 
																			कति लामो जाम हो आज त ? भनेर हामीले आफैंलाई प्रश्न गरेको दिन, रात, हप्तौं, महीनौं मात्र होइन, वर्षौं वर्ष भइसकेको छ । अब त हामीलाई नेपाली हुनुको नियति नै लाग्न थालिसकेको छ । अभ्यस्त भइसकेका छौं । जाममा पर्नु हाम्रो दैनिकी बनिसकेको छ ।
यसरी जामकै कारण हामी कुनै पनि कामको लागि घरबाट निक्लिंदा ३०-४० मिनेट अगावै निक्लिने बानी परिसकेको छ । हामीमध्ये धेरैलाई त यो हाम्रो नियति नै लाग्न थालिसकेको छ, यसको कुनै समाधान छैन भन्ने लाग्न थालिसकेको छ । त्यसो त कुनै समय लोडसेडिङ अन्त्य हुने कुरा, योजना पनि हावादारी लागेको नै हो ।
दैनिक १८-२० घण्टा लोडसेडिङको मार खेपिरहेका हामी नेपालीले लोडसेडिङ अन्त्य गर्ने कुरा दिवासपना जस्तै लागिसकेको थियो । प्राविधिक र व्यवस्थापकीय दक्षता भएका सही मान्छे, सही ठाउँमा, सही समयमा नेतृत्वमा पुग्यो भने सम्भव हुने रहेछ ।
हरेक समस्याको तत्कालीन समाधान गर्दै दीर्घकालीन समाधान उन्मुख हुन सकिने रहेछ । यो कुरा अब कुनै सैद्धान्तिक अवधारणा मात्र होइन, व्यवहारमा रुपान्तरण भइसकेको छ । अब हामीहरू माझ घाम झैं छर्लङ्ग भैसकेको छ ।
अर्थशास्त्री शेरजंगबहादुर चन्दले काठमाडौं उपत्यकाभित्रको सवारी साधन जामले देशको अर्थशास्त्रलाई पारेको प्रभावबारे अध्ययन गरे । उनले एक वर्षमा काठमाडौं उपत्यकाभित्र हुने सवारी जामले देशलाई करीब एक खर्ब १६ अर्ब ४० करोडभन्दा बढी आर्थिक नोक्सानी हुने तथ्यसहितको शोध सार्वजनिक गरेका छन् ।
शोधपत्रमा जामले गर्दा प्रत्येक व्यक्तिको समय बढी खर्च हुने, जामको कारण इन्धन खर्च बढ्ने, कार्बन उत्सर्जन बढ्ने, ट्राफिक व्यवस्थापन खर्च बढ्ने, बिरामी बढ्ने लगायतका विभिन्न हानि-नोक्सानीहरू हुने रहेछ । यसको आर्थिक भार निकाल्दा वार्षिक यति धेरै घाटा हुने तथ्य देखिएको हो ।
तसर्थ, काठमाडौंको सवारी जामको विकराल स्थिति सामना गर्न तत्काल समाधानका उपायहरू अवलम्बन गर्दै दीर्घकालीन ट्राफिक जामको समस्या समाधानका उपायहरू खोज्नुपर्ने हामी सबैले महसूस गरिसकेका छौं ।
यस लेखमा काठमाडौं भ्यालीमा तत्काल सवारी जाम कम गर्न अवलम्बन गर्न सकिने उपायहरूको बारेमा विचार व्यक्त गर्ने प्रयास गरिएको छ । सबैभन्दा पहिले ट्राफिक जामलाई ट्राफिक प्रहरीको मात्र समस्याको रूपमा नबुझी सर्वसाधारण, सडक प्रयोगकर्ता, विभिन्न निजी तथा सरकारी संस्थाहरू सबैले साझा समस्याको रूपमा लिई समस्याको स्वामित्व ग्रहण गर्नुपर्दछ । जब हामीले यसलाई मेरो/हाम्रो समस्या हो भनी समस्याको स्वामित्व लिन्छौं, यसको समाधानको लागि हरेक व्यक्ति, संस्थाले एउटा–एउटा इँटा थप्दै सहभागितामूलक तरिकाबाट समाधान निकाल्नुपर्छ ।
कुनै पनि देश कति विकसित छ भन्ने कुरा त्यस देशका मान्छेहरू कति छिटो एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छन् र तिनीहरूबीच सूचना/ज्ञानको आदानप्रदान कति छिटो हुन्छ भन्ने कुराले निर्धारण गर्छ ।
तसर्थ, हामी पनि सबैको सहभागितामूलक योगदानमा ट्राफिक जाम कम गरी यात्रा समय घटाउने होइन त ? कि जहिल्यै ट्राफिक प्रहरीको मात्र भरपरी ट्राफिक जाम भोगिरहने ?
