
नेपाली म्युजिक भिडियो बजार फराकिलो बनेको छ । निर्माताले त खासै फलिफाप गर्न नसकेपनि कलाकार, निर्देशक र प्राविधिकको जीवनमा भने भिडियोले ठूलै कायलपलट गरिदिएको छ । पहिलो चरणको लकडाउनपछि म्युजिक भिडियो निर्माणको संख्या गन्ने हो भने पनि, यो कुरा पुष्टी हुन्छ । पल शाह, सागर लम्साल, नाजिर हुसेन, आकाश श्रेष्ठ, पुष्प खड्का जस्ता पुरुष मोडल हुन् या स्वस्तिमा खड्का, आँचल शर्मा, पूजा शर्मा, वर्षा राउत, वर्षा सिवाकोटी, उषा उप्रेती, गरिमा शर्मा लगायतका महिला मोडल नै किन नहुन्, भिडियोमा व्यस्त छन् ।
तर भिडियोमा लगानी गर्ने अधिकांशले भने आफूलाई मेकर भन्दा पनि लगानीकर्ताको रुपमा मात्र प्रस्तुत गर्न सकेका छन् । ‘फूलबुट्टे सारी’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक गरेपछि एकाएक चर्चामा रहेको केन्द्र मोशन पिक्चर्सदेखि आफ्नै लगानीमा बले इन्टरटेन्मेन्ट खोलेका सागर लम्साल नै किन नहुन्, दर्शकको ध्यान खिच्न लागिपरेका छन् ।
अडियो शक्तिशाली भएन भने कलाकारका लागि लाखौं खर्चिए भने गीत चल्दैन भन्ने उदाहरण थुप्रै गीतले देखाइसकेका छन् । भिडियोमा सफल मानिएका कलाकार तथा मोडल सागर लम्साल पछिल्लो समयमा हिट गीतको रिमेक भर्सनमा लागेको देखिन्छ । उनले, गायक यश कुमारको सुपरहिट गीत ‘तिम्रो मन बदलिएछ’को रिमेक सार्वजनिक गरे । यो गीतले दर्शकको माया पायो । सागरलाई पनि यो गीतले राम्रो फाइदा दिएको छ । उनै, सागर फेरि गायक प्रमोद निर्वाणको सुपरहिट गीत ‘किन यसरी विना अर्थले’को रिमेक सार्वजनिक गर्ने तयारीमा छन् । यो गीतको टिजर सार्वजनिक भएको छ भने केही दिनमै पुरा भिडियो सार्वजनिक हुनेछ ।
सागर सुपरहिट गीतलाई एक पटक फेरि दर्शकमाझ ल्याउने दाउमा मात्र छैनन्, आफूलाई पनि यही क्षेत्रमा बलियो रुपमा उभ्याइराख्ने उपाय निकालिरहेका छन् । हिट गीतको रिमेक भर्सन निर्माण गर्नुको पछाडि उनको यही सोचले काम गरेको वुझ्न सकिन्छ ।
सागर मात्र होइन, म्युजिक भिडियोमा सर्वाधिक व्यस्त नायक पल शाहलाई पनि भिडियो नचलेर समस्या परेको छ । तर, बेलाबखत हिट गीतको फिमेल भर्सनमा अभिनय गरेर उनले आफ्नो क्रेजलाई कम हुन भने दिएका छैनन् । ‘फूलबुट्टे सारी, टाढा भएपनि, आँखामा आउने सपनी, तिम्रो मनमा ए कान्छी’ बोलको गीत यसैको उदाहरण हो । होइन भने, पल शाहले अभिनय गरेका थुप्रै गीतले भ्यूज नपाएर मेकरलाई ठूलै घाटा भएको प्रष्ट छ ।
पल र मोडल मलिका महत्तलाई फेरि केन्द्र मोशनले ‘लाखौं हजारौं’ बोलको गीतको फिमेल भर्सनमा प्रस्तुत गर्ने तयारी गरेको छ । यो गीतको भिडियो चाडै नै सार्वजनिक हुँदैछ । यूवेश थापाको स्वरमा समावेश यो गीत सुपरहिट भएको थियो । ‘तिम्रो मनमा ए कान्छी’ पछि पलले अभिनय गरेका गीतका भिडियोले भ्यूज नपाएको समयमा केन्द्र मोशनको यो गीतले पललाई राहत दिने विश्वास गर्न सकिन्छ ।
प्रतिक्रिया 4