+
+
Shares

तीज : ‘परम्परा’को अन्ध अनुसरण कि नारी सशक्तीकरण ?

रमेश गौतम रमेश गौतम
२०७८ भदौ २४ गते ९:००

कोरोनाको कहरबीच चाड-पर्वहरू शुरु भएका छन् । तीजको रौनक शुरु भएको छ । संसारभर लाखौंको ज्यान लिएको कोरोना महामारीले पोहोर जस्तै यो साल पनि पर्वका उत्सवबाट रङ्गहरू खोसेको छ । आफ्नो नजिकको परिवारका सदस्य गुमाउनेका लागि यी पर्व नुन-चुक भएर आउने छन् । आशा गरौं- अरूहरूका लागि पर्वको गतिशीलताले आफ्ना अनेक पीडाहरू बिर्सन मद्दत गर्नेछ ।

विशेषगरी हिन्दू नारीहरूको पर्वका रूपमा मनाइने तीजले नेपाली समाजमा अनेक प्रकारका बहसलाई समेत जन्म दिएको छ । यस्ता बहसहरू तीज मनाइने अरू ठाउँहरूमा पनि हुने गरेका छन् । तर तीजले प्रत्येक वर्ष लिएर आउने रौनक हेर्दा विविध बहसबीच पनि यसको ‘लोकप्रियता’ बढिरहेको आभास हुन्छ ।

नेपाली समाजमा तीजको संस्कृतिसँग जोडिएको एउटा साधारण पौराणिक कथा प्रचलित छ । यो कथाले भन्छ- सत्ययुगमा हिमालयकी छोरी भगवती पार्वतीले भगवान् महादेवलाई पतिको रूपमा पाऊँ भनी हरितालिका तीजको कठिन व्रत बसेकी थिइन् । यस व्रतपछि पार्वतीको प्रेम र समर्पणबाट प्रभावित भएका महादेवले उनलाई पत्नीको रूपमा स्वीकारे ।

यही मिथकलाई आधार मानेर हिन्दू नारीहरूले तीज मनाउन; व्रत बस्न थाले। विवाहित नारीहरू पानी समेत नपिई चौबीस घण्टासम्म आफूले राख्ने कठोर व्रत र महादेवको पूजा-आराधनाले आफ्नो पतिको स्वास्थ्य राम्रो र आयु लामो हुने कुरामा विश्वास गर्दछन् । त्यस्तै अविवाहित नारीहरूले व्रत बस्दा र महादेवको आराधना गर्दा भविष्यमा राम्रो पति प्राप्त हुन्छ भनिन्छ ।

तीजसँग सम्बन्धित अरू धेरै पक्ष छन् जो सार्वजनिक डोमेनमा त्यति धेरै उजागर भएका छैनन् । यससँग सम्बन्धित सांस्कृतिक, सामाजिक, मानवशास्त्रीय, आर्थिक अनि मनोवैज्ञानिक पाटाहरू सीमित अनुसन्धानका दायराभित्र कुँजिएका छन् ।

नेपाली समाजमा तीजसँग सम्बन्धित खासगरी तीन प्रकारका विचारधारा विद्यमान छन् । पहिलो विचारधाराले तीजलाई धार्मिक “कर्तव्य” को रूपमा परिभाषित गर्दछ । सयौं वर्षदेखि नारीहरूले मनाउँदै आएको यस पर्वलाई नि:सन्देह संस्कारको रूपमा स्वीकार्छ । यो विचारधारा अङ्गीकार गर्ने नारीहरू ‘परम्परा’ले अह्राएको कुरा चुपचाप पालना गर्छन् । उनीहरू ‘पतिदेव’ को सुस्वास्थ्य, समृद्धि र दीर्घ जीवनको कामना गरेर निराहार व्रत बस्छन् ।

श्रीमान् जस्तोसुकै भए पनि उसलाई भगवानको रूपमा स्वीकार्छन् । उसका गोडा ढोग्छन् । गोडा धुन्छन् र त्यही पानी खान्छन् । उनीहरू सम्झन्छन्- यसरी श्रीमानप्रति समर्पित हुँदा श्रीमान-श्रीमतीबीचको सम्बन्ध सुमधुर हुन्छ । यो सम्बन्ध सुमधुर बनाउन श्रीमानको कस्तो भूमिका हुनुपर्छ भन्ने कुरामा खासै चिन्ता गर्दैनन् । उनीहरू शास्त्रले उल्लेख गरेको नारी शरीरका जैविक कमजोरीहरूका बारेमा कुनै प्रश्न गर्दैनन् ।