केही कठिनाइ होला, तर सबैको सहभागितामूलक योगदानबाट तत्काल ट्राफिक जाम कम नगर्ने हो भने हाम्रो मानव पूँजीको उत्पादकत्व कम भई अर्थतन्त्रमा परेको असर रोक्न सक्दैनौं । यदि हामीले हामीसँग वर्तमान अवस्थामा रहेको सडक सञ्जालमा सवारी चाप सातै दिन, चौबीसै घण्टा समान बनाउन सक्यौं । अर्थात् सडकको अधिकतम प्रयोग गर्न सक्यौं भने मात्र हामीसँग हाल उपलब्ध सडक संरचनामै वर्तमान अवस्थामा भैरहेको ट्राफिक जाम कम गर्न सक्छौं ।
यसका लागि हामीले निम्न उपायहरू मार्फत आ-आफ्नो ठाउँबाट योगदान दिंदै तत्काल ट्राफिक जाम कम गर्न सहयोग गर्न सक्छौं ।
१. कार्यालय समय फरक-फरक बनाउने
हाम्रा सरकारी कार्यालय, संघसंस्था, विद्यालय, क्याम्पस आदिको खुल्ने र बन्द हुने समय लगभग एउटै भएकोले खुल्ने र बन्द हुने समयमा सवारी चाप बढ्न जान्छ । उक्त समयमा ट्राफिक जाम धेरै हुने गरेकोले उदाहरणको लागि खुल्ने र बन्द हुने समय निम्न तरिकाले निर्धारण गर्न सकियो भने ट्राफिक चाप कम भई जाम कम गर्न सहयोग गर्छ । कुन संस्था कहिले खुल्ने बन्द हुने भन्ने कुरा विज्ञसहितको टोली मार्फत छोटो अवधिको सर्भे/अध्ययन गरेर निर्धारण गर्न सकिन्छ ।
| कार्यालय/संस्था/सवारी साधन | खुल्ने-बन्द हुने समय | 
| विद्यालय, क्याम्पस, शिक्षण संस्था | बिहान ७-दिउँसो १ | 
| शपिङ्ग कम्प्लेक्सहरू | बिहान ८- बेलुका ६ | 
| बैंक तथा वित्तीय संस्था | बिहान ९- दिउँसो ४ | 
| सरकारी कार्यालय | बिहान १० – बेलुकी ५ | 
| रेस्टुरेन्ट, पार्टी प्यालेस | बिहान ११ – राति ११ | 
| ट्रक, टिपर, मालसमान ढुवानी, निर्माण सामग्री ढुवानी | बेलुका ७- बिहान ७ | 
२. सार्वजनिक विदा फरक–फरक दिन दिने
हाम्रो देशमा हप्ताको एक दिन शनिबार सार्वजनिक बिदा दिने चलन रहेको छ । यसैकारण, शनिबारको दिन हामी धेरै लामो समय सवारी जाममा पर्दैनौं । यदि यो बिदा सबै सरकारी कार्यालय, संघसंस्था, विद्यालय, क्याम्पसहरूलाई एकैदिन नदिएर फरक फरक दिन दिने निर्णय गरी प्रयोगमा ल्याउनुपर्छ ।
यसले पनि ट्राफिक चाप सबै दिन बाँडिन गई ट्राफिक जाम कम हुन्छ । उदाहरणको लागि सार्वजनिक बिदा निम्नानुसार दिन सकिन्छ- कुन क्षेत्रलाई कुन दिन दिने भन्ने कुरा विज्ञसहितको टोली मार्फत छोटो अवधिको सर्भे/अध्ययन गरेर निर्धारण गर्न सकिन्छ ।
| कार्यालय | सार्वजनिक बिदा | 
| शिक्षण संस्था, क्याम्पस | शनिबार | 
| सरकारी कार्यालय | आइतबार | 
| सरकारी संस्थान | सोमबार | 
| प्राइभेट कम्पनी | मंगलबार | 
| संघसंस्था | बुधबार | 
| बैंक तथा वित्तीय संस्थाहरू | बिहीबार | 
| निजी व्यवसायीहरू | शुक्रबार | 
३. इ-गभर्न्यान्स
धेरैजसो विकसित देशहरूले सूचनाप्रविधिको प्रयोग गरी सरकारी सेवाहरू छिटो, छरितो, पारदर्शी रूपमा प्रदान गरिरहेका छन् । हाम्रो देशमा पनि लोकसेवा आयोग लगायतका कार्यालयहरूमा सूचना प्रविधि केही वर्षदेखि अभ्यासमा आइरहेको छ ।
विश्वव्यापी महामारी कोभिड-१९ ले अबको युग भनेको सूचनाप्रविधिको हो है भन्ने शिक्षा दिनुका साथै धेर-थोर निकाय, कार्यालय, व्यवसायीहरू सूचनाप्रविधिमैत्री बन्न झकझक्याएको छ । तसर्थ, हाम्रा सबै सरकारी निकाय, कार्यालयहरू, निजी क्षेत्रहरू ढिलोचाँडो सूचनाप्रविधिमैत्री हुनु नै छ, जति छिटो भयो त्यति राम्रो हो ।
