+
+
फोटो कथा :

उँभो उँभो लेकमा म जाँदा : सुन्दरीजलदेखि मागिनगोठसम्म

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ असोज २ गते २०:००

आफ्नै गोठमा उनले गरेको न्यानो माया अविस्मरणीय खालको छ । उनकै गोठमा पुगेर तिब्बती चिया, उनीहरुले तत्कालै बनाएको छुर्पी हाम्रो लागि नौलो स्वाद थियो । बिहान, दिउँसो र बेलुका नै आलुको परिकार पनि हामीलाई अनौठो लाग्ने थिए ।

यात्रा सुन्दरीजलदेखि मागिनगोठसम्मको थियो । बर्खाको मौसम, पैदल यात्रा आफैंमा रमाइलो र चुनौतीपूर्ण थियो ।

करीब दुई घण्टाको निरन्तरको उकालो चढेपछि पुगिन्छ १८०० मिटर उँचाइमा पर्ने बोर्लाङ भन्ज्याङ । काठमाडौंबाट देखिने एकातर्फको क्षितिज, शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यभाग । त्यहींबाट ओरालो सुरु हुन्छ ।

चिसापानीसम्मको यात्राको लागि ।

सुन्दरीजलबाट चार घण्टाको पैदल यात्रामा पुगिन्छ चिसापानी । बस्ती सामान्य छ । तर ठाउँ निकै मनमोहक । पारि मेलम्चीको सुन्दर दृश्य देखिन्छ । साथमा स्थानीयको न्यानो आतिथ्य स्वीकार्दै हाम्रो यात्रा पाटी भन्ज्याङतिर ओरालो लाग्छ । पाटी भन्ज्याङ किन भनियो ?

यहाँ एउटा पुरानो पाटी थियो, भञ्ज्याङमा रहेको एउटा मात्रै पाटीको नामबाटै त्यो ठाउँको नामकरण गरिएको स्थानीय बताउँछन् । त्यहाँ पुगेपछि चिसापानीबाट आएका यात्रुको ओरालो यात्रा रोकिन्छ । फेरि पैदलयात्रुहरु उकालो लाग्ने बेला हुन्छ ।

सामान्य गतिमा हिंड्दा डेढ घण्टाको बाटो हो थाङकुनी । त्यहाँ व्यवस्थित खालका होटलहरु छन् । नियमित दुई वटा बस काठमाडौंबाट आउने गर्छन् । त्यसपछि सुरु हुन्छ ठाडो उकालो ।

त्यसपछिको बिसौनी भनेको चिप्लिङ हो । सुन्दरीजलबाट हिंडेका पर्यटकहरु धेरै चिप्लिङमा पुगेर पहिलो दिनको बास बस्छन् । त्यहाँ प्रशस्तै होटलहरु पनि छन् । साथमा मध्यपहाडमा रहेको यो ठाउँ मनमोहक पनि छ ।

तर हामी चिप्लिङमा बास बसेनौं । पैदलयात्रीलाई त्यसपछिको अर्काे बिसौनी गोल्फु भन्ज्याङमा छ । त्यो बाटो पैदल जाँदा करीब २ घण्टाको हो । हामी राति ८ बजे गोल्फु भन्ज्याङ पुगेर पहिलो दिनको बास बस्यौं । होटलहरु बन्द भइसकेका थिए । एक जना सशस्त्र प्रहरीका पूर्व जवानको घरमा बास मागेर त्यस दिन त्यतै बिताइयो । खाना सामान्यमा पनि उत्कृष्ट थियो । गोल्फु भञ्ज्याङ, भर्खर बसेको बस्ती हो । त्यहाँ गुरुङ, तामाङ, शेर्पा र दलितहरुको बसोबास छ ।

सुन्दरीजलदेखि मागिनगोठसम्मको यात्रामा तीन ठाउँमा उकालो उक्लिनुपर्छ भने दुई वटा ओरालो ओर्लिनुपर्छ । जसमा सुन्दरीजलदेखि बोर्लाङ, थाङ्कुनीबाट चिप्लिङमाथिको देउरालीसम्म र कुटुङसाङदेखि मागिनगोठसम्मको बाटो स्मरणयोग्य उकालो बाटाहरु हुन् ।

दोस्रो दिनको यात्रा गोल्फुभन्ज्याङबाट सुरु हुन्छ । चिसापानीबाट सुरु भएको सिन्धुपाल्चोक र नुवाकोटको सीमासीमै अघि बढ्ने बाटो गोल्फुभन्ज्याङहुँदै मागिनगोठसम्मै पुग्छ । गुरुङ, तामाङ र शेर्पाको बस्ती छिचोल्दै हामीहरु बिहानको खाना खान कुटुङसाङ पुग्छौं ।

कुटुङसाङसम्मको बाटो दुई घण्टामा पार गरियो ।

कुटुङसाङबाटै लाङटाङ राष्ट्रिय निकुञ्जको सुरुवात हुन्छ । यहाँबाट लेकाली जनजीवन सुरु हुँदोरहेछ । कुटुङसाङबाट उकालो लागेपछि निजी जग्गा भेटिंदैन ।

कुटुङसाङमा नै मकैको सातु र नुन चियाको नयाँ स्वाद लिइयो । नुनचियाको वास्तविक नाम पोचा हो ।

कुटुङसाङबाट यात्रा मागिनगोठतर्फ लाग्यो । घना जंगल । बीचमा कताकतै खर्कहरु । कतैकतै बस्ने पाटी बाँकी यात्रा सुनसान । चराहरुको चिरबिरसँगै साढे तीन घण्टाको पैदलयात्रामा मागिनगोठ पुगिन्छ । यो पनि सिन्धुपाल्चोक र नुवाकोटको सिमाना हो ।

पानी परिरहेको थियो । कुहिरोले नजिकैको दृश्य पनि राम्रोसँग नदेखिने खालको थियो । आकाश खुलेको थियो भने यही क्षेत्रबाट सिंगै हेलम्बुको सुन्दर दृश्यावलोकन गर्न सकिन्थ्यो भन्ने स्थानीय होटल व्यवसायीहरु बताउँछन् ।

मागिनगोठमा आधा दर्जनजति होटलहरु छन् । त्यसमध्ये हामी कालु शेर्पाको ग्रिन भ्यु होटलमा बस्यौं । नजिकै एउटा याक गोठ छ । गोठ कर्साङ दावा भक्तालको हो । उनी बर्खा याममा त्यहाँ गोठ राख्छन् भने हिउँद लागेपछि बेसी झर्छन् । यसरी चल्छ उनको जीवन ।

आफ्नै गोठमा उनले गरेको न्यानो माया अविस्मरणीय खालको छ । उनकै गोठमा पुगेर तिब्बती चिया, उनीहरुले तत्कालै बनाएको छुर्पी हाम्रो लागि नौलो स्वाद थियो ।

बिहान, दिउँसो र बेलुका नै आलुको परिकार पनि हामीलाई अनौठो लाग्ने परिकारहरु थिए । जे होस् दुई दिनको पैदल यात्रापछि पुगेको हेलम्बु ७ मा पर्ने मागिनगोठ एकपटक जानै पर्ने गन्तव्य हो ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?