महीनावारीको ‘पाप’ पखाल्न पञ्चमी नुहाउँछन्, पूजा लगाउँछन् र अब ‘पवित्र’ भएँ भन्ने सम्झन्छन् । परम्परावादी पुरुषहरूले यही परम्परामा सहीछाप नगर्ने कुरै भएन । सामाजिक सञ्जालहरूमा आउने गरेका विचारहरू अनि विभिन्न अनलाइन माध्यममा प्रकाशित आलेखहरूमा आउने प्रतिक्रिया हेर्दा अधिकांश पुरुषहरू आफू आफ्नो संस्कार-परम्परा पालना गरुन्/नगरुन्, नारीहरूले परम्परागत शैलीमा तीज मनाइदिऊन् भन्ने चाहना राख्छन् भन्ने देखिन्छ ।

दोस्रो विचारधाराले तीजको परम्परालाई पितृसत्ताको दमनको रूपमा परिभाषित गर्छ र तीजको विरोध गर्छ; तीजलाई बहिष्कार गर्छ । यो विचारधारा अङ्गीकार गर्ने अधिकांश महिला अधिकारवादी र नारी समानताका अभियन्ताहरू तीज मनाउनुलाई त्यही दमन स्वीकार्नु सम्झन्छन्; अझ त्यही दमनलाई बढावा दिनु सम्झन्छन् ।

उनीहरू ‘किन नारीले मात्र समर्पणका साथ पुरुषलाई सम्मान गर्नुपर्ने, पुरुषको आराधना गर्नुपर्ने ?’ भनी प्रश्न गर्छन् । उनीहरू खुट्टाको पानी खाने चलनलाई ‘नो’ भन्छन् । उनीहरूको बुझाइमा तीजका नियमहरू स्थापित गर्ने प्रक्रियामा नारीहरूको कुनै सहभागिता थिएन । धर्मका अरू सबै नियम जस्तै तीजको संस्कार पनि नारीहरूलाई आफ्नो नियन्त्रणमा राखिराख्न पुरुषहरूले निर्माण गरेको एउटा प्रपञ्च हो ।

अनुसन्धाता डा. बिसिका थापा आफ्नो लेख ‘तीज: परम्परा कि आघात’मा प्रश्न गर्छिन्, ‘पुरुषले एउटी असल पत्नी पाउन समान प्रकारको कठोरता पार गर्नुपरेका कहानी वा परम्परा कहाँ छन् ?’ यस पङ्क्तिमा उभिने अभियन्ताहरू परिवर्तनका निम्ति निकै कट्टरपन्थी विचार समेत व्यक्त गर्छन् ।

पोहोर साल दिल्लीकी पत्रकार सुष्मिता सिन्हाले हरितालिका तीज कथाको किताब देखाउँदै आफूलाई उक्त रद्दी किताबको कुनै प्रयोजन नभएकाले उक्त किताबलाई आफूले ट्वाइलेट पेपर वा टिस्यु पेपरको रूपमा प्रयोग गर्न सोचेको बताएको सन्दर्भलाई उदाहरणको रूपमा लिन सकिन्छ ।

दक्षिणएशियाका सबै देशले कमजोर प्रदर्शन गरिरहेको विश्व लैङ्गिक दूरी सूचकाङ्कमा नेपालले क्षेत्रीय रूपमा हासिल गरेको दोस्रो स्थानलाई लिएर हामीले केही सन्तोषको सास त फेरौंला र भनौंला- ‘कुनै कुराको विकास रातारात सम्भव हुँदैन ।’ तर, समानताको यो रथ यही गतिमा अघि बढ्ने हो भने असमानताको यो खाडल पुर्न झन्डै २०० वर्ष लाग्ने आकलन गरिएको छ ।

