+
+
संस्कृति :

चन्द्रपूजाको पारम्परिक विधान : चौठचन्द्र

रामभरोस कापडि ‘भ्रमर’ रामभरोस कापडि ‘भ्रमर’
२०७८ भदौ २५ गते ११:१५

अहिलेको तीजको चर्चा सबैतिर भैरहेको छ । नेपालमा तीज महिलाहरूको पारम्परिक पर्व हो, जसमा शिव आराधनाका साथ लोकव्यवहार अनुकूल गीत, नृत्यद्वारा मनोरञ्जन पनि गरिन्छ । यद्यपि अब यो तीज एक महीना पूर्वदेखि नै गरिने र आ–आफ्नो सामर्थ्य अनुसार लुगाफाटा, गरगहना लगाएर सामूहिक गीत–नृत्य, पूजा–अर्चना कार्यक्रममा जाने गरिन्छ । यो तडक–भडकले अचेल आलोचना पनि खेप्नु परिरहेको छ ।

सामर्थ्यहीन महिलाहरू एउटै समाजमा हीनताबोध साथ पर्व मनाउनु उचित हुन्छ त ? महिला अधिकार र जागरणको प्रतीकको रूपमा तीजलाई परिभाषित गर्नेहरू यसमा हुने तडक–भडकलाई नियन्त्रित गरेर सामाजिक सद्भाव र समन्वयका साथ यो पर्व मनाउन वातावरण बनाउन सक्नुपर्दछ ।

नेपालीभाषी समुदायमा मनाइने तीजको एकदिन पछि मिथिलाञ्चलमा ‘चौठचन्द्र’ पर्व मनाइन्छ । हाम्रो संस्कृतिमा सम्पूर्ण सृष्टिलाई आफ्नो प्रकाशबाट अनुप्राणित गर्ने दुई जीवित देवता ‘सूर्य’ र ‘चन्द्रमा’को यथासमय पूजा गर्ने परम्परा रहेको छ । अन्य देवतालाई वेद, पुराण र ग्रन्थहरूको आधारमा पूजा गर्दछौं भने यी दुई देवता सम्पूर्ण मानव, पशु, जीवजन्तुहरूका लागि प्रत्यक्ष रूपमा देखिन्छन् र प्रभावित गर्दछन् ।

रामभरोस कापडि ‘भ्रमर’

यसै क्रममा चन्द्रमाको पूजा गर्ने विधान नै ‘चौठचन्द्र’ वा ‘चौरचन’ हो । मिथिलामा जति पनि पर्व तिहारहरू छन् त्यसमा समरसता हुन्छ र ती सबै कृषिकर्ममा आधारित हुन्छन् । कतै न कतै कृषि पेशासँग जोडिएका हुन्छन् । अत्यन्त सहज रूपमा पूजासामग्री सङ्कलन गर्न सकिने, के राजा, के रङ्क सबैले समान रूपमा पूजा–अर्चना गर्न सकिने परम्परागत पर्व यहाँको विशेषता हो ।

चौठचन्द्र पर्वमा पनि आफ्नै खेतको चामल, गहुँबाट बनेको पीठोले पुरी, चामलबाट खीर, घरकै गाई अथवा भैंसीको दही, करेसाबारीमा फलेका फलफूल तथा खिरा, मकै, निबू, आलु–गोभी, भान्टा आदिका तरकारी र ओलको चटनी । कुनै पनि सामग्री जुटाउन परेसानी हुँदैन । सहज र स्वाभाविक चन्द्रपूजाको परम्परा ।

पूजा विधान

यो पर्व भाद्र शुक्लपक्षको चौथी तिथिमा मनाइन्छ । त्यसले यसलाई चौठचन्द्र पनि भनिन्छ । ब्रत बस्ने ब्रतालु महिला दिनभरि निराहार बसी साँझपख चन्द्रमा उदय हुनु अगाडि दिनमा पवित्रताका साथ बनाइएका पूजा र अन्य सामग्री आँगनमा अरिपन बनाई सबै सामग्री माटोको भाँडामा सजाएर राख्दछन् । यसमा परिवारका अन्य सदस्यहरूले पनि सहयोग गर्दछन् । कलशमा दियो बलिरहेको हुन्छ र एकलोटा जल त्यहाँ राखिएको हुन्छ ।

