 
																			१ असोज, गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ ।
करीब ४ महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएसँगै कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिए ।
हेल्थडेक्सबाट नियमित रूपमा मन्दिरका पुजारी, सुरक्षाकर्मी तथा मन्दिर परिसरमा नियमित काम गर्ने अन्य कर्मचारीको दैनिक रूपमा स्वास्थ्य परीक्षण गरिँदै आएको उनले बताए । ‘टाढाटाढाबाट आउने भक्तजनसँग पुजारी सुरक्षाकर्मी र कर्मचारीहरू नियमित सम्र्पकमा रहने हुँदा कोरोनाको जोखिम बढी हुन्छ’, प्रमुख श्रेष्ठले भने, ‘उहाँहरूको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छौँ ।’
त्यस्तै मन्दिर आउने भक्तजनको स्वास्थ्यमा समस्या देखिएमा समेत तत्काल स्वास्थ्य परीक्षण गर्ने व्यवस्था हेल्थडेक्सबाट गरिएको उनले जानकारी दिए । ‘बाहिर जिल्लाबाट समेत भक्तजन मन्दिरमा पुजाा गर्न आउन सुरु भएको छ’, उनले भने, ‘कोरोना सङ्क्रमणको जोखिम अझै पनि उच्च रहेकाले मन्दिरमा आउने भक्तजनले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको अनुगमन गर्ने, मास्क नलगाई आउने भक्तजनलाई मास्क उपलब्ध गराइँदै आएको छ ।’
‘दैनिक रूपमा हेल्थडेक्समा एक जना स्वास्थ्यकर्मी नियमित रहने व्यवस्था गाउँपालिकाले मिलाएको छ’, उनले भने, ‘हेल्थडेक्सबाट ज्वरो नाप्ने, रुघाखोकीको समस्या भएमा तत्काल अन्य भक्तजनबाट छुट्टै राखेर उपचारका गर्छौ ।’
गत वैशाख २३ गतेदेखि बन्द गरिएको मनकामना मन्दिर यही भदौ २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको थियो । मन्दिरमा पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पुजा सामग्री पुजारीलाई दिएर पुजा गर्ने व्यवस्था मन्दिर व्यवस्थापन समितिले मिलाएको छ ।
मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बली दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको मन्दिरका मुलपुजारी इन्सान थापाले जानकारी दिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4