सामूहिक रूपमा प्राप्त विज्ञता वा ज्ञानको असीमित दायरालाई संस्कृति मानिन्छ । यदि यो व्याख्यालाई मान्ने हो भने संस्कृतिले विचार, परम्परा र सामाजिक वर-व्यवहारका मान्यताहरूलाई प्रचलित गर्दै लगिरहेको हुन्छ ।
नेपाली समुदायको सांस्कृतिक निस्क्रियताका कारण सांस्कृतिक हस्तक्षेप, सांस्कृतिक औपनिवेशिकता बढेको जस्ता सन्दर्भहरू सामाजिक र राजनीतिक बहसका चर्चित विषयहरू हुन पुगेका छन् । सांस्कृतिक औपनिवेशीकरणको विरोधमा लेख्ने, बोल्ने वा वकालतमा सक्रिय कतिपय व्यक्तिहरूको घरपरिवार, छिमेक वा इष्टमित्र कसैको जन्मदिन मनाउने उत्सवमा ‘हृयाप्पी बर्थ डे टु यु’ नै भन्ने गरिएको पाइन्छ ।
संस्कृति त्यस्तो बृहत् तर सामूहिक अवधारणा हो, जसलाई पालना गर्दागर्दै पनि आफ्नोपन गुम्दै गइरहेको हामीलाई पत्तै नहुन सक्छ । वा, जे पालना गरिएको छ सो सांस्कृतिक नभएर देखावटी मात्र भइरहेको हुन्छ ।
जन्मदिनमा दिइने शुभकामना पनि शायद यस्तै हुँदै गइरहेको त छैन ? एउटा ज्वलन्त प्रश्न उठाऊँ, बच्चाको न्वारान गर्दा वा सत्यनारायणको पूजा अंग्रेजी भाषामा हुन सक्ला वा नसक्ला ? अङ्ग्रेजीमा गायत्री मन्त्र पढ्दा के होला ?
लिम्बूहरूको पालमलाई अंग्रेजीमा अनुवाद गरेर गाउँदा कस्तो सुनिएला ? पालमले लिम्बू संस्कृतिको जुन अपार ज्ञानभण्डारलाई सम्प्रेषण गर्ने क्षमता राख्छ, त्यसलाई अङ्गे्रजीकरण गरियो भने शब्दको अर्थ त आउला तर शब्दले लिम्बू संस्कृतिका भावहरूको संग्रहलाई उजागर गर्न सक्ला त ?
पालममा जुन लिम्बू सांस्कृतिक विशेषता अन्तरनिहित छ, जुन सामूहिक संज्ञान मानवीय जीवनको मार्गदर्शक मान्यता स्थापित छ, अन्य भाषामा अनुवाद गरेर गाउनाले त्यसको ऐतिहासिकता वा मनोवैज्ञानिक विलक्षणता उजागर हुन सक्छ ? पक्कै सक्दैन ।
संस्कृति मान्छेको सामूहिक विश्वास, सामूहिक ज्ञान, सामूहिक प्रयास र सामूहिक सहकार्यको सबैभन्दा सुन्दर उपलब्धि हो । यसले मानवीय कर्तव्यहरूलाई समेत सामूहिकीकरण गरेको हुन्छ ।
भावहरूलाई भाषाले बोल्न सक्यो भने सम्प्रेषणले श्रोतालाई मन्त्रमुग्ध गर्न सक्छ । संस्कृतिले भावहरूको दायरा फराकिलो पारेको हुन्छ । भाषाले भावना, उत्तेजना, प्यार वा दुःख व्यक्त गर्दछ । मानिसले बोध गर्ने सुख, खुशी वा उमङ्ग मनोवैज्ञानिक तरङ्गहरू हुन् ।
मान्छेले खुशी, सुख र प्रफुल्लता संकेत र भावमा व्यक्त गर्दछन् । शरीर र अनुहारले दुःख वा खुशी संकेत गर्दछन् । आफ्नो सांस्कृतिक जीवन पद्धति अनुकूल भाव सम्प्रेषित हुने हुन् ।
संस्कृति अनुुसार फरक-फरक शैली विकसित भएको हुन्छ, दुःख वा सुख व्यक्त गर्ने । यसलाई मनोविज्ञान पनि भन्न सकिन्छ । सांस्कृतिक जागरण र सांस्कृतिक नवप्रवर्तनको यस समयमा आएर हामीले बारम्बार प्रयोग गरिरहेका शब्दहरू संयोजन गर्दै एउटा नयाँ र मौलिक गीत संगीत बजारमा आएको छ ।
त्यसले पश्चिमाकरण हुँदै गएको जन्मदिनको संस्कृतिलाई नेपाली सामूहिक ज्ञानको सम्प्रेषणीय भाषामा संगीत सिर्जना गरेको छ, जसमा नेपालीपन छ । जसलाई नेपाली चरित्र, नेपाली चिन्ता र नेपाली एकताको एक सांस्कृतिक नवप्रवर्तन भन्न सकिन्छ । गीतमा संगीत भरिएको छ ।
गीतका शब्द उत्कृष्ट छन् । संगीत चित्तबुझ्दो छ । गीतको बीचमा संगीत बजिसकेपछि बच्चाले गाएको एकलाइन ‘शुभकामना’ भन्ने वाक्यले नयाँ स्वाद दिन्छ । पर्यटन व्यवसायी कुसुम शाही (ठकुरी)को रचना, विपिन आचार्यको संगीत र माण्डवी त्रिपाठीको गायनमा गीत सार्वजनिक छ ।
गीतले भन्छ-
तिमीलाई जन्म दिनको शुभकामना
दीर्घजीवन होस्, हे अष्ट चिरञ्जीवी, छ प्रार्थना
समृद्ध जीवन होस्, हे अष्टलक्ष्मी देवी, छ कामना
शुभ शुभ शुभ शुभकामना
तिम्रा हर्षमा गाउँछौं मङ्गल कामना
सुन्दर सार्थक जीवन सफलताले चुमोस् शुभकामना
हाम्रो आशिष पुगोस्, फलोस्, फुलोस् खुशी, मङ्गल कामना
शुभ शुभ शुभ शुभकामना
तिमीलाई जन्मदिनको मंगलमय शुभकामना
गीत तलको लिंकमा सुन्न सकिन्छ :
प्रतिक्रिया 4