जब चन्द्रमाको उदय हुन्छ, सर्वप्रथम ब्रतालु महिला हातमा कुनै फल (खासगरी खिराको बढी प्रचलन हुन्छ) लिएर चन्द्रमाको दर्शन गर्दछन् र आफ्नो मनमा रहेका सङ्कल्प र आराधनाको मनमनै स्मरण गर्दछन् । त्यसपछि घरका अन्य सदस्यहरू त्यसैगरी फलसहित दर्शन गर्दछन् । सबैले दर्शन गरिसकेपछि ब्रतालु महिला लोटाको जलले सबै सामग्री सिक्त गरिसकेपछि पूजाको अन्त्य हुन्छ । प्रत्येक परिवारमा घरदेवताको पूजा गर्ने प्रचलन हुन्छ । यस पर्वमा पनि एउटा पूजा सामग्री केराको पातमा सजाइएर घरदेवतालाई चढाइएको हुन्छ । तर त्यो प्रसाद भने घरका छोरा–नातिले मात्र खान पाउँछन्, अरूलाई भने वर्जित गरिएको हुन्छ ।

फल लिएर दर्शन गर्नुको कारण

हाम्रा पर्व तिहार लोकपरम्परामा आधारित रहे पनि त्यसको कतै न कतै धार्मिक महत्व पनि हुन्छ । हाम्रा धार्मिक ग्रन्थहरूले प्रत्येक पर्वको औचित्यलाई निर्देश गरेको छ । चन्द्रमालाई खाली हात नदेख्नुमा एउटा प्राचीन कथाको प्रसङ्ग छ । जसमा श्रीकृष्णलाई कलंक लाग्दा चन्द्रमालाई फलफूल लिएर दर्शन गर्नुपर्ने विधान बन्यो ।

श्रीमद्भावगतकै कथाको आधारमा चन्द्र दर्शनको मन्त्र पनि दिइएको छ–

“सिंहः प्रसेनमबधीत् सिंहो जाम्ववताहतः ।

सुकुमारक ! मारोदी–स्तबहयेष स्यमन्तकः ।।”

यो मन्त्रको उच्चारण सामान्यतः महिलाहरूद्वारा सम्भव हुने गरेको छैन । आजदेखि पाँचसय वर्षभन्दा पूर्व मिथिलाञ्चलका कृषि ज्योतिष डाकले भनेका छन्– ‘काशी, कुशी चौठीचान, आब की रोपबह धान किसान ।’ अर्थात् चतुर्थीको चाँद देखिसकेपछि अब धानको रोपाईं के गर्ने ? वास्तवमा त्यतिबेलासम्म धान रोपिसकिएको हुन्छ ।

कथा यस्तो छ– द्वापरमा द्वारिकापुरीमा सत्रजीत नाउँका एक गरीब यादवले सूर्य भगवानलाई कठोर आराधना गरेपछि एउटा उत्कृष्ट मणि प्राप्त गरे जसको नाउँ थियो– स्यमन्तक । विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट प्रत्येक दिन बीस मन सुन ती यादवले पाउन थाले । केही दिनमै उनी ठूलो धनी भए । उसको चर्चा सम्पूर्ण राज्यमा हुन लाग्यो ।

एकदिन राजा उग्रसेनको दरबारमा मणि लगाएर नै सत्रजीत पुगेछन् । त्यहीं रहेका श्रीकृष्णले उक्त मणि राजालाई दिन अनुरोध गरे तर यादवले घरमा विचार गर्छु भनी त्यहाँबाट घर आए । घरमा उनका भाइ प्रसेनजीतले मणि लिएर केही सैनिक साथ विकट जङ्गलमा गई लुके । तर त्यहाँ एउटा सिंहले प्रसेनजीतलाई खाएछ । त्यसै ठाउँमा एउटा गुफा थियो, जसमा जाम्बवान नाउँको एउटा भालु बस्दथ्यो । उसले त्यस सिंहलाई मारेर मणि लिई आफ्नो गुफामा पसिहाले । सैनिक प्रसेनजीत खोजेर थाकिसकेपछि राजदरबार फर्के र राजालाई सबै कथा भने । राजालाई श्रीकृष्णमाथि शंका लाग्यो– उनले मणिको लोभमा प्रसेनजीतलाई मारेको होला कि !

