+
+

क्रान्ति, प्रतीक र विचारधाराको महत्त्व

०६२/०६३ को युगान्तकारी आन्दोलनका महान नायकका रुपमा गिरीजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखापरे । नेपाली विशेषताको विचारधारात्मक नेतृत्व भने जनताको बहुदलीय जनवादले मात्र गरिरहयो ।

वामदेव गौतम, राष्ट्रियसभा सदस्य वामदेव गौतम, राष्ट्रियसभा सदस्य
२०७८ भदौ २३ गते ९:५६

कुनै पनि देशको क्रान्ति र निर्माणका निम्ति जनता नै मुख्य र निर्णायक शक्ति हुन्छन् । तर जनतालाई संगठित गर्न, आन्दोलित गर्न, आह्वान गर्न र निर्माणमा समर्पित हुन निश्चित सिद्धान्त र विचारधाराको महत्व प्रमुख हुन्छ । उक्त सिद्धान्त र विचारधाराको व्यवहारिक प्रयोगले क्रान्तिको प्रतीक स्थापित गर्दछ ।

संसारमा क्रान्ति नभएका कुनै पनि स्वतन्त्र मुलुक छैनन् । तर क्रान्ति सफल भएका र तदनुरुप नयाँ व्यवस्थामा रुपान्तरणभएका मुलुकहरु भने केही मात्र छन् । संघर्षमा सामेल भएर मात्र क्रान्ति प्रतीकको जन्म र विकास हुन्छ । त्यसैगरी क्रान्तिमा सामेल भएका अगुवाहरुले नै आफ्ना अनुभवको आधारमा अध्ययन अनुसन्धानबाट विचार प्रतिपादन गर्छन् र तीनलाई कार्यान्वयनमा लगेर परिमार्जन गर्दै विकास गर्छन् ।

अमेरिकी स्वतन्त्रता संग्रामका क्रान्ति प्रतीक बने जर्ज वांसिगटन, भारतीय स्वतन्त्रता संग्रामका क्रान्ति प्रतीक बने महात्मा गान्धी, रुसी समाजवादी क्रान्तिका प्रतीक बने लेनिन र उनको विचार बन्यो मार्गदर्शक सिद्धान्त । त्यसैगरी युगोस्लाभियाका टिटो बने । त्यहाँको क्रान्तिको प्रतीक र चेकोस्लाभाकियको क्रान्ति प्रतीक बने चेसस्कु ।

०६२/०६३ को युगान्तकारी आन्दोलनका महान नायकका रुपमा गिरीजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखापरे । नेपाली विशेषताको विचारधारात्मक नेतृत्व भने जनताको बहुदलीय जनवादले मात्र गरिरहयो ।

त्यसरी नै चिनियाँ क्रान्तिका प्रतीक बने माओत्सेतुङ र उनले अगाडि सारेको विचार माओत्सेतुङ विचारधारा बन्यो । यही विचारधारा चिनियाँ क्रान्तिको मार्गदर्शक सिद्धान्त बन्यो । त्यसैगरी भियतनाम क्रान्तिका प्रतीक बने होचिमिन्ह । क्युवाली क्रान्तिका प्रतीक बने फिडोल क्यास्ट्रो । त्यसैरी नै कोरियन क्रान्तिका प्रतीक बने किम इल सुङ र उनको विचार जुच्छे कोरियन क्रान्ति र निर्माणको मार्गदर्शन सिद्धान्त बन्यो । दक्षिण अफ्रिकी क्रान्तिका प्रतीक बने नेल्सन मण्डेला ।

उपरोक्त सबै मुलुकहरुमा क्रान्तिले सफलता प्राप्त गरे । तर क्रान्ति शुरु भएका क्रान्तिका प्रतीक व्यक्ति निर्माण गर्न नसकेका र विचारधारा पनि विकास गर्न असमर्थ मुलुकहरुमा क्रान्ति असफल भए ।

