+
+

च्याम्पियन्स लिग : पीएसजीविरुद्ध हरेक टोली

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १८:५७

३० भदौ, काठमाडौं । २०२१/२२ को च्याम्पियन्स लिग शुरु भएको छ । यस पटकको लिगमा धेरै क्लबमा महत्वपूर्ण खेलाडी परिवर्तन भएका छन् ।

चेल्सीले रोमेलु लुकाकु र साउल निगुएजजस्ता खेलाडी ल्याउँदै टोलीलाई बलियो बनाएको छ । पीएसजीले लिओनल मेस्सी, सर्जियो रामोस, गियानलुइगी डोनारुमा, गियोर्जिनिओ विन्जाल्डम, अक्राफ हाकिमी र नुनो मेन्डेसलाई टोलीमा ल्याएको छ । उसको टोलीमा यसअघि नै नेयमार र केलियन एमबाप्पेजस्ता खेलाडी छन् ।

त्यस्तै क्रिस्टियानो रोनाल्डो, राफेल भराने र जाडोन सान्चो म्यानचेस्टर युनाइटेड गएका छन् । यहाँ च्याम्पियन्स लिगको समूह चरणमा प्रतिस्पर्धा गरिरहेका ३२ क्लबबारे चर्चा गरिएको छ

म्यानचेस्टर सिटी

पेप ग्वार्डिओलाको टोली पनि यसपटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा छ । २०११/१२ को सिजनमा बार्सिलोनाबाट दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेका उनले त्यसयता यो उपाधि हात पार्न सकेका छैनन् । गत सिजन उनको टोली सिटी फाइनलमा चेल्सीसँग पराजित भएको थियो । यो पटक उनी त्यसलाई बिर्सिन चाहन्छन् । सिटीले यसपटक ११ करोड ७० लाख युरोपमा ज्याक ग्रिलिसलाई टोलीमा भित्र्याएको छ । यद्यपि उसले ह्यारी केनलाई टोलीमा ल्याउन सकेन ।

पीएसजी

समर ट्रान्सफरको विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग उपाधिको प्रमुख दाबेदार हो । २०१९/२० मा फाइनल र २०१९/२० मा सेमिफाइनलमा पुगेको पीएसजीले यो पटक आफ्नो टोलीलाई थप बलियो बनाएको छ ।

पीएसजी एमबाप्पेलाई टोलीमै राख्न सफल भएको छ भने फ्रि ट्रान्सफरमा भित्र्याएका मेस्सी र नेयमार क्लबका प्रमुख हतियार हुनेछन् । यद्यपि उनीहरु सबैलाई अटाउने किसिमको प्रणालीको पत्ता लगाउनु माउरिसिओ पोचेटिनोका लागि चुनौती हुनेछ । यो काममा उनी सफल भए पीएसजीले यसपटकको उपाधि जित्न सक्छ ।

आरबी लेइपजिग

आरबी लेइपजिगले आफ्नो प्रशिक्षक जुलियन नगेल्समान र डायोट उपामेकानो, इब्राहिमा कोनाटे र मासेल साबिट्जरजस्ता महत्वपूर्ण खेलाडी गुमाउन सक्छ । तर एकपटक फेरि यो क्लबले खेलाडी ट्रान्सफरको समयमा गरेको कारोबारले धेरैलाई प्रभावित बनाएको छ ।

युरोपमा केही महत्वपूर्ण खेलाडी अहिले यो क्लबमा गएका छन् । अहिले यो टोलीमा मोहम्मद सिमाकान, जोस्को जीभार्डिओल, ब्रियन ब्रोबी र लाइक्स मोरिबाजस्ता खेलाडी छन् । डोमिनिक स्जोबोस्जलाइले चोटमुक्त भएपछि सम्झौता नवीकरण गर्ने अपेक्षा छ । लेइपजिगका लागि आन्द्रे सिल्भा एक महत्वपूर्ण खेलाडी हुन् ।

