+
+

गण्डकीमा नवलपुरका सांसदलाई एकपछि अर्को अवसर

विधायन समितिमा विष्णु लामिछाने, लेखामा रोशन गाहामगर

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १८:१३
सार्वजनिक लेखा समितिका सभापति रोशन गाहा मगर (दाँया) र विधायन समितिका सभापति विष्णु लामिछाने (बाँया) ।

३१ भदौ, पोखरा । दुई पटकको आम चुनावमा टिकट पाएर पनि जित्न नसकेका नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले २०७४ मा वाम गठबन्धनको रापतापका बीच गण्डकी प्रदेशको प्रदेशसभा सदस्य निर्वाचित भए ।

नवलपरासीको बर्दघाट सुस्ता पूर्वको निर्वाचन क्षेत्र १ (क) बाट जम्मा ३ सय ८२ मतान्तरले चुनाव जितेका उनी कांग्रेस संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज भएर एमाले र माओवादी केन्द्र पुनर्स्थापित भएसँगै प्रदेश सरकार संकटमा पर्‍यो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकजना स्वतन्त्र सांसदको गठबन्धनले पोखरेलाई मुख्यमन्त्री बनायो । त्यसयता गण्डकी प्रदेशमा नवलपुरका सांसदले एकपछि अर्को अवसर पाएका छन् ।

पोखरेलको हातमा सिंगो प्रदेशकै बागडोर हुँँदा अर्का सांसद ओमकला गौतम कांग्रेस संसदीय दलको सचेतकको जिम्मेवारी पाइन् । बागलुङका मणिभद्र शर्मा सरकारको पर्यटनमन्त्री भएपछि नवलपुरकी गौतमलाई प्रमुख सचेतकमा गौतम पुगिन् ।

संसदीय समितिहरुको सभापति हेरफेर हुँदा पनि नवलपुरका सांसद हावी भएका छन् । गण्डकी प्रदेश सभामा पेश हुने र भएका सबै विधेयकहरुको दफादार छलफल गर्ने अधिकार पाएको विधायन समितिको सभापति कांग्रेस सांसद विष्णु लामिछाने बनेका छन् ।

विधायन समितिमा स्याङ्जाका मोहन रेग्मी थिए । एमाले प्रतिपक्षमा पुगेपछि सार्वजनिक लेखा समितिको सभापति उसले लिने भयो र विधायन समिति छाड्ने भयो ।

प्रमुख प्रतिपक्षलाई दिने संसदीय अभ्यास छ । अहिले प्रतिपक्षीमा एमाले छ । एमालेका रोशन गाहामगर सार्वजनिक लेखा समितिको सभापति बन्दा विधायन समितिको सभापति कांग्रेसले लियो, जसको सभापति नवलपुरका लामिछाने भए ।

६० सदस्यीय प्रदेशसभामा नवलपुरका ६ सांसद छन्, जसमध्ये ४ जनाले थप जिम्मेवरारी पाएका छन् । सांसदले ५२ हजार २ सय सुविधा प्राप्त गर्दा समिति सभापतिले गाडी, इन्धन लगायतका सुविधासहित ५६ हजार ८ सय ४० रुपैयाँ पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?