+
+

ख्यास्स पुतली तीज गीतप्रति हाम्रो असहमति

नम्रता शर्मा र विष्णु बस्याल नम्रता शर्मा र विष्णु बस्याल
२०७८ भदौ २३ गते १९:१६

हरेक समाजमा मानिस आ–आफ्नो रीतिरिवाज, परम्परा, धर्म र आस्थामा जोडिएको हुन्छ । मानिसले आफ्नो दैनिक व्यवहार सहज बनाउने क्रममा समाजमा केही नीति, नियम, प्रथा परम्परा, चलन र व्यवहारहरू अनुसरण र समयअनुसार प्रथा, परम्परा र सामाजिक व्यवहार परिवर्तन र परिमार्जन पनि गर्छन् ।

नेपालकै सन्दर्भमा उदाहरण हेर्दा तीज अथवा करवा चौथलाई पनि लिन सकिन्छ । प्राय:जसो तीज वा करवा चौथलाई हिन्दू महिलाले पतिको आयु र परिवारको समृद्धिको लागि दिनभरि व्रत बसेर पूजा आराधना गर्ने चलन छ ।

हरेक वर्ष मनाउने तीज व्रतमा पनि समय अनुसार थुप्रै परिवर्तन नभएका होइनन् र तीज व्रतको सन्दर्भमा हरेक मानिसको आआफ्नै धारणा रहिआएको छ ।

कतिपय अधिकारवादीले तीजको व्रतले महिलामाथि विभेद गरेको, असमानतालाई निरन्तरता दिएको भन्ने आवाज उठाएका छन् भने धर्ममा आस्था राख्नेहरु तीज पर्वले परम्परा, धर्म र संस्कृतिको रक्षा गर्दै पति र लोकको समृद्धिको रक्षा गरेको दावा गर्छन् । स्वयं व्रत बस्ने महिला पनि पति र परिवारको सुख समृद्धिको लागि पूजा आराधना र दिनभरि व्रत बस्नुलाई सामान्य रुपमा लिन्छन् ।

परम्परादेखि नै तीजमा छोरीहरू माइती आउने र आफूले भोगेका व्यथालाई गीतको माध्यमबाट माइती र साथीसङ्गीमाझ सुनाउने चलन चलिआएको हो । यो परम्परालाई विष्णु माझीको गीत ‘चरी जेलैमा’ले प्रमाणित गरेको छ ।

दुर्गेश थापाको ‘ख्यास्स पुतली’ गीतले महिलामाथि प्रहार गरेको छ । ५२ प्रतिशत जनसङ्ख्यालाई अपमान गरेर तीजको नाउँमा जे पनि गर्ने छुट कसैलाई छैन ।

तीज पर्वको सन्दर्भमा महिलाको लागि पुरुषले पनि व्रत बस्नुपर्छ,  महिलाले मात्र किन व्रत बस्ने दुवैको सहभागिता हुनुपर्छ भन्ने आवाज पनि पछिल्लो समय उठ्न थालेको छ । यद्यपि ‘हामी पनि नाच्नुपर्छ बिच्चबिच्चमा’ भन्ने दुर्गेश थापाको गीतबाट महिलाहरूले मान्दै आएको पर्वमा घुसपैठ भएको भन्ने आवाज पनि नउठेको होइन ।

पुरुषले सहभागिता जनाउने नाउँमा महिलाको पहिरन लगाएर, महिलाको खानपान र महिलालाई अपमानित गर्नको लागि पक्कै पनि तीज पर्व आएको होइन । आज हामी हाम्रो धर्म र संस्कृतिलाई कतातिर लैजाँदैछौं र यसको गन्तव्य के हो भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ ।

तीजलाई महिलाहरूको राष्ट्रिय पर्वको रूपमा स्वीकार गरी नेपाल सरकारले महिलाहरूको स्वतन्त्रता र सम्मानलाई मान्यता दिएको छ । विभिन्न संघसंस्थाले तीज र महिला अधिकारको सन्दर्भमा भएका असमानतालाई जोडेर महिला उत्थानको सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराएका थुपै उदाहरण पनि छन् ।

तर आजभोलि महिलावादी आन्दोलनबाट प्राप्त महिला अधिकारको संरक्षण र सम्वर्द्धन भएका थुप्रै प्रगतिशील अभ्यासमाथि आक्रमण हुने र महिला सशक्तीकरणको अभियानलाई कमजोर बनाउने प्रयास भइरहेका छन् ।

