+
+

तीजको नाममा विकृति र कोरोना नफैलाऔं

अनुशा थापा अनुशा थापा
२०७८ भदौ २४ गते १५:१२

साउन लागेसँगै चाडपर्वको ओइरो लागेको छ । यो समय चाडपर्व मनाउनको लागि हाम्रा दिदीबहिनी, दाजुभाइ आ–आफ्नो आफन्तकोमा पुग्छन् । सधैं झैं अहिले पनि तीजको रमझम देखिएको छ । माइतीले आफ्ना छोरीचेली माइती बोलाएका छन् ।

पहिले पहिले भए तीज मान्नको लागि दिदीबहिनीलाई लिन दाजुभाइ आफैं आइपुग्थे । अहिले त फोनको चलनचल्ती आइसकेको छ, जसको कारण चेली लिन जाने हाम्रो मौलिकतामा केही कमी आएको जस्तो देखिन्छ । त्यतिखेर तीजको महत्व नै अर्कै थियो । छोरीचेलीले मनाउने चाडपर्वको रूपमा तीजलाई लिइन्थ्यो ।

अहिले त पुरुषहरू पनि तीज मनाउन थालेका छन् । हुने खानेले तीज आउन महीनौं दिन बाँकी हुँदाखेरि नै दर खान थालिसकेका हुन्छन् । हुँदा खाने पनि अरूको देखासिकी गर्न खोजिरहेका हुन्छन् । घरमा जे छ त्यही खाएर तीज मनाउनुको सट्टा पार्टी प्यालेसमा गएर लाखौं खर्च गर्ने अभ्यास संस्कृति बन्ने जोखिम बढिरहेको छ ।

आरम्भमा महिलाहरूले वर्षौंभरि भोगेको दुःख, पीडा, कष्ट बिसाउने पर्वको रूपमा तीजलाई लिइन्थ्यो । नेपाली महिलाहरूको महत्वपूर्ण चाडको रूपमा लिइन्थ्यो । आफ्नै भाकामा बनेको गीतहरू सुन्दा निकै नै रमाइलो लाग्थ्यो । घरमा जे छ त्यही पकाएर, बाँडीचुँडी खाँदाको अनुभूति नै बेग्लै हुन्थ्यो ।

अहिले तीजको नाममा यत्रो विकृति फैलिएको छ । महङ्गा गरगहना लगाएर, लाखौंको सारी लगाएर, पार्टी–प्यालेसमा गएर उफ्रेको देख्दा यो तीज नै हो र ? भन्ने कतिको मनमा प्रश्न जन्मिन सक्छ । दरखाने नाममा हातमा वाइनको गिलास लिएर हल्लिएकासम्म भेटिन्छन् ।

केही वर्षयता बजारमा आएका तीजका गीतहरू एकदमै उत्ताउला खालका छन् । तीजको गीत भनेर सुन्दै लाज लाग्ने गीतको निर्माण भएको छ । तीजको नाममा विकृति मात्र फैलिएको छ । तीज मनाउने नाममा सांसददेखि राजनीतिक दलहरू समेत पार्टी प्यालेसमा कम्मर मर्काउन पुगिरहेका दृश्यहरू सामाजिक सञ्जालमा भेटिन्छन् ।

कलाकारहरूको त कुरै छोडौं । उनीहरू नजाने त कुरै भएन । कोरोनाको कहर कायमै रहँदा समेत यसरी भीडभाड गरी सांसदहरू नै तीज मनाउन पुग्दा राम्रो सन्देश पनि गइरहेको छैन र नतिजा पनि नराम्रो आउन सक्छ । कलाकार र सांसदहरू आफू त नाँचेका छन्, अरुलाई पनि भेला गरी नचाइरहेका छन् । यस्तो लाग्छ– विश्वमा कोभिड महामारी भन्ने केही चिज बाँकी छैन ।

हुँदा खाने पनि अरूको देखासिकी गर्न खोजिरहेका हुन्छन् । घरमा जे छ त्यही खाएर तीज मनाउनुको सट्टा पार्टी प्यालेसमा गएर लाखौं खर्च गर्ने अभ्यास संस्कृति बन्ने जोखिम बढिरहेको छ ।

 

तीजको लागि भनेर सयौं म्युजिक भिडियो, गीत संगीतहरू बजारमा आएका छन् । नाममात्रको गीत छ, कतिपय गीतले हाम्रो समाजमा विकृति मात्र फैलाएको छ । आफ्नो संस्कृति, मर्यादालाई लात हानेर तडकभडकपूर्ण गीत निकालेका छन् ।

चाडपर्व रमाइलोको लागि मनाइन्छ । आफ्नो दुःख–पीडा कम गर्ने महत्वपूर्ण माध्यमको रूपमा हरेक चाडपर्वलाई लिइन्छ । चाडपर्व खुशियालीको प्रतीक हो । चाडपर्व भित्रिंदा हामीमा छुट्टै किसिमको हर्ष देखापर्छ । स–साना केटाकेटीदेखि लिएर ठूल्ठूला मानिसहरू समेत निकै उत्साहित हुन्छन् ।