प्रत्येक देशहरुमा हुने क्रान्ति आफ्नै समाजमा विकसित शत्रुतापूर्ण अन्तरविरोधको समाधानका लागि हुनेगर्छ । कुनै पनि मुलुकमा न बाहिरबाट क्रान्ति थोपर्न सकिन्छ नत क्रान्ति निर्यात नै गर्न सकिन्छ । दोस्रो विश्वयुद्धमा साम्राज्यवादीहरुको पराजय पछि धेरै मुलुकहरुमा क्रान्ति विष्फोट भयो तर त्यहाँका अधिकांश मुलुकहरुले न क्रान्ति प्रतीक जन्माउन सके नत विचारधारा नै विकास गर्न सके । त्यहाँका क्रान्तिहरु एक पछि अर्को गर्दै असफल भए ।

त्यहाँका कम्युनिष्ट क्रान्तिकारीहरुले मार्क्स, ऐंगेल्स, लेनिनका विचारहरुको व्यापक प्रचार गरे, ती महान राष्ट्रिय क्रान्तिकारीकै फोटो निकै प्रचार गरे । तर आफ्नो नेतालाई उनीहरुले न क्रान्ति प्रतीक बनाउन सके नत क्रान्तिको मार्गदर्शक सिद्धान्त विकास गर्न सके । अन्तमा क्रान्ति पराजित हुन पर्‍यो । हजारौं क्रान्तिकारीहरुको बलिदान खेर मात्र भयो । त्यस्ता मुलुकहरुमा म्यानमार, थाइल्याण्ड, कम्पुचिया, इण्डोनेशिया, पेरु अर्जेन्टिना, भारत आदि पर्छन् ।

अब आफ्नै मुलुक नेपालको चर्चा गरौं । वि.सं.२००७ सालको क्रान्ति प्रतीक बने वीपी कोइराला र विचारधारा बन्यो संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र । जनवादी गणतन्त्रका बाहक थिए पुष्पलाल र उनी त्यो क्रान्तिका प्रतीक हुन सकेनन् सहयोगी मात्र भए । संवैधानिक राजतन्त्रका बाहक राजा त्रिभुवन पनि थिए । तर उनी पनि प्रतीक भएनन् क्रान्तिका सहयोगी मात्र थिए ।

उनले र उनका उत्तराधिकारीले पछि क्रान्तिलाई धोखा दिए । उनकै धोखाका कारण क्रान्ति अधुरो रहयो । २००७ सालमा अधुरो रहेको क्रान्ति ५८ वर्ष पछि राजतन्त्र समाप्त गर्दै गणतन्त्र स्थापना गरेर सम्पन्न भयो । धोकेवाजहरुलाई इतिहासको गतिले कठोर सजाय दिन्छ भन्ने प्रमाणित भयो ।

२०४६ सालमा कम्युनिष्ट र कांग्रेसको संयुक्त प्रयासमा पञ्चायती निरंकुशतन्त्रका विरुद्ध क्रान्ति शुरु भयो । सो क्रान्ति सम्झौतामा टुंगियो । क्रान्तिका प्रतीक बने गणेशमान सिंह र मदन भण्डारी ।

त्यसका विचारधाराहरु थिए संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र । मदन भण्डारीले लगत्तै पछि बहुदलीय प्रजातन्त्रमा टेकेर जनताको बहुदलीय जनवादको क्रान्तिकारी विचारधारा विकास गरे । जनताको बहुदलीय जनवादलाई मदन भण्डारीका उत्तराधिकारीहरुले पछि नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा विकास गरे । २०४७ देखि २०७५ साल जेठ २ गतेसम्म २८ वर्ष जनताको बहुदलीय जनवादले नेपालको राजनीतिमा वैचारिक रुपले एक छत्र प्रभाव पारिरहयो ।

२०५२ देखि २०६३ सालसम्म १० वर्ष प्रचण्डको नेतृत्वमा जनयुद्ध नामको सशस्त्र संघर्ष भयो । यसले ग्रामीण क्षेत्रको सामन्ती सत्ताको जरो छिन्नभिन्न पार्ने काम गर्‍यो । तर यसको सबभन्दा ठूलो गलत पक्ष आफूसँग असहमत पार्टीका कार्यकर्ता र नेताहरुको निर्मम हत्या थियो ।

