+
+

नेपाल पनि निपा भाइरस संक्रमणको जोखिममा !

प्रेम लामा प्रेम लामा
२०७८ भदौ २५ गते २०:३५

२५ भदौ, काठमाडौं । निपा भाइरसको संक्रमण फैलन नदिन नेपालमा पूर्वतयारी थालिएको छ । यो रोगको जोखिम नेपालमा पनि रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी स्वरुप देशभरका अस्पतालहरुलाई ‘अलर्ट’ हुन बिहीबार निर्देशन दियो ।

रोगको यकिन निदान नहुँदै वा तीव्र रुपमा बिरामीको स्वास्थ्य अवस्था बिग्रँदै गएमा वा मृत्यु भएमा त्यस्ता बिरामीहरुको विस्तृत विवरण लिई प्रयोगशालाको समन्वयमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यथाशीघ्र पठाउने व्यवस्था मिलाउन अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको हो ।

भारतको केरलामा भेटिएको निपा भाइरसको संक्रमणको अवस्थाबारे छलफल गर्दै मन्त्रालयले त्यस्ता केसहरु देखा परेमा विस्तृत विवरणसहित परीक्षणका लागि संकलित नमुना टेकुमा पठाउन अस्पतालहरुलाई निर्देशन दिएको थियो ।

केरलामा यो भाइरसबाट गत आइतबार १२ वर्षीय एक बालकको मृत्यु भएको थियो । केरलाको स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका बालकको क्लोज कन्ट्याक्टमा रहेका १८ र संक्रमण सरेको हुन सक्ने सम्भावना भएका १५० भन्दा धेरैलाई क्वारेन्टिन राखेर नमुना परीक्षण गरियो । तर सबैको निपा परीक्षण नेगेटिभ आएको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शंकास्पद बिरामीहरुको नमुना परीक्षणका लागि प्रयोगशालासम्म ल्याउने मेकानिज पनि मन्त्रालयसँग रहेको बताए ।

डा. पौडेलका अनुसार देशभरका जिल्ला, प्रदेश, एवं केन्द्रीय गरी ११८ वटा अर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनेल साइट/अस्पतालहरु छन् ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो भाइरस विशेषगरी ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो भाइरसले चमेरोलाई केही असर गर्दैन, तर मानिसमा सजिलै सर्न सक्छ ।

जोखिम कति छ ? यसबारे के भन्छ मन्त्रालय ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. पौडेल निपा भाइरसको संक्रमण नेपालमा देखा परिनसकेको बताउँछन् ।

‘नेपालमा यसको संक्रमण देखा परिसकेको छैन । तर जोखिम चाहिँ छ । चमेरा, सुङ्गुर लगायतका जनावरबाट यो संक्रमण सर्छ । त्यसैले यसलाई जुनोटिक डिजिज पनि भनिन्छ,’ डा. पौडेलले भने, ‘यसको संक्रमण नेपालमा पनि देखिन सक्छ भनेर अलर्ट गराएका हौं ।’

‘समयमै रोगको पहिचान हुन सकेन । एक्कासी बिरामीको अवस्था जटिल हुन गयो । उपचार गर्दागर्दै सडेन डेथ हुन पुग्यो । त्यस्ता प्रकृतिका बिरामीहरुको विस्तृत विवरणसहित नमुना संकलन गरी टेकु पठाउन भनेका हौं,’ डा. पौडेलले भने, ‘त्यस्ता बिरामीहरुको बारेमा समयमै अनुसन्धान गरी सम्भावित महामारी न्यूनीकरणमा योजना बनाउन सहज हुने उद्देश्यका साथ सेन्टिनेल साइट/अस्पतालहरुलाई रिपोर्टिङ गर्ने भनेका हौं ।’

समयमै सजगता अपनाउन नसके यसको संक्रमण फैलन सक्ने र धेरै जनाको ज्यान समेत जान सक्ने खतरालाई मध्यनजर राखेर ती क्षेत्रहरुमा निगरानी राख्न खोजिएको डा. पौडेलले बताए ।

सम्बन्धित अस्पतालहरुमा यसबारे निगरानी बढाउँदा महामारीसँग लड्नका लागि अनुसन्धान गर्न, यसको मुख्य कारण पत्ता लगाउन एवं भावी योजना बनाउन सहज हुने डा. पौडेलको भनाइ छ ।

विज्ञ के भन्छन् ?

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन नेपालमा पनि निपा भाइरस संक्रमणको जोखिम रहेको बताउँछन् ।

निपा भाइरस जुनोटिक रोग भएको भन्दै उनले यो रोग सार्ने चमेरा, बङ्गुर लगायतका जनावर नेपालमा पनि रहेकाले यसको जोखिम रहेको बताए । यो भाइरस सार्ने प्रजातिको चमेरा नेपालमा पनि पाइने भन्दै उनले यसबारे सूक्ष्म ढंगले अध्ययन गर्नुपर्ने उनले बताए ।

डा. पुन अगाडि भन्छन्, ‘भाइरसको स्रोत बङ्गुर पनि हो । नेपालमा किसानहरुले व्यावसायिक रुपमै बङ्गुर पाल्दै आइरहेका छन् । त्यसैले सरोकार निकायले बङ्गुरबारे पनि सूक्ष्म अध्ययन एवं विश्लेषण हुनु आवश्यक छ ।’

‘यो रोग जनावरबाट मात्रै सर्ने भनिएको छ । तर यसको संक्रमण पुष्टि भएका व्यक्तिबाट पनि अन्य मानिसमा सर्ने पछिल्लो अध्ययनले देखाएको छ । त्यसैले संक्रमण पुष्टि भएका व्यक्तिको क्लोज कन्ट्याकमा रहेकालाई क्वारेन्टिमा राखेर परीक्षण गर्ने गरिएको छ,’ डा. पुनले भने ।

डा. शेरबहादुर पुन

के हो यो रोग ?