क्लब ब्रग

जुप्लियर प्रो लिगको पछिल्लो ६ मध्ये चार उपाधि जितेको यो टोली पनि च्याम्पियन्स लिगमा विपक्षीको लागि चुनौतीपूर्ण बन्न सक्छ । यो टोलीको लागि हान्स भानाकेनको प्रदर्शन महत्वपूर्ण हुनेछ । त्यस्तै यो टोलीमा नोआ लाङ र चाल्र्स डे केटेराइरेजस्ता युवा खेलाडी पनि छन् ।

एथ्लेटिको मड्रिड

यसपटकको राम्रो खेलाडी भित्र्याउन सफल भएको भन्दै एथ्लेटिको मड्रिडले प्रशंसा पाएको छ । विशेषगरी उसले रोड्रिगो डे पाउल, म्याथ्युज कुन्हा र एन्टोनी ग्रिजम्यानलाई टोलीमा ल्याएको छ । यो टोली २०१४ र २०१६ को च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । गत सिजनमा ला लिगाको उपाधि जितेको एथ्लेटिकोको ध्यान यसपटक च्याम्पियन्स लिगको उपाधिमा हुनेछ ।

लिभरपुल

अहिले लिभरपुल भने खेलाडीको चोटको कारण समस्यामा छ । उसका भिर्गिल भान डिइक, जोए गोमेज, फबिन्हो र जोर्डन हेन्डर्सन दीर्घकालीन चोटको सामना गरिरहेका छन् । यस्तोमा टोलीलाई पूर्णरुपमा शक्तिशाली रुपमा मैदानमा उतार्नु जर्गेन क्लोपको लागि चुनौती हुनेछ । यस्तोमा चर्चित मिडफिल्डर हार्भी एलिओट पनि घाइते हुनु टोलीको लागि अर्को समस्या हो ।

एफसी पोर्टो

पोर्टोका प्रशिक्षक सर्जियो कोन्सेइकाओले क्लबको आर्थिक अवस्थाका साथै टोलीलाई पनि राम्रो बनाएका छन् । अहिले यो टोलीमा लुइस डियाज, सिर्जियो ओलिभेइरा र जेसस कोरोनाजस्ता महत्वपूर्ण खेलाडी छन् । यो टोलीले च्याम्पियन्स लिगका एथ्लेटिको, लिभरपुल र एसी मिलानजस्ता टोलीलाई राम्रो चुनौती दिन सक्छ । पोर्टोको टोलीमा ३८ वर्षीय पेपे प्रमुख खेलाडी हुन् ।

एसी मिलान

सात वर्षपछि एसी मिलान च्याम्पियन्स लिगमा फर्किएको छ । अहिलेसम्म यो क्लबले दुई महत्वपूर्ण खेलाडी डोनारुबा र हकान कलहानोग्लुलाई गुमाइसकेको छ । डोनारुबाको स्थानमा माइक माइग्नाम आएका छन् भने रियल मड्रिडबाट लोनमा ब्राहिम डियाज आएका छन् । जाल्टन इब्राहिमोभिकले टोलीको आक्रमण सम्हाल्ने विश्वास लिइएको छ । त्यस्तै टोलीमा सान्ड्रो टोनाली, फिकायो टोमोरी र थियो हर्नान्डेजजस्ता खेलाडी छन् ।

स्पोर्टिङ सीपी

यो क्लब १९ वर्षपछि च्याम्पियन्स लिगमा आएको हो । यद्यपि यसपटक यो टोली कठिन समूहमा परेको छ । यो टोलीका लागि लोनमा आएका पाब्लो साराबियाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

बोरुसिया डर्टमुण्ड

यो समरमा एर्लिङ हाल्याण्डलाई टोलीमा कायम राख्नु बोरुसिया डर्टमुण्डको प्रमुख उद्देश्य रह्यो । त्यसमा फसल भएको छ र हाल्याण्डको काँधमा टोलीको ठूलो जिम्मेवारी छ । त्यस्तै मिडफिल्डमा जुडे बेलिङ्घमले पनि राम्रो प्रदर्शन गर्ने अपेक्षा छ । यो क्लबले मार्को रिउस, जुलियन बान्ड, गियो रियना र थोर्गान हाजार्डजस्ता खेलाडीको प्रदर्शनमा यो क्लकको च्याम्पियन्स लिगको यात्रा कस्तो हुन्छ भन्ने निर्भर गर्छ ।