यी त भए दुई ध्रुवीकृत विचारधाराहरू। तीजसँग सम्बन्धित तेस्रो विचारधारा अलिक मध्यमार्गी लाग्छ । यस विचारधाराले तीज मनाउनुलाई नारी सशक्तीकरणसँग जोडेर हेर्छ । यो विचारधारा अङ्गीकार गर्नेहरू तीजलाई पुनर्मिलन र उल्लासको पर्वको रूपमा मनाउँछन् । आफन्तहरूसँग भेट्नु, केही पार्टी र मनोरञ्जनपूर्ण क्रियाकलापमा सरिक हुनु आफैंमा राम्रो कुरा हो । परिवर्तित समयसँगै धेरै नारीहरूका लागि तीज केवल नारीत्वको उत्सव मनाउने पर्व मात्र रहेन; यो मनोरञ्जन गर्ने पर्व हो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत लैङ्गिक अध्ययनकी शिक्षिका मीरा मिश्रले देखे जस्तै बढ्दो शहरीकरण, आप्रवास र आर्थिक अवसरसँगै नारीहरूले पराधीनतालाई चुनौती दिंदैछन् र नारीत्वको जड परिभाषा परिवर्तित हुँदैछ । तीजमा नारीहरू मानव जीवनका यस्तै अनेक पाटाहरू मुखरित गर्ने विविध प्रकारका गीतहरू गाउँछन्, नाँच्छन् । यसरी तीजमा गाइने गीतहरूमा केवल नारीका विरहका धुन गुन्जँदैनन्; यी गीतहरूमा विमतिका स्वरहरू हुन्छन्, विद्रोहका बुलन्द आवाज हुन्छन् । यी गीतहरूले सामाजिक बेमेल, बेथिति, विकृतिका विरुद्ध वकालत गरेका हुन्छन् । यी गीतका झङ्कारहरूमा राजनैतिक चेतना प्रतिध्वनित हुने गर्छ ।

मुलुकले झेल्दै गरेको दुर्दशापूर्ण अवस्था, गलत राजनीति, बेरोजगारी, भ्रष्टाचार, ग्रामीण जीवनको विकटता आदि एकसाथ उजागर हुने गर्छन् यी गीतहरूमा । यसरी हेर्दा सचेतना मार्फत नारी सशक्तीकरणमा तीज पर्वको ठूलो भूमिका छ भन्ने कुरालाई नजरअन्दाज गर्न सकिन्न ।

तर यो तटस्थ देखिन खोज्ने विचारधाराले मनोरञ्जन गर्ने र उत्सव मनाउने नाममा विकृतिहरूलाई प्रश्रय दिएको गुनासाहरू पनि सुनिन्छन् । खासगरी शहरिया हुनेखाने महिलाहरूको भड्किलो किनमेल, पार्टी प्यालेसहरूमा महीनौंसम्म चल्ने तीजका भोजहरू, महङ्गा उपहार आदान-प्रदान आदिले गर्दा तीजको मौलिकता हराउँदै गएको चिन्ता व्यक्त हुन थालेको छ । यस्तो विचार राख्ने कतिपय मानिसहरू तीजलाई उही सांस्कृतिक पर्वको रूपमा मनाउनुपर्ने जिकिर गर्छन् । नारीवादीहरू यस्तो आशयमा पुरुष सत्ताभित्र छिपेको पुरुष मनोकाङ्क्षाको गन्ध भेट्छन् ।

तीजलाई नारीहरूको पर्व भनिए पनि असमान संस्कारको विकासले तिनै नारीहरू मारमा पर्ने गरेका छन् । उदाहरणका लागि छोरीको विवाहको पहिलो वर्ष आमाले छोरीकी सासूलाई प्रदान गर्ने खाना तथा लुगाका भड्किला उपहारलाई लिन सकिन्छ। भलै यस्ता उपहारहरू साधारण नै किन नहुन्, तीजलाई यस्ता उपहारहरू प्रदान गर्ने अवसरको रूपमा विकास गर्दै लगियो भने यही संस्कार धेरै बुहारीहरूका लागि प्रत्युत्पादक सावित हुन सक्छ।

