+
+

महिला फुटबल : मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हरायाे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १८:५९

२४ भदाै, काठमाडौं । दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गाेल समेत गरेपछि नेपालकाे महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलाे मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेकाे छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गाेल गरे । सात नयाँ अनुहार समेट्दै टिम बनाएका प्रशिक्षक ग्यारी फिलिप्सले  बंगलादेशविरुद्धको बिहीबारको खेलमा ४ खेलाडीलाई डेब्यु गराएका थिए ।

घरेलु मैदान र दर्शककाे अगाडि नेपालले २३ मिनेटभित्र नै दुई गाेल गरेकाे थियाे । टिमका मुख्य स्ट्राइकर सावित्रा भण्डारी चाेटका कारण मैदान बाहिर रहेकाेले सबिता रानाले अग्रपंतिमा पहिलाे राेजाइमा खेलेकी थिइन् । सबितासंगै १६ वर्षीय प्रितीले पनि अग्रपंतिमै खेलेकी थिइन् ।

खेलकाे १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चाैधरीकाे पासमा गाेल गर्दै नेपाललाई अग्रता दिलाइन् । विमलाले उपलब्ध गराएकाे क्रसमा सबिताले पेनाल्टी एरिया भित्रबाट हेडर गाेल गरिन् ।

२३ औं मिनेटमा अर्का डेब्युटान्ट प्रिती राईले सरु लिम्बुकाे पासमा गाेल गर्दै नेपालकाे अग्रता दाेब्बर पारिन् । सरुले मैदानकाे मध्यभाग नजिकबाट उपलब्ध गराएकाे पासमा प्रितीले अफसाइड ट्रयाप बिट गर्दै गाेल गरेकी हुन् ।

दाेस्राे हाफमा नेपालले सुरुमै गाेल गर्ने अवसर गुमायाे । ४९ औं मिनेटमा सरु लिम्बुकाे पासमा प्रिती राईले पेनाल्टी एरियाभित्रबाट गरेकाे प्रहार बंगलादेशी गाेलकिपर रुपना चक्माले बचाइन् । दाेसाे हाफमा नेपाली खेलाडीमा फिटनेसमा समस्या देखियाे । नेपालले फिनिसिङमा राम्राे गर्न सकेन ।

बंगलादेशका लागि ताेहुरा खातुनले ८३ औं मिनेटमा सान्त्वना गाेल गरिन् ।

नेपालका लागि सिर्जना सिंहले ८१ औं मिनेटमा र रश्मी कुमारी घिसिङ ८६ औं मिनेटमा मैदान प्रवेश गरेर खेलमा डेब्यु गरे । नेपाल र बंगलादेशबीच दाेस्राे मैत्रीपूर्ण खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment