+
+
Shares

नेपाली भाषा पढ्दै नेपालीका सन्तान

पोर्चुगलमै जन्मिएका वा सानै उमेरमा त्यहाँ पुगेका नेपाली बालबालिका परिवारसँगको भाषिक दूरी मेटाउन सप्ताहान्तमा नेपाली पढिरहेका छन्। लिस्बनको एक संस्थाले सन् २०२४ यता तीन सयभन्दा बढी बालबालिकालाई निःशुल्क भाषा सिकाउने र संस्कृति सम्झाउने काम गरिरहेको छ।

कपिलदेव खनाल कपिलदेव खनाल
२०८३ साउन १८ गते ७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोर्चुगलमा बस्ने नेपाली अभिभावकहरूले आफ्ना बालबालिकालाई नेपाली भाषा र संस्कृति सिकाउन सप्ताहान्त विद्यालयको सहायता लिइरहेका छन्।
  • प्रिसियस रिजन एसोसिएसनले लिस्बनमा सञ्चालन गरेको निःशुल्क विद्यालयमा तीन सयभन्दा बढी बालबालिकाले नेपाली भाषासँगै कला र संस्कृति सिकिसकेका छन्।
  • वयस्कहरू अनलाइन कक्षातर्फ आकर्षित हुँदा बालबालिकाको भौतिक उपस्थितिमा सञ्चालित नेपाली भाषा कक्षा जोगाउन चुनौती थपिएको संस्थाका पदाधिकारीले बताएका छन्।

१८ साउन, पोर्चुगल । चितवनका सौगात अधिकारी र उनकी श्रीमती गोमा पुडासैनी १० वर्षदेखि पोर्चुगलमा बस्दै आएका छन्। उनीहरूकी पाँच वर्षीया छोरी सुयनाको जन्म पनि पोर्चुगलमै भएको हो।

गत वर्ष सौगातले आफ्ना बुवा–आमालाई नातिनीसँग भेट गराउन र पोर्चुगल घुमाउन नेपालबाट बोलाए। तर घरमा भाषाको समस्या देखियो। नेपालीका केही शब्द मात्रै जानेकी सुयनाले हजुरबा–हजुरआमासँग खुलेर कुराकानी गर्न सकिनन्। केही नेपाली शब्द मिसाएर पोर्चुगिज बोल्ने उनको अभिव्यक्ति हजुरबा–हजुरआमाले बुझ्न सकेनन्।

‘खान मन लागेको, शौचालय जानुपर्ने वा कुनै सामान चाहिएको कुरा पनि छोरीले नेपालीमा भन्न सकिनन्। निकै समस्या भयो,’ सौगात सम्झन्छन्, ‘बा–आमा घरमै हुँदा पनि भाषाकै कारण छोरीलाई उहाँहरूसँग छाडेर बाहिर जान सक्ने अवस्था भएन।’

त्यही घटनाले सौगातलाई झस्कायो। त्यसपछि उनले छोरीलाई नेपाली भाषा सिकाउने विद्यालय खोज्न थाले।

सप्ताहान्तमा नेपाली कक्षा

पोखराको अमरसिंहचोकका ३९ वर्षीय आनन्द थापा १६ वर्षदेखि पोर्चुगलमा छन्। आप्रवासीलाई पोर्चुगिज भाषा र संस्कृतिसँग घुलमिल गराउने उद्देश्यले उनले सन् २०२३ को अन्त्यतिर ‘प्रिसियस रिजन एसोसिएसन’ स्थापना गरे।

सन् २०२४ मा नेपाली तथा भारतीय नागरिकलाई पोर्चुगिज भाषा र संस्कृतिसँग जोड्न राजधानी लिस्बनको ओलायसमा संस्थाको कार्यालय खोलियो। त्यही क्रममा थापाको मनमा पोर्चुगलमै जन्मिएका नेपाली बालबालिकाले आफ्नो भाषा र संस्कृति कसरी सिक्लान् भन्ने प्रश्न उठ्यो।

त्यसपछि उनले संस्थाको कार्यालयमै विकेन्ड स्कुल अर्थात् सप्ताहान्त विद्यालय सुरु गरे। हरेक शनिबार र आइतबार बालबालिकालाई निःशुल्क नेपाली भाषा र संस्कृति पढाउन थालियो।

कार्यक्रम सुरु भएको झन्डै एक वर्षपछि सौगात छोरी सुयनालाई लिएर त्यहाँ पुगे। ‘एक महिनामै मेरी छोरीको नेपाली भाषामा धेरै सुधार भयो,’ सौगात भन्छन्, ‘अहिले नेपालमा रहेका मेरा बा–आमासँग नेपालीमै कुरा गर्न थालेकी छे। घरमा हामीले पनि धेरै प्रयास गर्‍यौं, तर विद्यालय गएपछि नै उसको भाषाको जग बस्यो।’

पर्वतकी सुजना घिमिरेका छोराले पनि यही विद्यालयमा नेपाली सिकिरहेका छन्। ‘कामका कारण हामीसँग बच्चासँग बिताउने समय निकै कम हुन्छ। चाहेर पनि नेपाली सिकाउन सकिरहेका थिएनौं,’ घिमिरे भन्छिन्, ‘लगातार तीन महिनामा १२ वटा कक्षा पूरा गरेपछि छोराले सामान्य नेपाली बुझ्न थालेको छ।’