तीजमा निराहार व्रत बसेर श्रीमानको आयु बढ्छ भन्ने अन्धविश्वास अझै पनि धेरैले गरेको देख्दा नेपालमा भएको महिलावादी र प्रगतिशील राजनैतिक आन्दोलन नै कतै ओझेलमा परेको हो कि भन्ने भान पनि पर्छ । व्रत बसेर पतिको आयु लामो हुने भए आज मुत्यु भएका व्यक्तिहरू पनि कसैको पति नै होलान् ।

यो वास्तवमा सत्य होइन । बरु नियमित कुनै बार व्रत लिनु स्वास्थ्यको दृष्टिले पनि महिला र पुरुष दुवैको लागि राम्रो मानिन्छ । विवाहको समयमा सातफेरो लिंदा सँगै बाँचौं, सँगै मरौं भन्ने वाचा गरेका पति-पत्नी दुवै बाँच्नुपर्दछ र दुवैका दीर्घायुको कामना गर्नुपर्दछ । तसर्थ, तीज पर्वको स्वरूपलाई परिवर्तन गर्नुपर्दछ । पत्नीले व्रत बस्दैमा पतिको आयु बढ्छ भन्ने विश्वासमा कुनै सत्यता छैन ।

आजभोलि विदेशी मुलुकमा इन्टरमिट्टेन्ट फास्टिङ भनेर खुब प्रचारप्रसार भइरहेको छ । यो त हिन्दू धर्माबलम्बीहरूको परापूर्वकालदेखिकै चलन हो । तर व्रत लिने काम महिलामाथि त्यो पनि श्रीमानको आयु लामो हुन्छ भनेर थोपर्नु गलत हो । महिलाहरू शिक्षित र व्यावसायिक हुँदै गएपछि तीज मनाउने चलनमा पनि विस्तारै परिवर्तन हुँदै आएको छ ।

धेरैले व्रत निराहार नराखेर फलफूल खाने, दूध, पानी पिउने र पूजा गरेर खाना खाने चलन पनि बढ्दैछ । हिजो पतिले र माइतीले पैसा दिएर लुगा र खाना खाने चलनमा परिवर्तन हुन थालेको छ । अहिले आफ्नो इच्छाले लुगा किनेर आफूलाई मन परेको खाना खाने र मनोरञ्जन गर्ने अभ्यासको थालनी हुन थालेको छ ।

आज महिलाले आफूखुशी आफ्नो खर्च गरी मनोरञ्जन गरेकोमा उनीहरूलाई अपशब्द बोली गीत वा अन्य कुनै माध्यमबाट महिलाहरूलाई बेइज्जती गर्नु भनेको नेपालको संविधान र त्यसैले पारित गरेको अधिकारको उल्लङ्घन गर्नु हो ।

दुर्गेश थापाको गीतले दिन खोजेको सन्देश

दुर्गेश थापाको ख्यास्स पुतली भन्ने तीजको गीतले नेपालको ५२ प्रतिशतभन्दा बढी जनसङ्ख्याको घोर अपमान, गाली, बेइज्जती र विभेद गरेको छ । याे गीत गाउने गायकहरूलाई नेपाल सरकार, महिला आयोग, महिला मन्त्रालय, सूचना आयोग, नेपाल प्रेस काउन्सिलले कारबाही गर्न जरूरी छ ।

वास्तवमा भन्ने हो भने यो गीतको विरोध त सबै नेपाली पुरुषले गर्नुपर्दछ । यसले केही नेपाली युवा पिंढीका पुरुषमा भएको सामन्ती र पितृसत्तात्मक सोचलाई निरन्तरता दिएको छ । यसमा ‘ख्यास्स पुतली’ ‘यत्रैसित्ति’ ‘पोइल गएका’ महिला लक्षित भाषा तथा शब्दको प्रयोग गरिएको छ ।

गीतमा समाजले अभद्र भनी औंल्याएका शब्दहरूको प्रयोग गरिनुका साथै नेपालको कानूनले वर्जित गरेको शब्द पोइलको प्रयोग गरिएको छ । गीतमा श्रीमान श्रीमतीको व्यवहारको गलत प्रस्तुति पनि गरिएको छ । अधिकारको प्रयोगको विषयलाई बङ्ग्याएर महिलालाई होच्याउने शब्दको प्रयोग, अमर्यादित सांकेतिक प्रदर्शन गरेर महिला अस्मितामा आघात पुर्‍याउन खोजेको छ ।

गीतमा आफ्नी श्रीमती र उनका आमा बुबामाथि लाञ्छना लगाउने र महिलाले सम्बन्धविच्छेद हुँदाको सम्पत्तिको अधिकारलाई गलत रूपमा व्याख्या गरिएको छ । गीतका प्रत्येक शब्द शब्दले महिलाको अपमान गरेका छन् । त्यसैले नेपालका हरेक स्वाभिमानी पुरुषले पनि यस गीतको विरोध गर्न जरुरी छ ।