अयाक्स

पछिल्लो समय अयाक्सका केही राम्रा खेलाडीले क्लब छाडेका छन् । तर, प्रशिक्षक एरिक टेन हागले नयाँ पुस्ताका राम्रा खेलाडी ल्याउँदै टोलीलाई सन्तुलनमा राखेका छन् । क्लबले गत जनवरीमा इतिहासकै सबैभन्दा धेरै मूल्यमा सेबस्टाइन हल्लरलाई खरिद गरेको थियो । यस्तोमा त्यसको नतिजा च्याम्पियन्स लिगको खेलमा देखिने अपेक्षा छ । क्लबको आक्रामक खेलको केन्द्रमा डुसान टाडिक छन् । त्यस्तै एन्टोनी, रयान ग्राभेन्बेर्क र गुरियन टिम्बरमा धेरैको नजर रहनेछ ।

बेसिक्टास

बेसिक्टासले गत सिजनको टर्कीस सुपर लिग जितेको थियो । त्यस्तै क्लबले टोलीमा केही महत्वपूर्ण परिवर्तन पनि गरेको छ । लोनमा रहेका राचिड घेजललाई स्थायी रुपमा क्लबमा भित्र्याइएको छ । एलेक्स टेइसेरिया फ्रि ट्रान्सफरमा क्लबमा आएका छन् भने क्लबले मिरालेम पीजानिक र मिची बाट्सुआयीलाई लोनमा ल्याएको छ ।

इन्टर मिलान

गत सिजनमा इन्टर मिलाले इटालियन सिरी ए मा युभेन्टसको दबदबा अन्त्य गरेको थियो । यद्यपि रोमेलु लुकाकु, हाकिमीका साथै प्रशिक्षक एन्टोनिओ कोन्टेले क्लब छाडेका छन् । क्रिस्टियान एरिक्सन पनि छैनन् । तर, नयाँ प्रशिक्षक सिमोन इन्जाघीसँग मिलान स्क्रिनियर, स्टेफन डे भीरिज र अलेसान्द्रो बास्टोनीजस्ता बलियो रक्षापंक्ति छ ।

रियल मड्रिड

च्याम्पियन्स लिगको सबैभन्दा सफल यो क्लबमा अहिले कार्लो एन्केलोटी प्रशिक्षक छन् । डेभिड अलाबा र एडुआर्डो कामाभिङ्गालाई यसपटक क्लबमा भित्र्याइएको छ । यो क्लबमा एडेन हाजार्ड, इस्को र मार्को एसेन्सिओजस्ता खेलाडीले क्लबको लागि प्रमुख भूमिका निर्वाह गर्न सक्छन् । यसपटक क्लबका करिम बेन्जेमा र भिनिसस जुनियरका धेरैको नजर पर्नेछ ।

सख्तर डोनेट्स्क

गत सिजनमा सख्तर डोनोट्स्कले लगातार चौथो पटक युक्रेनियन लिगको उपाधि जितेको थियो । क्लबका नयाँ प्रशिक्षक रोबर्टो डे जेर्बीले नेन्क र मोनाकोलाई हराउँदै च्याम्पियन्स लिगमा क्लबलाई पुर्‍याएका हुन् । सख्तरको टोलीलाई यसपटकको च्याम्पियन्स लिगमा ब्राजिली खेलाडीको पनि महत्वपूर्ण साथ रहनेछ ।

सेरिफ टिरास्पोल

यो क्लबले इतिहासमा पहिलोपटक च्याम्पियन्स लिग खेल्न लागेको हो । यो टोलीको लागि गुमाउनु केही छैन । त्यसैले यो टोलीका खेलाडी स्वतन्त्र भएर खेल्ने र केही नयाँ सिक्ने योजनाका साथ मैदानमा उत्रिनेछन् । यो टोलीका लागि कोलम्बियाका फरवार्ड फ्रान्क कास्टानेडा प्रमुख खेलाडी हुन् ।

