमालेबाट निर्वाचित डोटीका ६ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेमगरले एकीकृत समाजवादी रोजेका छन् । उनले एकीकृत समाजवादीले दलीय मान्यता पाएकै दिन भदौ ९ गते निर्वाचन आयोगमा सनाखत गरिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री समेत रहेका उनी एकीकृत समाजवादीका केन्द्रीय सदस्य भएका छन् ।

एमाले समानुपातिक कोटाबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य बनेकी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले पनि एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी छन् । उनले भदौ १५ गते कैलालीमा प्रदेशसभाका अन्य नौ जना सदस्यहरुसँगै सनाखत गरेकी हुन् । जोशी पनि केन्द्रीय सदस्य भएकी छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट विजयी भएका पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले पनि एमाले छाडेका छन् । यसअघि ओली समूहमा खुलेर लागेका बोगटी सोमबार जिल्ला निर्वाचन कार्यालय, डोटीमा पुगेर सनाखत गरेका हुन् ।

यस्तै दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिवराज खड्काले पनि एकीकृत समाजवादी रोजेका छन् । एमालेबाट निर्वाचित उनी यसअघि ओली समूहका विश्वासपात्र मानिन्थे ।

सायल गाउँपालिका–३ का वडाध्यक्ष गोरखबहादुर सार्कीले पनि एमाले छाडेका छन् । गाउँपालिकाका प्रवक्ता समेत रहेका सार्कीले पनि सोमबारै जिल्ला निर्वाचन कार्यालय, डोटीमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । एमाले जिल्ला सचिवालय सदस्य सार्की भने पहिलेदेखि नै नेपाल पक्षका मानिन्छन् ।

निर्वाचन आयोगले सनाखतका लागि दिएको अन्तिम दिन मंगलबार डोटीको जोरायल गाउँपालिका–२ का वडा सदस्य शंकर रावलले एकीकृत समाजवादी रोजेका छन् ।

डोटीका नौ स्थानीय तहहरुमध्ये एमालेबाट पाँच स्थानीय तहमा प्रमुख उपप्रमुख दुवै, एक स्थानीय तहमा उपप्रमुख, २९ वडामा वडाध्यक्ष र वडा सदस्य ११९ जना गरी १५९ जना विजयी भएका थिए । जिल्ला समन्वय समितिमा एमालेको एकलौटी प्रतिनिधित्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?