लैङ्गिक असमानता: हार्न बाध्य बनाइने प्रतिस्पर्धामा नारी

यस आलेखको अब उप्रान्त छलफल गरिने खण्डमा हामी मध्यमार्गी बाटो अवलम्बन गरौं र तीजलाई सुन्दा मीठो लाग्ने नारी सशक्तीकरणको पर्वको रूपमा स्वीकारौं । के हो नारी सशक्तीकरण ? कसरी प्राप्त हुन्छ यो ? महिलाहरूका लागि राष्ट्रसङ्घीय विकास कोष र राष्ट्रसङ्घीय ग्लोबल कम्प्याक्टले नारी सशक्तीकरणका लागि सातवटा सिद्धान्त अघि सारेका छन् । नेतृत्व, समानता, सुरक्षा, सिकाइ, पारदर्शिता, समुदाय र बजार व्यवस्थापन/सहकार्य यी सात सिद्धान्तका आधारशिला हुन् । नारी सशक्तीकरणको सिद्धान्तले यी सातै क्षेत्रमा नारीहरूको भेदभावरहित समान उपस्थिति, समावेशीकरण, आत्मसम्मान र पहिचानको परिकल्पना गर्दछ।

हाम्रो समाजले नारी समानताका हकमा जहिल्यै द्वैध-चरित्र देखाउने गरेको छ । यो समाज एकातिर यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः (जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्) भन्छ । अर्कोतिर नारी अस्तित्वको पूजा गर्ने त परको कुरा भयो, नारीमाथि दमन गरिरहन्छ । यो समाज एकातिर नारी-पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् भन्छ, अर्कोतिर नारीलाई कमजोर सम्झन्छ; कमजोर बनाउँछ

हाम्रो परिप्रेक्ष्यमा नारी सशक्तीकरणको सवालमा हामी कहाँ छौं ? विश्व आर्थिक मञ्चले १५६ देशहरू समावेश गरेर मार्च २०२१ मा प्रकाशित गरेको विश्व लैङ्गिक दूरी रिपोर्टमा नेपाललाई १०६औं स्थानमा सूचीकृत गरेको छ । यस सूचकाङ्कमा नेपालले राजनैतिक सशक्तीकरणमा ६१औं स्थान, आर्थिक सहभागिता र अवसरमा १०७औं स्थान, स्वास्थ्य र जीवन रक्षामा ११३औं स्थान र शैक्षिक उपलब्धिमा १३४औं स्थान हासिल गरेको छ ।

दक्षिणएशियाका सबै देशले कमजोर प्रदर्शन गरिरहेको विश्व लैङ्गिक दूरी सूचकाङ्कमा नेपालले क्षेत्रीय रूपमा हासिल गरेको दोस्रो स्थानलाई लिएर हामीले केही सन्तोषको सास त फेरौंला र भनौंला- ‘कुनै कुराको विकास रातारात सम्भव हुँदैन ।’ तर, समानताको यो रथ यही गतिमा अघि बढ्ने हो भने असमानताको यो खाडल पुर्न झन्डै २०० वर्ष लाग्ने आकलन गरिएको छ ।

आर्थिक सहभागिता र अवसरमा विश्वव्यापी रूपमा १०७औं स्थानमा खुम्चिएको नेपाल क्षेत्रीय हिसाबमा दक्षिणएशियाको च्याम्पियन हो । तर ८५ प्रतिशतभन्दा धेरै नेपाली महिला (विश्वव्यापी ५ औं स्थान) श्रम बजारमा सहभागी हुँदासमेत उनीहरूले समान प्रकारका कामका लागि असमान ज्याला पाउने गरेका छन् ।

राष्ट्रिय योजना आयोगले प्रकाशित गरेको नेपाल श्रम शक्ति सर्वेक्षण २०१७/१८ को रिपोर्टले महिलाहरूको मासिक औसत आय पुरुषको भन्दा ५ हजार ८३४ रुपैयाँ कम हुने गरेको देखाएको छ । यो असमानता सबै प्रकारका जागिरहरूमा व्याप्त छ । उदाहरणका लागि पुरुष प्रबन्धकले भन्दा महिला प्रबन्धकले मासिक ४ हजार ८२० रुपैयाँ कम कमाउने गरेका छन् ।

स्वास्थ्य र जीवन रक्षाको पहुँचमा नेपाली नारीहरूको दुरूहता स्पष्ट देखिन्छ । महिलाहरूको जीवनस्तर उकास्न मातृ मृत्युदर, आमाको जीवन रक्षाका लागि गरिनुपर्ने सुरक्षित गर्भपतनमा महिलाको पहुँच, प्रसूतिमा दक्ष जनशक्तिको सीमितता आदि क्षेत्रमा व्यापक सुधार गरिनुपर्दछ।