कोभिड-१९ तथा ट्राफिक जामको विकराल अवस्थालाई मध्यनजर गर्दा धेरै भीड हुने कार्यालयहरू जस्तै यातायात व्यवस्था कार्यालय, हस्पिटल, त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय जस्ता धेरै भीडभाड हुने कार्यालयको सेवा प्रवाहमा सूचनाप्रविधिको प्रयोग गर्न सके भीडभाड कम हुनुका साथै ट्राफिक जाम घटाउन पनि सहयोग हुन्छ ।
हस्पिटलमा जाँदा, डाक्टरसँग भेट्न भन्दा लाइन बसेर टिकट काट्न धेरै समय खेर फाल्नु परिरहेको छ । कहिलेकाहीं त लाइनमा बस्यो बस्यो, अन्त्यमा टिकट नपाएको उदाहरण धेरै छन् ।
तसर्थ, भौतिक रूपमै उपस्थित नभई नहुने बाहेक, सबै सेवाहरू जस्तै टिकट लिने, दर्ता गर्ने लगायत धेरै कार्यलाई अनलाइन बनाउन सकिन्छ । अनलाइन प्रणालीमा दर्ता भएको समय अनुसार कार्यालय प्रमुख, डाक्टर आदि प्रमुख व्यक्ति भेट्न आइपुग्नुपर्ने अनुमानित समयहरू सूचनाप्रविधिको प्रयोग गरी सेवाग्राहीलाई पहिलै नै दिन सकिन्छ । यसले गर्दा सबैजना एकै समयमा नआई ट्राफिक जाम लगायतका भीडभाड कम गर्न सकिन्छ ।
अनलाइन प्रणाली निर्माण गरिसकेपछि, इ-गभर्न्यान्सको प्रचारप्रसार गर्न, अनलाइन पेमेन्टलाई प्रोत्साहन गर्न कार्यालयमै गएर टिकेट लिने, दर्ता गर्ने गर्दाभन्दा अनलाइनमा व्यक्ति स्वयंले गरे रिबेट/रिवाड्स अंक दिने, शुल्क कम लिने नीति समेत बनाउनुपर्छ । किनकि यसो गर्दा कार्यालयको जनशक्तिले अरु काम गर्न पाउँछन् । तर विडम्बना, हामी कर तिर्न पनि लाइन बस्न बाध्य छौं ।
४. सार्वजनिक यातायातको सुदृढीकरण
यदि हाम्रो सार्वजनिक यातायात विश्वासिलो र भरपर्दो भएको भए आपतकालीन अवस्थामा बाहेक धेरैजसो मान्छेहरू धूलो, धूवाँ खाँदै झरीमा रुझ्दै बाइक, स्कुटर प्रयोग गर्दैनथे फलस्वरूप सवारी जाम धेरै कम हुनेथियो ।
यदि माथि १/२ मा उल्लिखित उपायहरूले तत्काल जाम नघटेमा, केही अवधिको लागि सार्वजनिक सवारी, एम्बुलेन्स, विभिन्न निकाय/कार्यालयका कर्मचारीहरू बोक्ने ठूला-ठूला गाडी बाहेक सबै (सरकारी गाडी, निजी गाडी, ट्याक्सी, मोटरबाइक, स्कुटर आदि) सवारी साधनहरूलाई जोर-बिजोर प्रणालीमा सञ्चालन गर्ने नीति लागू गरेमा तत्काल सवारी जाम घटाउन सकिन्छ ।
यो अवधिमा दीर्घकालीन उपायहरूको विकास गर्न सकिन्छ । सार्वजनिक यातायातको सुदृढीकरण गर्न हाई अकुपेन्सी भेहिकलहरू भित्र्याउने, डेडिकेटेड बस लेन, बस र्यापिड ट्रान्जिट- बीआरटीहरू निर्माण गर्ने आदि गर्न सकिन्छ ।
५. पिक आवर ट्याक्स
माथि १ नम्बरमा उल्लिखित उपाय लागू गर्दा ट्रक, ट्रिपर लगायतका सवारी चालकहरूलाई मर्का पर्छ । तसर्थ, यो मर्काको समाधान गर्न दिन भर चल्ने सवारी लाई पिक आवर ट्याक्स लिने र ट्रक, ट्रिपरले तिर्ने करमा केही राहत दिने गर्न सकिन्छ ।
कति प्रतिशत लिने, कसरी लिने भन्नेबारे विज्ञसहितको टोली मार्फत छोटो अवधिको अध्ययन गरेर निर्धारण गर्नुपर्छ । आपतकालीन अवस्थामा अति व्यस्त समयको कर रसिद काटेर मात्रै ट्रक, टिपर, मालबाहक ट्रकलाई अति व्यस्त समयमा सञ्चालन हुन दिनुपर्छ ।
अब, प्रश्न उठ्न सक्छ कि के यसरी सम्भव होला त ? सम्भव त छ तर यसको लागि काठमाडौंको सवारी जामको विकराल स्थितिको महसूस गरी ट्राफिक जामलाई ट्राफिक प्रहरीको मात्र समस्या नभई हामी सबैको साझा समस्या हो भन्ने महसूस गरी म पनि यो समस्या समाधानमा केही योगदान गर्छु भन्ने भावनाको विकास हुनुपर्छ ।
लेखक सिभिल इन्जिनियर हुन् । उनी हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4