नेपालमै सिकेको भाषा पनि बिर्सिँदै

पोर्चुगलमा आफ्ना सन्तानलाई नेपाली सिकाउन समस्या झेलिरहेका अभिभावक धेरै छन्। नेपालमै जन्मिएका कतिपय बालबालिकाले समेत पोर्चुगल पुगेपछि नेपाली बोल्न बिर्सिन थालेका छन्।

ललितपुरका विक्रम महर्जनले छोरालाई आठ वर्षको उमेरमा पोर्चुगल ल्याएका थिए। चार वर्षको अवधिमा छोराले नेपालीका अधिकांश शब्द र अभिव्यक्त गर्ने शैलीसमेत बिर्सिएको उनी बताउँछन्। ‘घरबाहिर नेपाली बोल्ने अवसर नपाउँदा उसले नेपालमै सिकेको भाषा पनि बिर्सिएछ,’ महर्जन भन्छन्। छोराले नेपाल भाषा (नेवारी) पनि सिक्न नपाएकोमा उनको चिन्ता अझ बढी छ।

प्रिसियस रिजन एसोसिएसनका अध्यक्ष थापाका अनुसार सन् २०२४ यता बालबालिकालाई नेपाली सिकाउने १४ चरणका कार्यक्रम सञ्चालन भइसकेका छन्। ती कक्षामा तीन सयभन्दा बढी बालबालिका सहभागी भएका छन्।

हाल तीनदेखि १४ वर्षसम्मका बालबालिका विद्यालयमा नेपाली सिकिरहेका छन्। उनीहरूलाई भाषासँगै नेपाली कला, संस्कृति र संयुक्त परिवारका मूल्य–मान्यताबारे पनि जानकारी दिइन्छ। संस्थाले बालबालिकासँग कुनै शुल्क लिएको छैन। ‘हामी नेपाली र भारतीय नागरिकलाई शुल्क लिएर पोर्चुगिज भाषा सिकाउँछौं। त्यसबाट संकलित रकमले नेपाली बालबालिकालाई निःशुल्क पढाइरहेका छौं,’ थापा भन्छन्।

अनलाइन कक्षाले थपेको चुनौती

पछिल्लो समय वयस्क विद्यार्थीमा अनलाइन कक्षाको आकर्षण बढेपछि बालबालिकाको भौतिक कक्षा टिकाइराख्न चुनौती थपिएको संस्थाका सचिव विक्की श्रेष्ठ बताउँछन्।

पोर्चुगिज नागरिकताका धेरै आवेदन प्रक्रियामा पोर्चुगिज भाषाको पर्याप्त ज्ञान प्रमाणित गर्नुपर्ने हुन्छ। लामो समय पोर्चुगलमै बस्ने योजना बनाएका आप्रवासीका लागि दैनिक जीवन सहज बनाउन पनि स्थानीय भाषा सिक्नु आवश्यक हुन्छ।

संस्थामा अहिले एक सयभन्दा बढी नेपाली तथा भारतीय नागरिकले पोर्चुगिज भाषा सिकिरहेका छन्। तीमध्ये ७० जनाभन्दा बढीले अनलाइन कक्षा लिइरहेको श्रेष्ठ बताउँछन्।

वयस्क विद्यार्थी अनलाइनतर्फ आकर्षित हुँदा भौतिक कक्षा सञ्चालन गर्न कठिन हुने र त्यसको असर बालबालिकाको नेपाली कक्षामा पनि पर्ने संस्थाको चिन्ता छ। ‘बालबालिकाका लागि मात्रै हप्ताको दुई दिन विद्यालय सञ्चालन गर्न कठिन हुन सक्छ। अनलाइनबाट बालबालिकालाई भाषा पढाउनु व्यावहारिक र प्रभावकारी नहुन सक्छ,’ थापा भन्छन्, ‘ठूला मानिसलाई अनलाइनमा पोर्चुगिज पढाउँदै गर्दा हाम्रा नानीबाबुलाई विद्यालयमै जम्मा गरेर कसरी पढाउने भन्ने नयाँ चुनौती सामना गरिरहेका छौं।’

संस्थाले बालबालिकालाई लक्षित गरेर चार भाषाको पुस्तकसमेत प्रकाशन गरेको छ। नेपाली, हिन्दी, पोर्चुगिज र अंग्रेजी समेटिएको उक्त पुस्तक बालबालिकालाई निःशुल्क वितरण गरिँदै आएको छ।

‘पुस्तक वितरणमा नेपालीसँगै भारतीय बालबालिकालाई पनि समेटेका छौं,’ सचिव श्रेष्ठ भन्छन्।

ओलायसस्थित संस्थाले भर्खरै पोर्चुगल आएका अभिभावकलाई स्थानीय सामाजिक व्यवहार, सार्वजनिक जीवन र विभिन्न समुदायसँगको अन्तरक्रियाबारे अभिमुखीकरण पनि दिँदै आएको छ।

त्यसैगरी, तत्काल रोजगारी खोज्न सहयोग पुर्‍याउने उद्देश्यले निःशुल्क हाउसकिपिङ तालिम सञ्चालन गरिएको छ। तालिममा एक सयभन्दा बढी महिला सहभागी भइसकेको र अधिकांशले रोजगारी पाएको थापाको भनाइ छ। ‘नेपालीका छोराछोरीलाई आफ्नो भाषा र संस्कृति चिनाउने प्रयासको प्रतिफल सन्तोषजनक पाएका छौं,’ थापा भन्छन्, ‘नयाँ चुनौती आए पनि यो कार्यक्रमलाई निरन्तरता दिनेछौं।’

लेखक
कपिलदेव खनाल

कपिलदेव खनाल पोर्चुगलमा कार्यरत सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?