+
+

म्याग्दीमा बिरामीको उपचार गर्न हेलिकप्टर चार्टर्ड

रासस रासस
२०७८ भदौ २४ गते १८:०८

२४ भदौ, काठमाडौं । गण्डकी प्रदेशको राजधानी पोखरासँग धवलागिरिका चार जिल्लाको सडक यातायात सम्पर्कबिच्छेद भएपछि जटिल अवस्थाका बिरामीलाई हेलिकप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको छ ।

मध्यपहाडी लोकमार्गको पोखरा-बागलुङअन्तर्गत पर्वतको डिमुवाबाट चुवाखण्डमा गत साता गएको पहिराले सडक अवरुद्ध बनाएपछि गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टर चार्टर्ड गरेर अस्पताल पुर्‍याउने गरिएको हो ।

भिरबाट लडेर घाइते भएका मालिका गाउँपालिका-६ दरबाङका राहुल आचार्यलाई बुधबार हेलिकप्टरबाट पोखरा लगिएको थियो । बेनी अस्पतालले पोखरा सिफारिस गरेकी एक गर्भवतीलाई पनि हेलिकप्टरबाट नै लगिएको थियो ।

सिन्धुलीमा निधन भएकी बेनी नगरपालिका-७ की तारादेवी गिरीको शव दाहसंस्कारका लागि बेनी ल्याउन हेलिकप्टर चार्टर्ड गरिएको परिवारका सदस्यले बताएका छन् । सडक अवरुद्ध हुँदा गम्भीर अवस्थाका बिरामीलाई धवलागिरि क्षेत्र बाहिरका अस्पताल पुर्‍याउन हेलिकप्टर चार्टर्ड गर्नुपरेको बेनीका अनोद श्रेष्ठले बताए । ।

म्याग्दीमा बिरामी लैजान बुधबार र मङ्गलबार चार/चार पटक हेलिकप्टरको प्रयोग गरिएको थियो । म्याग्दीबाट पोखरा पुग्न एकपटक हेलिकप्टर चार्टर्ड गर्दा न्यूनतम रु एक लाख २० हजार खर्च गर्नुपर्छ । पहिरामा परेर पर्वतमा ११ जनाको मृत्यु भएको थियो ।

पर्वत खण्डको बिभिन्न ठाउँमा पहिराले विद्युत्, सडक र सञ्चारसँग सम्बन्धित पूर्वाधारमा ठूलो क्षति पुगेको छ । टावर ढलेपछि म्याग्दीको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, पाँच मेगावाट क्षमताको घलेम्दीखोला, १३.६ मेगावाट क्षमताको थापाखोला र १० मेगावाटको मोदी–१ जलविद्युत् आयोजना बन्द हुँदा करोडौँको नोक्सानी भएको छ ।

सडक अवरुद्ध हुँदा बजार क्षेत्रमा तरकारी, निर्माण र इन्धनको अभाव भएको छ । म्याग्दीको लेकाली क्षेत्रमा उत्पादन भएको आलु सडक अभावका कारण पोखरालगायत सहरमा बिक्री गर्न लैजान सकिएको छैन ।

इन्धन अभावका कारण सार्वजनिक यातायात र विकास आयोजना प्रभावित भएका छन् । म्याग्दीमा छवटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । चालु अवस्थामा रहेका बेनी–जोमसोम, बेनी–दरबाङ, मालढुङ्गा–बेनी सडक आयोजना पनि प्रभावित भएका छन् ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले चट्टानसहितको पहिरो र भासिएर अवरुद्ध बनेको सडक मर्मतको काम अन्तिम चरणमा पुगेको जनाएको छ । मोदीको पातीचौरबाट कुश्मातर्फ दुई, कुश्माबाट पातीचौरतर्फ दुई र बीचमा एकवटा स्काभेटर परिचालन गरेर सडक मर्मत भइरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?