निपा भाइरस एक जुनोटिक भाइरस हो । जुन जनावरबाट मानिसमा सर्छ र मानिसको खानाको माध्यमबाट वा प्रत्यक्ष रुपमा मानिसबाट अर्को मानिसमा पनि सर्न सक्छ । यो भाइरसको संक्रमणले मानिसमा कुनै लक्षण नदेखिनेदेखि श्वासप्रश्वाससम्बन्धी समस्या र अझै घातक समस्या देखिन सक्छ । यो भाइरसको संक्रमणको कारण बङ्गुरजस्ता जनावरमा झन् गम्भीर किसिमका रोग देखिन्छ । जसको कारण विशेषगरी किसानहरुलाई धेरै आर्थिक क्षतिसमेत हुने गरेको छ ।

कहाँ देखियो पहिलोपटक निपा भाइरसको संक्रमण ?

निपा भाइरस पहिलोपटक सन् १९९९ मा मलेसियाको बङ्गुर फार्ममा फेला परेको थियो । त्यसयता मलेसियामा यो भाइरस देखिएको छैन । सन् २००१ मा बंगलादेशमा पनि यो भाइरस देखिएको थियो । त्यसयता बंगलादेश तथा पूर्वी भारतमा वर्षको एकपटकजस्तो यो भाइरस देखिँदै आएको छ । यो भाइरस कम्बोडिया, घाना, इन्डोनेसिया, माडागास्कर, फिलिपिन्स र थाइल्याण्डमा पनि देखिइसकेको छ ।

यो रोग संक्रमित जनावरको सम्पर्कमा आएका मानिस तथा यो भाइरसको संक्रमण देखिएका चरा तथा जनावरले टोकेको वा विष्टा गरेको फलफूलबाट पनि मानिसमा सर्न सक्छ । त्यस्तै यो भाइरसको संक्रमण देखिएका मानिसको परिवार तथा स्याहार गर्ने मानिसमा पनि यसको संक्रमण देखिएको छ ।

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यो भाइरस विशेषगरी ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइन्छ । यो भाइरसले चमेरोलाई केही असर गर्दैन, तर मानिसमा सजिलै सर्न सक्छ ।

लक्षण के हो ?

  • ज्वरो आउने ।
  • शरीर, घाँटी र टाउको दुख्ने ।
  • विस्तारै रिंगटा लाग्ने, लोलाउने र बेहोस हुने ।
  • वान्ता हुने ।
  • शरीर कमजोर हुने ।
  • नसासम्बन्धी समस्या देखिने ।
  • शरीरमा एलर्जीलगायतका अन्य समस्या देखिने ।
  • कसैकसैलाई निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने ।
  • मानसिक असन्तुलन पैदा गर्ने ।
  • लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमामा जान सक्ने ।

कसरी बच्ने ?

डा. पुनका अनुसार यो रोग लागेका १० जना बिरामीमध्ये ५ जनाको मृत्यु हुने गर्छ । यो भाइरसको संक्रमणविरुद्ध अहिलेसम्म कुनै पनि औषधि र खोप पत्ता लागेको छैन ।

त्यसैले यो रोग पहिचान भएका स्थानमा चमेरा तथा बङ्गुरको सम्पर्कबाट टाढै बस्नुपर्ने डा. पुनको सुझाव छ ।

निपा भाइरस संक्रमित व्यक्तिको क्लोज कन्ट्याकमा रहेका व्यक्तिहरुलाई क्वारेन्टिनमा राखेर परीक्षण गरी संक्रमण भए नभएको छुट्याएर उपचार गर्नुपर्ने डा. पुन बताउँछन् ।

यसको संक्रमण भएमा २० देखि ४८ घण्टामा बिरामी कोमामा पुर्‍याउने डा. पुनको भनाइ छ । बिरामी निको भए पनि त्यस्तो व्यक्तिको स्नायु प्रणालीमा केही असर भने बाँकी नै रहने उनले बताए ।

यो भाइरस मानिसमा लागेपछि परीक्षण गर्दा देखिन सामान्यतया ४ देखि १४ दिनसम्म लाग्छ । कुनै कुनै अवस्थामा भने ४५ दिनसम्म पनि लक्षण नदेखिन सक्छ । यो भाइरसको संक्रमणको कारण मृत्यु हुने दर भने ४० देखि ७५ प्रतिशतसम्म पनि हुन सक्छ । मृत्युदर भाइरसको संक्रमणको प्रकृतिअनुसार फरक–फरक पर्छ ।

लेखकको बारेमा
प्रेम लामा

लामा अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?