बायर्न म्युनिख

बार्यन म्युनिख यसपटकको च्याम्पियन्स लिगको बलियो टोली हो । पहिलो खेलमा बार्सिलोनालाई पराजित गर्दै उसले सुखद शुरुआत गरिसकेको छ । टोलीमा नयाँ प्रशिक्षक जुलियन नागेल्सम्यान छन् । टोलीमा जोसुवा किम्मिच, थोमस मुलर र रोबर्ट लेवान्डोस्की प्रमुख खेलाडीको रुपमा छन् ।

बार्सिलोना

यसपटक आर्थिक संकटका कारण बार्सिलोना केही समस्यामा छ । यो टोलीका प्रमुख खेलाडी लियोनेल मेस्सी पीएसजी गएका छन् भने एन्टोनी ग्रिजम्यान लोनमा एथ्लेटिको मड्रिड गएका छन् । बार्सिलोनाले मेम्फिस डिपेईलाई टोलीमा ल्याएको छ । रोनाल्ड कोमेनको नेतृत्वमा रहेको टोलीमा युसुफ डेमिर, निको गोन्जालेज र गाभीले महत्वपूर्ण भूमिका निभाउन सक्छन् ।

बेन्फिका

यो क्लबमा जर्ज जेसस प्रशिक्षकको रुपमा छन् । च्याम्पियन्स लिगको यो सिजनमा यो क्लबले राम्रो प्रभाव पार्न सक्ने अपेक्षा गरिएको छ । माथिल्लो चरणमा प्रवेश गर्ने हो भने टोलीका महत्वपूर्ण खेलाडीहरु पिज्जी र राफा सिल्भाले राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।

डाइनामो किभ

यो टोलीमा च्याम्पियन्स लिगमा सबैभन्दा पाको उमेरका प्रशिक्षक मिर्किया लुसेस्कु छन् । उनी ७६ वर्षका छन् । यो टोलीका भिक्टर सिगान्कोभ, माइकोला सापारेन्को र भिटाली बुयाल्स्कीले यसअघि नै आफूलाई सिद्ध गरिसकेका छन् । त्यस्तै यो टोलीमा राम्रो प्रभाव छाड्न सक्ने रक्षापंक्ति पनि छ ।

भिल्लारियल

गत सिजनको युरोपा लिग जितेको यो टोली च्याम्पियन्स लिगमा पनि राम्रो प्रदर्शनको लक्ष्यमा छ । उनाई एमेरीको प्रशिक्षणमा रहेको यो टोलीमा नोरार्ड मोरेनो, पाउ टोरेस र डानी पारेजोजस्ता खेलाडी छन् ।

म्यानचेस्टर युनाइटेड

क्रिस्टियानो रोनाल्डो, राफेल भारान र सान्चोलाई भित्र्याएको म्यानचेस्टर युनाइटेड यसपटक च्याम्पियन्स लिगमा पनि अगाडि बढ्ने उद्देश्यमा छ । यसअघि ६ पटक च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको क्लब यसपटक भने केही बलियो छ । उसको लागि पाउल पोग्बा र ब्रूनो फर्नान्डेजजस्ता खेलाडीले महत्वपूर्ण योगदान दिन सक्छन् ।

एटलान्टा

गियान पिएरो गास्पेरिनीको प्रशिक्षणमा रहेको यो क्लबले पछिल्लो केही समययता राम्रो प्रदर्शन गर्दै आएको छ । यो क्लबले चलाखीपूर्ण रुपमा केही स्तरीय खेलाडीलाई भित्र्याएको छ । क्लबले क्रिस्टियान रोमेरोलाई बेचेर गुआन मुसो, मेरिह डेमिरल, माटेओ लोभाटो र टेउन कुपमेइनर्सलाई टोलीमा ल्याएको छ ।

योङ ब्वाइज

स्विस च्याम्पियन्स यो क्लबको नेतृत्व नयाँ प्रशिक्षक डेभिड बाग्नरले सम्हालिरहेका छन् । उनले आफूले च्याम्पियन्स लिगमा पनि राम्रो छाप छाड्ने विश्वास व्यक्त गरेका छन् ।