चाडपर्व सबैले मनाउँछन् । टन्न आम्दानी हुने र खर्च गर्न सक्नेले हरेक चाडपर्व टन्न खर्च गरेर मनाउलान् । आम्दानीको स्रोत ठीकै हुनेले आफूले जति सक्छन् त्यति नै खर्च गरेर चाडपर्व मनाउँछन् । तर चाडपर्व चाहिं सबैले मनाउँछन् नै । पैसा हुनेलाई सधैं नै चाडपर्व हो । नहुनेलाई वर्षमा एक–दुई चोटि चाडपर्व आउँछ ।
नेपालमा ७७ वटै जिल्लामा कति यस्ता मान्छेहरू छन् जसले खान नपाएर पेटमा पटुका कसेर बस्नुपरेको छ । भोक लागे पनि एकछाक खानलाई धौ–धौ छ । सडकमा मागेर खाने पनि यत्तिकै छन् । तर यिनीतिर कसैको आँखा जाँदैन । न सरकारको न त सर्वसाधारणको ।

यसरी बाटोमा मागेर खाने र आर्थिक स्थिति कमजोर हुनेलाई चाडपर्वको अर्थ नै थाहा छैन । काम पाएर दुईछाक खान पाए चाडपर्व लागेभन्दा बढी हुन्छ । जे छ त्यसमै रमाउन सिकेका छन् ।

हरेक आमाबुवा आफ्नो घर आउँदा खुशी हुन्छन् । चेलीबेटी पनि आफ्नो जन्मथलो जान पाउँदा निकै खुशी हुन्छन् । तर कोरोनाको जोखिम अझै पनि कम भएको छैन भनी सबैले बुझ्न जरूरी छ । यसरी भीडभाड गर्दै आफ्नो गर्दै हिंड्ने हो भने कोरोनाको संक्रमित दर र मृत्यृदर अझै बढ्ने अवस्था रहेको छ ।

भीडभाड गरेका छन् तर कोरोनाको परीक्षण कसैले पनि गरेका छैनन् । एक जनालाई मात्र कोरोना रहेछ भने त्यत्रो भीडलाई नै कोरोना लाग्ने निश्चित छ । चाडपर्व पनि परिस्थिति र अवस्था हेरेर मात्र मनाउनुपर्छ । नभए त नाँच्न नजान्ने आँगन टेडो भने जस्तो हुँदैन र ?

त्यसैले घरमा बसेर परिस्थिति हेरेर आ-आफ्नै घरमा मनोरञ्जन गर्नुपर्छ । मनोरञ्जन गर्नलाई सबै गाउँटोललाई नै जम्मा गर्नुपर्छ भन्ने छैन । आफ्नै घरका सदस्य मिलेर विभिन्न परिकार बनाएर खाँदा पनि भइहाल्छ ।

नेपाल सरकारले कोरोनाको जोखिम नहट्दै पार्टी प्यालेस र मठमन्दिर सञ्चालनको अनुमति दिएको छ । केबुलकारहरू पनि सञ्चालनमा आइसकेका छन् । कसैले पनि स्वास्थ्य मापदण्डको पालना गरेजस्तो देखिंदैन । मन्दिरमा दर्शन गर्न जानेहरूको भीड पनि यत्तिकै छ । न मुखमा मास्क छ न त हातमा पञ्जा । सामाजिक दूरीको त कुरै छोडौं ।

एउटा जिल्लाका मान्छेहरू कोभिड परीक्षण नगरी अर्को जिल्ला पुगेका छन् । सार्वजनिक यातायातमा यात्रुको भीड पनि त्यत्तिकै छ । आफूसँगै अरूलाई पनि कोरोनाको जोखिममा पारिदिएका छन् । चाडपर्व भन्दै मरणपर्व निम्त्याएका छन् । घरमा बालबच्चा हुन सक्छन् । बूढाबूढी बाबुआमा हुन सक्छन् ।

उनीहरूलाई समेत कोभिड फैलाउने काम भइरहेको छ । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयले जनता बचाउनको लागि बनाएको नियम कसैले पनि पालना गरेका छैनन् । अर्कोतिर अनुगमन पनि शून्य छ । आफ्नो ज्यानभन्दा ठूलो चाडपर्व हुँदैन । चाडपर्व यो वर्ष नभए अर्को वर्ष मनाउन मिल्छ ।

तर ज्यान नै गयो भने चाडपर्व कसले मनाउँछ । कोरोनाको जोखिम बढ्दो छ । सबैले आ–आफ्नो ठाउँबाट सरकारलाई सहयोग गर्नुपर्ने हो । चाडबाडको नाममा दुर्घटना नहोस् भनेर साझा जीवन र साझा विचारलाई मान्यता दिऔं । आफ्नो घरमा जे छ त्यही खाएर त्यसमै खुशी भएर चाडपर्व मनाऔं ।

यस्तो बेलामा आफू पनि सुरक्षित हुनुपर्छ भने अरूलाई नि सुरक्षित बनाउनुपर्छ । एकजनाको लापरबाहीले पूरै घर, टोल र समाज नै कोरोनाको चपेटामा पर्न सक्छ । परिस्थिति कस्तो छ त्यसलाई बिर्सिनुहँुदैन । नाँच्नु छ त आफ्नै घरमा नाँचौं, गाऔं तर तीज भन्दैमा भीडभाड गर्न जरूरी छैन ।

एकजना आफू सतर्क हुने हो भने उसले सयौं मान्छेलाई कोरोनाको जोखिमबाट बचाउन सक्छ । देशको एउटा जिम्मेवार नागरिक भइसकेपछि देश र जनताको हितमा काम गर्नुपर्छ । देश र जनताको लागि हामीले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ ।

कोरोनाको महामारी कायमै रहँदा सरकारले पनि मठ-मन्दिर सञ्चालन गर्न दिएर ठूलो गल्ती गरेको छ । सबै क्षेत्रमा निषेधाज्ञा हटिसकेको छ । जसको कारण कोभिडले भयानक रूप लिन सक्ने विज्ञहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?