पछिल्ला वर्षहरूमा महिला विरुद्ध हुने घरेलु हिंसा चिन्ताजनक रूपमा बढेका छन् । ग्लोबल हेल्थ एक्सनमा पोहोर साल प्रकाशित एउटा अनुसन्धानले धेरै नेपाली पुरुषहरूले परिवारमा अनुशासन कायम राख्न र आफ्नो पुरुषत्व देखाउन महिला विरुद्ध हिंसा गर्ने गरेको देखाएको छ । यो साह्रै दुखलाग्दो अवस्था हो ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार ४८ प्रतिशत नेपाली महिलाहरूले जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा अनुभव गरेको बताएका छन् भने यस्तो हिंसा अनुभव गर्ने ६१ प्रतिशत महिलाहरूले यस्तो हिंसाका बारेमा कहिल्यै कसैलाई सुनाउँदैनन् । केवल १३ प्रतिशत महिलालाई घरेलु हिंसाका विरुद्ध कानूनी उपचार खोज्न सकिन्छ भन्ने जानकारी छ ।

ग्लोबल हेल्थ एक्सनमा प्रकाशित अर्को एउटा अनुसन्धानले गर्भवती महिलाहरूले छोरो जन्माउन दबाब झेल्नुपर्ने, पर्याप्त खान नपाउने, गर्भावस्थामा कडा शारीरिक श्रम गर्न बाध्य पारिने र यस्ता कुराहरूलाई सामान्य मानिने देखाएको छ ।

त्यस्तै शैक्षिक समानताको क्षेत्रमा यो खाडल झनै ठूलो छ। नेपालमा महिला साक्षरता दर ५९.७ प्रतिशत छ । स-साना बालबच्चाको शैक्षिक गतिविधिमा सहज सहभागिता विना शैक्षिक असमानताको अन्त्य केवल मीठो सपना ठहर्छ । नेपालमा प्राथमिक तहको शैक्षिक असमानताको दूरी ८७ प्रतिशत मात्र समाप्त भएको छ ।

यो सङ्ख्या पाकिस्तान बाहेकका दक्षिण एशियाली देशहरूमा ९८ प्रतिशत छ । कक्षाका तहहरू बढ्दै जाँदा महिला विद्यार्थीहरू स्कूल छोड्न बाध्य हुने दुखद स्थिति अझै कायमै छ । परिवारको कमजोर आर्थिक अवस्था र छोराहरूले शिक्षामा पाउने प्राथमिकता, उमेर नपुगी हुने विवाह, लैङ्गिक विभेद र हिंसा आदिका कारण महिला विद्यार्थीहरूको उच्च शिक्षाको पहुँच फितलो हुने गरेको छ।

एसियन डेभ्लोप्मेन्ट रिभ्युमा प्रकाशित एउटा अनुसन्धानले ग्रामीण तथा शहरी दुवै क्षेत्रका अभिभावकहरूले छोरीको भन्दा छोराको शिक्षामा बढी लगानी गर्ने गरेको देखाएको छ । एकथरी मानिसहरू नेपालको शिक्षा प्रणालीले नै पनि लैङ्गिक असमानतामा बल पुर्‍याउने गरेको तर्क समेत गर्छन् ।

मानौं महिला र पुरुष दुवै निकै माथि रहेका आफ्ना लक्ष्यमा पुग्ने सिंढी चढ्न तयार भएर उभिएका छन् । जब हामी महिलाको सिंढीबाट समानताका खुट्किलाहरू भत्काइदिन्छौं वा कमजोर बनाइदिन्छौं, ती सिंढीका संरचना समान रहँदैनन्; महिला र पुरुषका सिंढीहरू यहाँ चित्रमा देखाइए जस्तै देखिन्छन् । यी सबै प्रतिकूलताहरू मूल्याङ्कन गर्दा लाग्छ महिलाहरू आफूलाई जहिल्यै हार्न बाध्य बनाइने प्रतिस्पर्धामा सहभागी भइरहेका छन् ।

पुरुष पहिचान: पितृसत्ताको निर्विकल्प उत्तराधिकारी, अवचेतन उत्पीडक वा सहअस्तित्वको हिमायत ?