लिले

यो क्लब अहिले आर्थिक समस्यामा छ, जसको कारण यो क्लबले केही महत्वपूर्ण खेलाडी गुमाएको छ । यो टोली कम्तीमा स्भेन बोटम्यानलाई भने टोलीमा कायम राख्न सफल भएको छ । अग्रपंक्तिमा भने बुराक यिल्माज र जोनाथान डेभिड रहनेछन् । रोनाटो सान्चेजले पनि टोलीका लागि महत्वपूर्ण योगदान गर्न सक्छन् ।

सेभिया

सेभिया यसपटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यका साथ आएको छ । यो सिजनमा टोलीले आफ्ना केही महत्वपूर्ण खेलाडीलाई टोलीमा नै कायम राखेको छ ।

साल्जबर्ग

यो क्लबले पनि आफ्ना उत्कृष्ट खेलाडीहरु निरन्तर गुमाउँदै आएको छ । पछिल्लो दुई वर्षमा क्लबका एलिङ हाल्याण्ड, डोमिनिक स्जोबोस्जलाई र पास्टोन डकाजस्ता खेलाडी बाहिरिएका छन् । यद्यपि यो क्लब समूह चरण पार गर्ने लक्ष्यका साथ च्याम्पियन्स लिगमा आएको छ । यसपटक टोलीमा ब्रेन्डन आरोन्सन, रासमस क्रिस्टेन्सेन, लुका सुकिक र औमर सोलेटजस्ता खेलाडीले महत्वपूर्ण योगदान दिन सक्छन् ।

वूल्फस्बर्ग 

यो क्लबका प्रशिक्षक मार्क भान बोमेलले अहिलेसम्म टोलीलाई बुन्डेसलिगाको शीर्ष स्थानमा राख्न सफल भएका छन् । सोही लय च्याम्पियन्स लिगमा पनि कायम राख्न सक्ने अपेक्षा गरिएको छ । टोलीको लागि म्याक्सेन्स लाक्रोइसले निकै राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यस्तै टोलीका म्याक्सिमिलान अर्नल्ड र जाभर स्कलागरका साथै वोउट वेगहस्र्ट विपक्षी टोलीका लागि टाउको दुखाइ बन्न सक्छन् ।

चेल्सी

यो क्लब पनि च्याम्पियन्स लिगको उपाधिको दाबेदार हो । उसले यो सिजनको लागि टोलीमा ११ करोड ५० लाख युरोमा लुकाकुलाई भित्र्याएको छ । समग्रमा अहिलेको सिजनमा टोली बलियो देखिएको छ ।

युभेन्टस

दुई वर्षपछि मासिमिलियानो एलेग्री पुनः युभेन्टसको प्रशिक्षकको रुपमा फर्किएका छन् । युभेन्टसले यो सिजनमा टोलीका महत्वपूर्ण खेलाडी क्रिस्टियानो रोनाल्डोलाई गुमाएको छ । उसले टोलीमा मोइसे, किन, म्यानुअल लोकाटेली र काइओ जोर्जलाई भित्र्याएको छ । यो टोलीमा यसपटक फेडेरिको चिएसा, पाउलो डिबेला र लोकाटेलीले महत्वपूर्ण योगदान दिन सक्ने अपेक्षा छ ।

जेनिट

यो टोलीले रुसमा सबै टोलीलाई पछि पार्दै आएको भए पनि च्याम्पियन्स लिगमा भने राम्रो प्रभाव छाड्न सकेको छैन । यो टोलीमा विल्मर बारियर्स, माल्कोम र यारोस्लाभ राकिस्कीजस्ता खेलाडी छन् । उनीहरुले चेल्सी वा युभेन्टसजस्ता टोलीलाई समस्यामा पार्न सक्छन् ।

माल्मो

यो क्लब तेस्रोपटक च्याम्पियन्स लिगमा आएको हो । टोलीका प्रशिक्षकमा जोन डाहल टोमासन च्याम्पियन्स लिगमा बलिया विपक्षीविरुद्ध खेल्न तयार देखिएका छन् । यो टोलीमा एनेल अहमदहोजिकले राम्रो प्रदर्शन गर्दै आएका छन् ।

एजेन्सीहरुको सहयोगमा

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?