आफूमाथिको शंका निवारणार्थ श्रीकृष्ण केही सैनिक लिएर त्यही जंगलमा पुगे । खोजबीन भएर पनि कतै पत्ता नलागेपछि एउटा गुफामा प्रवेश गरे । त्यहाँ पसेको दश दिनसम्म श्रीकृष्ण नआउँदा सैनिकहरू निराश र दुःखी हुँदै द्वारिका फर्के । यो समाचारले राजमहलदेखि श्रीकृष्णका परिवारजनमा निकै दुःखको सञ्चार गर्‍यो।

आजै भाद्र शुक्ल चतुर्थीका दिन श्रीकृष्ण स्यमन्तक मणि लाएर जाम्बवानकी छोरी जाम्बवतीलाई लिएर द्वारिका आए । उनले जाम्बवानसँग सत्ताइस दिनसम्म युद्ध गरेको जानकारी दिनुभयो र मणि र जाम्बवती प्राप्तिको कथा सुनाउनुभयो । सबै प्रसन्न भए । त्यसैको स्मरणार्थ ‘चौठचन्द्र’ पर्व मनाइने प्रचलन आयो । श्रीकृष्णमाथि लागेको कलंक (आरोप) आजैको दिन हटेकोले यो पर्वको आध्यात्मिक महत्व छ ।

ब्रह्मपुराणमा वर्णन भए अनुसार भगवान विष्णुमाथि कुनै लोकापवाद आउँदा आजैको दिन चन्द्रमाको अमृत किरण जालमा लुक्नु भएकोले आजको चन्द्रमा नहेर्न भनिएको छ–

“नारायणेऽमिशप्तस्तु सुधाकर मरीचिषु

स्थितश्चतुत्र्या मद्यापि मनुष्याणां पतिश्च सः

अतश्चतुत्र्या चन्द्रं तु प्रमादाद् वीक्ष्य संयतः ।

पठेद् धात्रेयिका वाक्यं प्राङमुखो वाप्युदङमुखः ।।”

– (ब्रह्मपुराण)

एउटा अर्को प्राचीन कथा अनुसार एकचोटि गणेशको स्थूल र हात्तीको मुख देखेर चन्द्रमा हाँसिदिएका थिए । यसमा गणेशजी क्रूद्ध भएर श्राप दिनु भो– ‘जो तिमीलाई हेर्नेछन्, कलंक लाग्नेछ ।’ पछि चन्द्रमा श्रापबाट मुक्त हुन ब्रह्माकहाँ गए, ब्रह्माले गणेशकै आराधना गर्न भने । अन्ततः गणेशको पूजा गरेपछि चन्द्रमा श्रापमुक्त भए । यही व्रत आजको चौठचन्द्र ब्रत हो जसलाई ‘गणेश चौठ’ पनि भनिन्छ ।

आजको सन्दर्भ

आजको मेशिनरी जीवनपद्धतिमा पर्व–तिहार क्रमशः ओझेलमा पर्दै गइरहेका छन् । तर पनि छठ, दीपावली, होली, चौठचन्द्र, नयाँ वर्षको जूडशीतल जस्ता पर्वले सामाजिक जीवनका अंगको रूपमा निरन्तरता पाइरहेका छन् । आफ्नो संस्कृतिसँगको यो जूडावले मानिसलाई आफ्नो अस्तित्वप्रतिको आस्था बढाउँछ । अन्य पर्वहरूमा झैं यसमा पनि मिथिलाञ्चलमा कुनै तडक–भडक हुँदैन, मात्र श्रद्धा र भक्तिपूर्वक आराधनाको प्रक्रिया हुन्छ । यही नै हाम्रो विशिष्टता हो, उच्च आदर्श हो ।

यस पर्वमा पनि एक–अर्कालाई बोलाएर खुवाउने गरिन्छ । भ्रातृत्व र सद्भावको प्रतीक रहेका यस्ता चाडपर्वहरू हाम्रा मौलिक पहिचान हुन् र यो निरन्तर जारी रहनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?