News Summary
Generated by OK AI. Editorially reviewed.- कुवेतमा कार्यरत मोरङका ४४ वर्षीय सोमकुमार तामाङको ड्रोन आक्रमणमा परी मृत्यु भएको छ ।
- इरानले गरेको उक्त आक्रमणमा परी गाडी चालकका रूपमा कार्यरत तामाङको घटनास्थलमै निधन भएको हो ।
- आइतबार दिउँसो उनको शव गृहजिल्ला मोरङ पुर्याई परिवारजनले अन्तिम संस्कार गरेका छन् ।
१७ साउन, काठमाडौं । जुलाई ३० बिहान काठमाडौंमा रहेका विकास तामाङको मोबाइलमा कुवेतबाट फोन आयो ।
फोन गर्नेले सोध्यो, ‘तपाईं विकास भतिज बोल्नुभएको हो ? सोमकुमार तामाङ तपाईंका आफन्त पर्नुहुन्छ ?’
विकासले ‘हो’ भन्नेबित्तिकै उताबाट आएको अर्को वाक्यले उनको होस उडायो । ‘उहाँ चढेको गाडी ड्रोन आक्रमणमा परेर उहाँको मृत्यु भयो,’ फोन गर्नेले भने ।
केही क्षणका लागि विकासलाई त्यो कुरा पत्यार लागेन । सोमकुमारको मोबाइल हेर्ने क्रममा मोबाइलमा ‘विकास भतिज’ भनेर सेभ गरिएको नम्बरमा सोमसँगै काम गर्ने साथीले खबर गर्न खोजेका रहेछन् ।
त्यही फोनपछि सुरु भयो एउटा परिवारको कहालीलाग्दो प्रतीक्षा । विकासले तत्काल आफन्त टीका तामाङलाई फोन गरे । त्यसबेला टीका इटहरीमा थिए । सुरुमा कसैले पनि मृत्युको खबर सहजै विश्वास गर्न सकेनन् ।
टीकाले घटनाको सत्यता र यथार्थ बुझ्न कुवेतमा सम्पर्क गरे । नेपालबाट सोमलाई कुवेत पठाउने म्यानपावरलाई बुझे । त्यसपछि टीकालाई समेत सोमको मृत्युको यकिन भयो ।
‘मैले फेरि कुवेतमा सम्पर्क गर्न, कुन म्यानपावरबाट जानुभएको हो बुझ्न, दूतावाससँग पुष्टि गर्न भनेँ,’ टीकाले अनलाइनखबरसँग भने, ‘दोहोर्याएर सबै कुरा बुझ्दा मात्रै घटना सत्य रहेछ भन्ने थाहा भयो ।’
त्यसपछि मात्रै परिवारका सदस्य र आफन्तलाई क्रमश: खबर दिइयो । सन् २०२२ मा परिवारको आर्थिक अवस्था सुधार्ने सपना बोकेर मोरङ रतुवामाई नगरपालिका–९ का सोम कुवेत पुगेका थिए । यतिबेला उनी आफ्नै गाउँ त फर्किए, तर कफिनमा लाश बनेर ।
४४ वर्षीय सोमको ३० जुलाई बिहान इरानले प्रहार गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको थियो । गाडी चालकका रूपमा कुवेत पुगेका उनको गाडीमै रहेको अवस्थामा आक्रमण भएको थियो । आक्रमणमा परी घटनास्थलमै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
मृत्यु भएका सोमको शव शनिबार नै नेपाल पठाइएको थियो । आज आइतबार दिउँसो काठमाडौं आइपुगेको उनको शव आजै मोरङस्थित उनको घरमा लगेर अन्तिम संस्कार गरिएको छ ।
बुबाको अँध्यारो संसार, श्रीमतीको रित्तिएको सिउँदो
उनको शव आज दिउँसो घर पुर्याइयो । घरको आँगनमा राखिएको शव हेर्दै परिवारका सदस्यहरू भक्कानिए । ९२ वर्षीय अशक्त बुबाले छोराको अन्तिम अनुहार छाम्न खोजे । श्रीमतीको रुवाइ रोकिएन । दुई सन्तानले कहिल्यै नफर्किने बाबुलाई मौन भएर हेरिरहे ।
शव गाउँ आइपुगेको केही समयपछि परिवारले अन्त्येष्टिका लागि खोलातर्फ लग्यो । त्यसबेला पनि आकाश निरन्तर वर्षिरहेको थियो । ‘शवलाई दाहसंस्कारका लागि खोलामा पुर्याउँदा ठूलो पानी पर्यो, पानी परेकै अवस्थामा दाससंस्कार गर्यौं,’ टीकाले भने ।
परिवारमा ९२ वर्षीय अशक्त बुबा, श्रीमती, दुई छोराछोरी, दाजुभाउजू र अशक्त फुपू छन् । आमाको भने केही वर्षअघि नै निधन भइसकेको थियो ।
टीकाका अनुसार सोम वैदेशिक रोजगारीमा जानुअघि नेपालमै व्यावसायिक चालक थिए । टोयोटा हायस चलाउँदै काठमाडौं, मोरङ र झापाका सडकमा वर्षौं बिताएका उनले राम्रो कमाइको आशामा कुवेतको बाटो रोजेका थिए । त्यहाँ पनि उनी चालककै रूपमा कार्यरत थिए ।
पहिले नेपालकै सडकमा काठमाडौं–मोरङ–झापा रुटमा हायस कुदाउने सोमको जीवनको स्टेरिङ निकै कसिलो थियो । परिवारको भविष्य उज्यालो बनाउने र ९२ वर्षीय वृद्ध बुबाको बुढेसकालको सहारा बन्ने सपना बोकेर उनी कुवेत उडेका थिए ।
कुवेतमा उनी गाडी नै चलाउँथे । तर विधिको विधान, एउटा घातक ‘ड्रोन हमला’ ले उनको गाडीमात्र होइन, एउटा सिङ्गो परिवारको भरोसा नै धुजाधुजा पारिदियो ।
विदेशमा परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर गएको एउटा चालक अन्तत: आफ्नै गाउँ फर्कियो । तर, यसपालि उनको स्वागत मुस्कानले होइन, बाकसभित्र बन्द शवसँगै बगेका परिवारका आँसुले गर्यो ।
घरपरिवारका लागि सोममात्र एक व्यक्ति थिएनन्, उनीहरूका सारा खुसी र आवश्यकता पूरा गर्ने ‘खम्बा’ थिए । ड्राइभिङ सिटमा बसेर हजारौं किलोमिटर यात्रा गर्ने सोमले आफ्नै जीवनको यात्रा यसरी बीचैमा टुङ्गिन्छ भनेर सोचेका पनि थिएनन् होला ।
‘घरपरिवारमा उहाँको अभाव अब कसले पूरा गर्ला र ?,’ टीकाले भने, ‘घरमा ९२ वर्षको बुबा हुनुहुन्छ, अशक्त फुपू हुनुहुन्छ, छोराछोरी साना छन्, परिवारमाथि ठूलै बज्रपात पर्यो ।’
प्रतिक्रिया 4