
३१ भदौ, वीरगञ्ज । वीरगञ्ज माइस्थानस्थित केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छापा हानेको छ । वीरगञ्ज-६ माइस्थान चोक अगाडि कन्हैयाप्रसाद सोनारले घरमा संचालन भएको सुन पसलमा प्रहरीले छापा हानेको हो ।
अवैध वित्तीय (हुण्डी) कारोबार भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली छापा हानेको हो ।
बुधबार पसलमा खानतलासी गर्दा स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ नगद बरामद गरेको छ । केन्ऽका सञ्चालक कन्हैयाप्रसाद सोनार र बारा परवानीपुर-३ बस्ने दिपककुमार सर्राफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले जानकारी दिए ।
पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
२०७६ असारमा पनि प्रहरीले सोही पसलमा छापामारी गरेर ८ जनालाई पक्राउ गरेको थियो । त्यसबखत स्रोत नखुलेको नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ किलो ९० ग्राम चाँदी बरामद गरेको थियो ।
प्रतिक्रिया 4