पछि नेपाललाई अधिनस्त गर्न चाहने अन्तर्राष्ट्रिय शक्तिको पनि सहयोग लिएका विषयहरु प्रकाशित भए । यस्ता घटनाहरु कुनै पनि स्वभिमानी नेपालीका निम्ति स्विकार्य हुनै सक्दैन्थे । तर पनि २०६२/६३ को नेकपा (एमाले), नेपाली कांग्रेस र यो शक्ति नेकपा (माओवादी) मिलेर भएको संयुक्त शान्तिपूर्ण जनक्रान्ति महत्वपूर्ण रहयो ।

उपरोक्त संघर्षका दौरान हिंसात्मक माओवादी आन्दोलन शान्तिपूर्ण संघर्षमा अवतरण भयो । पछि संविधानसभाबाट राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा यस पार्टीको भूमिका महत्वपूर्ण रहयो । माओवादी आन्दोलनमा प्रचण्ड पथका नाममा विचारधाराको स्थापना गर्ने कोशिस भए पनि त्यो स्थापित हुन सकेन ।

तर पनि यो युगान्तकारी आन्दोलनका महान नायकका रुपमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखापरे । नेपाली विशेषताको विचारधारात्मक नेतृत्व भने जनताको बहुदलीय जनवादले मात्र गरिरहयो ।

नेपाली कांग्रेस पार्टीले स्थापना काल २००६ सालदेखि अवलम्बन गरेको विचारधारा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र थियो । नेकपा (माओवादी)को जनयुद्धबाट सत्ता कब्जा र जनवादी गणतन्त्र स्थापना थियो । नेकपा (एमाले)को शान्तिपूर्ण जनसंघर्ष र जनमतको आधारमा जनवादी गणतन्त्र स्थापना मुख्य रणनीतिक मान्यता थियो ।

शान्तिपूर्ण जनक्रान्तिका दौरान नेपाली कांग्रेसले आफ्नो मान्यता संवैधानिक राजतन्त्र छोडेर राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनामा अद्यावधिक गर्‍यो । नेकपा (माओवादी) ले पनि आफ्नो केन्द्रीय सत्ता कब्जागर्ने रणनीतिक उद्देश्य र नयाँ जनवादी गणतन्त्र छोडेर बहुदलीय प्रतिस्पर्धासहितको लोकतान्त्रिक गणतन्त्रमा अद्यावधिक गर्‍यो।

नेकपा (एमाले) ले पनि कार्यनीतिक रुपमा प्रयोग गर्दै आएको संवैधानिक राजतन्त्रको कार्यनीति परित्याग गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनाको बाटोमा प्रवेश गर्‍यो। बहुदलीय प्रतिस्पर्धासहितको गणतन्त्रात्मक राज्य व्यवस्था जनताको बहुदलीय जनवादको मुख्य मान्यता हो ।

सबैलाई थाहा भएकै विषय हो, त्यसबेला जनताको बहुदलीय जनवाद (जबज) नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त थियो । अहिले जनताको बहुदलीय जनवाद कुनै निश्चित पार्टीको मात्र पार्टी कार्यक्रम होइन नेपाली क्रान्ति र निर्माणको सिद्धान्त हो ।

क्रान्ति, प्रतीक र विचारधाराको संक्षिप्त विश्लेषणको आधारमा भन्नुपर्दा अन्यथा अवस्था सृजना हुने हो भने नेपालको कम्युनिष्ट आन्दोलन ह्रासोन्मुख हुँदै समाप्तिको अवस्थामा पुग्ने देखिन्छ ।

अहिले नेपाली समाज पुँजीवादी उत्पादन पद्धतिमा प्रवेश गरिसकेको छ र पार्टीको मुख्य कार्यभार नेपाली विशेषताको समाजवाद अथवा बहुदलीय समाजवाद निर्माण गर्नु भएको छ । बहुदलीय समाजवाद भन्नुको अर्थ हो, पुँजीवादसहितको समाजवाद जहाँ पुँजीवादको मुख्य चरित्र राष्ट्रिय हुनेछ ।

लेनिनको भनाइ अनुसार मार्क्सवादका तीन संघटक अंगहरु छन् । पहिलो द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन हो । दोस्रो राजनीतिक अर्थशास्त्र र तेस्रो हो वैज्ञानिक समाजवाद । जनताको बहुदलीय जनवाद मदन भण्डारीले विकास गरेको मार्क्सवादी विचारधारा हो । यसका पनि तीन संघटक अंगहरु छन् । पहिलो राज्यसत्ततामा द्वन्द्वात्मक भौतिकवादका नियमहरुको प्रतिस्थापन, दोस्रो हो चरणवद्ध आर्थिक विकास र तेस्रो हो बहुदलवादी खुला समाज ।