माथि उल्लिखित धेरै कुरा त अनुसन्धान र तथ्याङ्कबाट आएका हुन् । त्यस्ता कति धेरै कुरा हुन्छन् जो सङ्ख्यामा मापन गर्न सकिन्न; जसको कुनै लिखित नियम हुँदैन । हाम्रो समाजमा यस्ता धेरै कुराहरू छन् जसका कारण महिलाहरू थाहा नै नपाई विभेदको शिकार हुन्छन्; पुरुषहरू थाहा नै नपाई विभेदकारी भइदिन्छन् ।

हाम्रो समाजले नारी समानताका हकमा जहिल्यै द्वैध-चरित्र देखाउने गरेको छ । यो समाज एकातिर यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः (जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवता रमाउँछन्) भन्छ । अर्कोतिर नारी अस्तित्वको पूजा गर्ने त परको कुरा भयो, नारीमाथि दमन गरिरहन्छ । यो समाज एकातिर नारी-पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् भन्छ, अर्कोतिर नारीलाई कमजोर सम्झन्छ; कमजोर बनाउँछ । यो समाज महीनावारी भएका छोरी-बुहारीलाई भान्सामा केही छुनुहुँदैन भन्छ, बाहिर घाँस दाउरा गर्न पठाउँछ । गाउँघरका आमाहरूको आवाजमा सुनिने विरक्तिपूर्ण छोरीको जन्म हारेको कर्म ले छोरीले जुनसुकै प्रकारको विभेद पनि चुपचाप सहिरहनुपर्छ भन्ने मिथकको निर्माण गर्दैन र ?

परिवार समाजको सबैभन्दा सानो इकाइ हो । नारी सशक्तीकरणको कार्य परिवारबाटै शुरु हुन सकेन भने खासगरी पश्चिमा विशेषज्ञहरूको विचार मन्थनबाट प्रतिपादित सिद्धान्तहरूमा टेकेर नारी सशक्तीकरण हुन्छ भनेर विश्वास गर्नु केवल दिवास्वप्न हुन्छ । कति घरहरू होलान् जहाँ छोरा र छोरीले फरक नियमको पालना गर्छन् ? कति घरहरू होलान् जहाँ छोराले अनेक प्रकारका छुट पाउँछन्, छोरीले अनुशासनको घेरा भित्र बस्नुपर्छ ? कति बाबाहरू होलान् जसले आफ्ना छोराहरूलाई श्रीमती ल्याएपछि उनीसँग राम्रो व्यवहार गर्नुपर्छ भनेर सिकाउँछन्, जसरी आमाहरूले छोरीलाई घर गरिखान सिकाएका हुन्छन् ? कति आमाहरू होलान् जसले छोरा र छोरीबीच थाहै नपाई विभेदपूर्ण व्यवहार गरिरहेका हुन्छन् ?

हामीलाई समाजमा स्थापित यस्तै अलिखित नियमहरूले अवचेतन रूपमै विभेदकारी बनाइरहेका हुन्छन् । हामी ‘लोग्नेमान्छे’ हरूलाई आफू जस्तै दिनभरि बाहिर जागिरमा खटेर आएकी श्रीमती घर छिर्ने बित्तिकै भान्सामा व्यस्त भएको देख्दा असहज महसूस हुँदैन; हाम्रो चेतनाले उनलाई सघाउनुपर्छ भन्दैन । खाना खाइसकेपछि उनलाई सर-सफाइमा सहयोग गर्नु त परको कुरा, आफूले खाएको थाल समेत खाएकै ठाउँमा छोडेर हिंड्दा हामीलाई नराम्रो लाग्दैन ।

कति नारीहरू होलान् जो बिहान पतिको ‘सेवा’ गरेर दिनभरि तीजका पार्टीहरूमा सरिक हुन्छन्, आफ्ना विरह र विद्रोह पोख्छन्, समानताका पक्षमा स्वर उराल्छन् अनि बेलुका तिनै पतिको ‘सेवा’मा उपस्थित हुन्छन् ?

