+
+

गण्डकी आमसञ्चार विधेयक : प्रेस रजिष्ट्रारमाथि कर्मचारी हाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १७:२६
गण्डकी प्रदेशसभा भवन

२९ भदौ, पोखरा । नेकपा एमालेका गण्डकी प्रदेशसभा सदस्य धनञ्जय दवाडीले आमसञ्चार माध्यमको नियमन गर्न प्रेस रजिस्ट्रार स्वतन्त्र हुनुपर्ने बताएका छन् । सचिवले कारबाही गर्ने दफा परिवर्तन गर्नुपर्ने उनको सुझाव छ ।

‘सचिवले कारबाही गर्ने हो भने प्रेस रजिष्ट्रार किन चाहियो ?’ प्रदेशसभामा विधेयकमाथिको छलफलमा बोल्दै सांसद दवाडीले प्रश्न गरे । प्रेस रजिष्ट्रारलाई नै जिम्मेवारी गर्ने काम गर्नुपर्ने उनले बताए । मन्त्रालयका सचिवको मातहत होइन, मन्त्रीको मातहतमा प्रेस रजिष्ट्रार राख्नुपर्ने उनको सुझाव छ ।

प्रेस रजिष्ट्रार छान्न सचिवको संयोजकत्वमा छनोट समिति बनाएर रजिष्ट्रारलाई निरीह बनाइएको दवाडीले बताए । सञ्चार मन्त्रीको संयोजकत्वमा समन्वय समितिको परिकल्पना ऐनले गरेको तर अरु बुँदामा बाझिएको दवाडीको भनाइ छ ।

नेपाली भाषा र संस्कृतिका आधारमा बनाइएका विज्ञापनलाई प्रोत्साहन गरिनुपर्ने दवाडीले बताए । प्रदेशको विशेषता झल्किनुपर्नेमा संघको नक्कल गरेर विधेयक ल्याएको दवाडीको आरोप छ ।

निवर्तमान कानून मन्त्रीसमेत रहेका सांसद हरिबहादुर चुमानले कारबाहीको अधिकार सचिवलाई दिन नहुने बहसलाई छलफलबाट टुंगो लाग्नुपर्ने बताए । संघमा नै सञ्चार विधेयकबारे छलफल राखेका बेला प्रदेशमा पनि बहस हुनु स्वभाविकै भएको बताए । नवौं तहको अधिकृत सरह रजिष्ट्रार नियुक्त गर्ने भनेर बहसकै बीचमा ऐन आएको उनको भनाइ छ ।

कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले संसदमा उठेका प्रश्नको जवाफ दिँदै यो विधेयक अघिल्लो सरकारबाटै अपनत्व लिएको बताए । आमसञ्चार विधेयकमाथि संसदमा सैद्धान्तिक छलफल भएर विधायन समितिमा दफावार छलफल हुने उनले बताए ।

आमसञ्चार विधेयक पास भएपछि काठमाडौं नै धाउनुपर्ने समस्याको अन्त्य हुने मन्त्री थापाको भनाइ छ । यो विधेयकले प्रदेश सरकारको राजस्व वृद्धि पनि गराउने उनले बताए ।

लामो समयदेखि बहस भइरहेको प्रदेश आमसञ्चार विधेयक गत चैतमा प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । विधेयक दफावार छलफलका लागि विधायन समितिमा गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?