+
+
ओली भर्सेस देउवा सरकार :

बजेटको आकार घट्यो, आर्थिक वृद्धिदरको लक्ष्य बढ्यो

रोयल आचार्य रोयल आचार्य
२०७८ भदौ २५ गते २१:५५

२५ भदौ, काठमाडौं । सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरेको छ । अर्थसम्बन्धी अध्योदशहरुलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएका छन् । आर्थिक वृद्धिको लक्ष्य भने ०.५ प्रतिशत बढाइएको छ ।

अर्थमन्त्री शर्माले बजेटको आकार घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका छन् । यसअघि १५ जेठमा अध्यादेशमार्फत बजेट ल्याएका तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

बजेटमा आम्दानी तथा खर्चको अनुमान समेत संशोधन गरिएको छ । चालुतर्फका लागि ६ खर्ब ७७ अर्ब १९ करोड (४१.४२) रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसअघि चालुतर्फ संघले खर्च गर्ने ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

पुँजीगततर्फ विनियोजन गरिएको खर्च बढाएको छ भने वित्तीय व्यवस्थापन तर्फको खर्च घटाएको छ । ओली सरकारले विनियोजन गरेको पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ७ अर्ब ९७ करोडमा संशोधन गर्दै पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड (२३.१६) र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६०) रुपैयाँ बजेट कायम गरिएको छ ।

यस्तै प्रदेश/स्थानीय तहलाई वित्तीय हस्तान्तरणतर्फ जाने बजेटलाई सरकारले थोरै बढाएको छ । ओली नेतृत्वको सरकारले ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेकोमा यसलाई संशोधन गरेर ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ बनाएको छ ।

३७ अर्ब ऋण घट्यो

सरकारले बजेटको स्रोत व्यवस्थापनतर्फ पनि हेरफेर गरेको छ । अर्थमन्त्री शर्माको बजेट वक्तव्यअनुसार राजस्वबाट १० खर्ब ५० अर्ब ८३ करोड रुपैयाँ संकलन हुने अनुमान गरिएको छ । यो अघिल्लो सरकारको लक्ष्यभन्दा बढी हो । ओली सरकारले राजस्वबाट १० खर्ब २४ अर्ब ९० करोड रुपैयाँ उठाउने लक्ष्य राखेको थियो ।

यस्तै वैदेशिक अनुदान ५९ अर्ब ९२ करोड रुपैयाँ व्यवस्थापन हुने अनुमान गरिएको छ, जुन अघिल्लो सरकारले ६३ अर्ब ३७ करोड रुपैयाँ अनुमान गरेको थियो ।

 

राजस्व वैदेशिक अनुदानबाट व्यवस्थापन हुने रकममा ५ खर्ब २२ अर्ब ९ करोड रुपैयाँ बजेट अपुग हुन्छ । यसका लागि वैदेशिक ऋण २ खर्ब ८३ अर्ब ९ करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब बजेटको जोहो हुने अर्थमन्त्री शर्माले बताए ।

जबकि अघिल्लो सरकारले वैदेशिक ऋणबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब रुपैया जोहो गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वृद्धिदरको लक्ष्य बढ्यो

सरकारले आर्थिक वृद्धिदरको लक्ष्य पनि संशोधन गरेको छ । अर्थमन्त्री शर्माले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सुनाए । आगामी चैतभित्र सबै नेपालीलाई कोरोना विरुद्धको खोप लगाइने भएकाले आर्थिक क्रियाकलाप विस्तार हुने अर्थमन्त्री शर्माले बताएका छन् ।

अघिल्लो सरकारले भने ६.५ आर्थिक वृद्धिदरको लक्ष्य हासिल हुनसक्ने बताएको थियो । मुद्रा स्फितिमा भने संशोधन भएको छैन । अघिल्लो सरकारले गरेको मुद्रास्फिति दर ६.५ प्रतिशतमा सीमित हुने अनुमानलाई यो सरकारले निरन्तरता दिएको छ ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?