हामी ‘लोग्नेमान्छे’हरू भर्खरै विवाह गरेर ल्याएकी श्रीमतीलाई आफ्ना कोर्ट, पेन्ट, सर्ट र अन्य भित्री लुगाहरू धुन लगाउँदा (धुन दिंदा) कुनै अप्ठ्यारो महसूस गर्दैनौं । शायद हामी यी सबै कुरालाई आफ्नो ‘अधिकार’ सम्झन्छौं । समाजले लामो समयदेखि निश्चित गरिदिएका यी अलिखित नियमहरूलाई हाम्रा श्रीमतीहरूले आफूमा समाहित गरेका हुन्छन् । कति धेरैले यो कुरा विभेदपूर्ण हो भनेर सम्झन सम्म भ्याउँदैनन्; सम्झन चाहँदैनन् । शायद हाम्रा श्रीमतीहरू यी सबै कुरालाई आफ्नो ‘कर्तव्य’ सम्झन्छन् र चुपचाप पालना गरिरहन्छन् । हामीले कहिल्यै सोचेका छौं नेपालमा महिलाहरूले प्रत्येक दिन २६८ मिनेट (झन्डै साढे ४ घण्टा) अवैतनिक काम गर्छन् भनेर ?

एक दिन वा एक हप्ता वा बढीमा एक महिना नारीहरूले गीत गाएर नाँच्दा र मनोरञ्जन गर्दा सशक्तीकरणमा कति टेवा पुग्छ यसै भन्न सकिन्न । कति नारीहरू होलान् जो बिहान पतिको ‘सेवा’ गरेर दिनभरि तीजका पार्टीहरूमा सरिक हुन्छन्, आफ्ना विरह र विद्रोह पोख्छन्, समानताका पक्षमा स्वर उराल्छन् अनि बेलुका तिनै पतिको ‘सेवा’मा उपस्थित हुन्छन् ?

हामी कसरी आफू समान अर्को मानव अस्तित्वलाई गोडामा झुकाउन सक्छौं ? हामी कसरी आफ्नो गोडा धोएको पानी आफ्नो समान अस्तित्व भएको अर्को मान्छेलाई खान दिन सक्छौं ? हामी एउटै घरमा कसरी एउटा पूजित र अर्को पूजक, एउटा भगवान र अर्को भक्त मिलेर सहअस्तित्वको निर्माण गर्न सक्छौं ? हाम्रा बच्चाहरूले घरमा जे भइरहेको छ, त्यही देख्छन् । जे देख्छन् त्यही सिक्छन् । नत्र भोलि तपाईं हाम्रा बच्चाले भवसागर घिमिरेले भने जस्तै ‘माइ मदर कुक्स फुड’, ‘माइ फादर इज रिडिङ अ बुक’ लेख्नेछन् ।

यदि हामी पुरुषहरू भोलि आफ्नी छोरीले कुनै प्रकारको भेदभाव/दमन चुपचाप नसहिदेओस् भन्ने चाहन्छौं भने पितृसत्ताको उत्तराधिकार त्यागिदिऊँ, अवचेतन अवस्थाको उत्पीडक नबनौं । सहअस्तित्वको पुजारी बनौं । घरबाट विभेदको अन्त्य गरिदिऊँ र आफ्नी श्रीमतीसँग साथी बनौं सृजना पोख्रेलले भने जस्तै। तपाईं नारीहरू भोलि आफ्नो छोरो थाहा नै नपाई पितृसत्ताको उत्तराधिकारी नबनोस् भन्ने चाहनुहुन्छ भने घरमा सहअस्तित्वको निर्माण गर्नुहोस्; विभेदको अन्त्य गरिदिनुस् र आफ्नो श्रीमानसँग साथी बन्नुहोस् ।

यस महामारीले गर्दा पहिल्यैदेखि कमजोर अवस्थामा रहेका महिलाहरूको स्थिति विविध कारण झन् जटिल बन्दै गएको छ । हामी यो जटिलता बुझ्न सकौं । नारी विभेदका अवशेषहरूलाई पखालेर हामी तीजलाई नारी सशक्तीकरणको पर्वको रूपमा मनाऊँ । हाम्रा आमाहरू, हाम्रा श्रीमतीहरू, हाम्रा दिदी-बहिनीहरू, हाम्रा छोरीहरू वर्षमा एक दिन गाऊन्, नाँचुन् र मनोरञ्जन गरून् । वर्षका बाँकी सबै दिनहरू तीजमय बनून्; नारी सशक्तीकरणका आरतीहरू गुञ्जिऊन् । हाम्रा घरहरूबाट असमानताको अन्त्य होस् ।

तीजको हामी सबैलाई हार्दिक मङ्गलमय शुभकामना !

(गौतम युनिभर्सिटी अफ स्टाभाङ्गर, नर्वेमा विद्यावारिधि गर्दैछन् )

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?