दुर्गेश थापाको गीतमा आकर्षित हुने कानूनहरू

नेपालको संविधानको प्रस्तावनामा लैङ्गिक विभेदको अन्त्य गर्दै सामाजिक न्याय सुनिश्चित गर्ने संकल्प गरिएको छ । संविधानको धारा १७ मा ‘प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने’ अधिकारको प्रत्याभूति गरिएको छ । संविधानको धारा १९ मा ‘विभिन्न धर्म वा सम्प्रदायबीचको सम्बन्धमा खलल पार्ने, गाली बेइज्जती एवम् लैङ्गिक विभेद हुनेगरी’ सूचना प्रवाह गर्न नपाइने उल्लेख गरिएको छ ।

प्रत्येक व्यक्तिलाई आफ्नो धर्म अनुसरण गर्दा सार्वजनिक, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने वा सार्वजनिक शान्ति भङ्ग वा अन्य क्रियाकलाप गर्न नहुने विषय उल्लेख गरिएको छ । त्यस्तै कुनै पनि व्यक्तिको जीउ, आवास र चरित्रसम्बन्धी विषयको गोपनीयताको संरक्षण हुने भनी उल्लेख छ ।

कुनै पनि धर्म, प्रथा, परम्परा, संस्कार, प्रचलन तथा अन्य कुनै पनि आधारमा कसैलाई पनि शोषण गर्न पाइने छैन भनी स्पष्ट रूपमा संविधानमा मौलिक हकअन्तर्गत राखिएको छ ।

नेपालमा बस्ने प्रत्येक नेपालीको संस्कृति, सभ्यता र सम्पदाको संरक्षण गर्ने हक हुनेछ । संविधानको धारा ३८(३) ‘महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानूनबमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानूनबमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने उल्लेख गरिएको छ ।

त्यसैगरी संविधानको धारा ४८ मा ‘संविधान र कानूनको पालना गर्नु हरेक नागरिकको अधिकार हुनेछ’ भन्ने उल्लेख गरिएको छ । मुलुकी देवानीसंहिता-२०७४ को सामान्य सिद्धान्तमा सार्वजनिक हित विपरीत हुनेगरी कुनै काम गर्न नहुने, कसैको इज्जत प्रतिष्ठामा आघात हुनेगरी कुनै काम गर्न वा गराउन नहुने । कसैको आकृति वा तस्वीर खिचेर सार्वजनिक गर्न नहुने उल्लेख छ । (मुलुकी देवानीसंहिता २०७४ दफा २१)

मुलुकी फौजदारी अपराध संहितामा सार्वजनिक हित, स्वास्थ्य र नैतिकता विरुद्धको कसुर अन्तर्गत कसैले सार्वजनिक रुपमा चरित्रहीन बनाउने वा अरु कुनै वस्तु बनाउन र मुद्रण गर्न वा विद्युतीय सञ्चारमाध्यमबाट प्रचारप्रसार गराउन नहुने उल्लेख छ ।

दफा १२१ (क) मा कसैले लेखेर, वचनले वा आकार वा चिन्हद्वारा वा अरु कुनै किसिमबाट कुनै जात, जाति सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्‍याउन हुँदैन पनि प्रष्ट उल्लेख गरेको छ ।

यसरी संविधान र कानूनले प्रष्टरूपमा कुनै पनि धर्म वा मनोरञ्जन गर्ने नाममा कसैको पनि आत्मसम्मानमा चोट पुर्‍याउन नहुने र सो कार्य अपराधजन्य हुने भन्ने प्रष्ट उल्लेख गरेको छ ।

यसरी संविधानले प्रत्येक व्यक्तिको मान, मर्यादा र प्रतिष्ठाको विषयलाई व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको अवस्थामा संविधानको उपहास गर्दै दुर्गेश थापाको यो तीज गीतले आम महिला अधिकारमा प्रहार गरेको छ । यस्तो अधिकार संविधान र कानूनले कसैलाई दिएको छैन ।

पर्वलाई पर्वको रूपमा मनाउनु पर्दछ । ५२ प्रतिशत जनसंख्यालाई अपमान गरेर तीजको नाउँमा जे पनि गर्ने छुट कसैलाई छैन । अन्त्यमा सम्पूर्ण दिदीबहिनीलाई तीजको उपलक्ष्यमा समृद्धि र सुस्वास्थ्यको कामना गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?