मार्क्सवादका विधार्थीहरुलाई राम्ररी थाहा हुनुपर्छ । द्वन्द्वात्मक भौतिकवादका नियमहरु तीन वटा छन् । पहिलो विपरीत तत्वका बीच एकता र संघर्षको नियम, दोस्रो हो मात्रात्मक परिवर्तनबाट गुणात्मक परिवर्तनको नियम र तेस्रो हो निषेधको निषेध नियम ।

मदन भण्डारीले उपरोक्त तीन वटै नियमहरुलाई राज्यसत्ता, अर्थतन्त्र र समाजमा प्रयोग गर्नुभयो । त्यस अनुसार राज्यसत्ता पनि निरन्तर परिवर्तन र विकासको अवस्थामा हुन्छ र त्यसको प्रकट रुप बहुदलीय प्रतिस्पर्धा हुन्छ । अर्थतन्त्र पनि निरन्तर परिवर्तन र विकासको अवस्थामा हुन्छ, त्यसको प्रकट रुप क्रमिकतामा हुन्छ । समाज पनि त्यसैगरी निरन्तर परिवर्तन र विकासको अवस्थामा हुन्छ र त्यसको प्रकट रुप खुला र बहुलवादी समाज हुन्छ । विस्तृत जानकारी लिन चाहनु हुनेले मेरो रचना मार्क्सवाद र जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययनलाई लिनहुन अनुरोध छ ।

पाठक वृन्द ! आफ्नो राष्ट्रिय विशेषतामा विकसित विचारधारा परित्याग गरेर कसैले पनि आफ्नो देशमा न क्रान्ति सफल गर्न सकेको छ नत समाजवाद नै निर्माण गर्न सकेको छ । अग्रगमनमा पूर्वाग्रहको कुनै मान्यता हुन्न ।

जनताको बहुदलीय जनवाद नेपालको इतिहासमा पहिलो पटक विकसित भएको मार्क्सवादी विचारधारा हो । नेकपा (एमाले) ले आफ्ना अनुभवहरुको आधारमा जनताको बहुदलीय जनवादलाई विकसित गर्दै आएको छ । नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशन भन्दा पहिले माले पार्टी र मार्क्सवादी पार्टीको २०४७ सालमा भएको एकीकरण पश्चात राष्ट्रव्यापी पार्टी एकता सन्देश अभियानका दौरान एकीकरणको घोषणापत्रको विरुद्ध भएको अनर्गल प्रचारलाई चिर्नका निम्ति मदन भण्डारीले ‘बहुदलीय जनवाद बारे’ नामको रचना प्रकाशित गर्नुभयो ।

त्यसपछि २०४९ सालमा भएको पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनमा पहिलो पटक व्यवस्थित रुपमा नेपाली क्रान्तिको कार्यक्रम भनेर मदन भण्डारीले पार्टी कार्यक्रम र राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादलाई प्रस्तुत गर्नुभएको हो । महाधिवेशनमा यो विचारका विरुद्ध प्रस्तुत भएका चार वटा प्रस्तावलाई पराजित गर्दै अत्यधिक बहुमतबाट जनताको बहुदलीय पारित भयो ।

पार्टीको छैंटौं महाधिवेशनले जनताको बहुदलीय जनवादलाई मौलिक सिद्धान्त भन्यो । सातौं महाधिवेशनले नेपाली क्रान्तिको सिद्धान्त मान्यो, आठौं महाधिवेशनले जनताको बहुदलीय जनवादलाई नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त मान्यो ।

त्यसैगरी नवौं महाधिवेशनले यसलाई पहिले भन्दा अझ उन्नत गर्दै नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्तका रुपमा विकास गर्‍यो । पार्टीको आठौं महाधिवेशनदेखि नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद रहँदै आएको सबैलाई स्पष्ट जानकारी छदैंछ । जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रुपमा मात्र राख्दा ठिक हुन्छ । मार्गदर्शक सिद्धान्तका रुपमा राखिहाल्दा हतार हुन्छ कि भन्ने भनाई क.केपी ओलीको थियो । तर उहाँले यसमा फरक मत भने राख्नु भएन ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरणका सन्दर्भमा २०७४ को आम निर्वाचन भन्दा पहिले २ वटा सम्झौता भएका थिए । सबभन्दा पछिल्लो सम्झौता २ जेठ २०७५ राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो । अर्को दिन जेठ ३ गते दुबै पार्टीबाट उपस्थित केन्द्रीय कमिटीका सदस्यहरुको बैठकले दुबै पार्टीका केन्द्रीय कमिटीलाई भंग गर्दै सर्वसहमतिमा नयाँ केन्द्रीय कमिटी गठन गर्‍यो ।

नयाँ केन्द्रीय कमिटीले मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवादलाई मात्र राख्यो र जनताको बहुदलीय जनवाद, २१औं शताब्दीको जनवाद र माओवादका सम्बन्धमा आगामी महाधिवेशनबाट टुंगो लगाउने गरी स्थगित गरियो ।

तर यो पार्टी एकता २३ फागुन २०७७मा समाप्त भयो र दुबै पार्टी एकता भन्दा पहिलेको अवस्थामा पुनस्थापित भए । त्यति मात्र हैन अहिले नेकपा (एमाले) विभाजन भएर एमाले र एकीकृत समाजवादी भएका छन् । अहिले एमालेका मुख्य नेता केपी ओली र एकीकृत समाजवादीका नेता माधव कुमार नेपाल र झलनाथ खनाल हुनुहुन्छ ।

नेकपा (एमाले) को छैंटौं र सातौं महाधिवेशनमा महासचिवको तर्फबाट राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने माधव नेपाल र आठौं र नवौं महाधिवेशन पहिले का.वा महासचिव र पार्टी अध्यक्षका नाताले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने झलनाथ खनाल हुनुहुन्छ ।

अहिले नेकपा (एमाले) ले जनताको बहुदलीय जनवादलाई पार्टी कार्यक्रमका रुपमा मात्र स्वीकार गर्न थालेको बुझिन्छ । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) ले मार्गदर्शक सिद्धान्तको स्तरबाट हटाएर सम्मान गर्ने विचारका रुपमा मात्र स्वीकार गर्ने गरी लिएको बुझिन्छ । एमालेले अहिले नै मार्गदर्शक सिद्धान्तबाट नहटाउने बुझिन्छ भने एकीकृत समाजवादीले मार्गदर्शक सिद्धान्तका रुपमा मार्क्सवाद र लेनिनवादलाई मात्र अगाडि सारेको देखिन्छ ।

अर्थ स्पष्ट छ जनताको बहुदलीय जनवाद एउटा पक्षले राखेर पनि त्यसबाट मार्गनिर्देशित नहुने र अर्को पक्षले भने मार्गदर्शक सिद्धान्तको तहबाट हटाउनुले बहुदलीय समाजवाद स्थापना गर्ने कार्यदिशाबाट भड्किन खोजेको देखिन्छ ।

उपरोक्त २०० वर्ष भन्दा लामो समयको क्रान्ति, प्रतीक र विचारधाराको संक्षिप्त विश्लेषणको आधारमा भन्नुपर्दा अन्यथा अवस्था सृजना हुने हो भने नेपालको कम्युनिष्ट आन्दोलन ह्रासोन्मुख हुँदै समाप्तिको अवस्थामा पुग्ने देखिन्छ । अहिले देखिएका यो निराशाको अवस्थालाई चिर्दै नयाँ नेपाल निर्माणका लागि जनताको बहुदलीय जनवादको मार्गदर्शन पुर्नस्थापित गर्न सक्ने गरी कुनै नयाँ शक्ति उदाउन सक्यो भने पहिलेको पूर्वानुमानलाई बदल्न पनि सकिनेछ ।

त्यस्का निम्ति भविष्यतर्फ आँखा लगाउनुको विकल्प छैन । नेपाली क्रान्तिले विकास गरेको विचारधारा खारेज गर्ने र आफैंले नयाँ विचार अगाडि सार्न पनि नसक्ने हो भने समाप्ति कुर्नु बाहेक अर्को केही हुँदैन ।

२१भदौ, २०७८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?