+
+

न्यायाधीशहरुलाई सुवास नेम्वाङको आग्रह : सरकारले दिएको मेडल अस्वीकार गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १२:२५
फाइल तस्वीर

३ असोज, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले केपी शर्मा ओलीको सरकारविरुद्ध मुद्दा हाल्ने र फैसला सुनाउने न्यायाधीशलाई मानपदवी दिइएको भन्दै असन्तुष्टि जनाएको छ । यसले राम्रो सन्देश नगएको भन्दै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मेडल अस्वीकार गर्न न्यायाधीशहरुलाई आग्रह गरे ।

संविधान दिवसको अवसरमा आइतबार नेकपा एमालेले गरेको कार्यक्रममा पूर्वसभामुख नेम्वाङले भने, ‘हाम्रो पार्टीको सरकारविरुद्ध मुद्दा लगाउने साथीहरुले मेडल पाउनु भएछ । मुद्दामा भूमिका निर्वाह गर्नुहुने कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ । अरु ढंगले भूमिका निर्वाह गर्नेहरुले पाउनु भएछ । मुद्दाको फैसला गर्ने सवैधानिक इजलासमा बस्नु भएको न्यायाधीशहरुले पाउनुभएको छ ।’

‘यस्तै भएको हो भनेर म टिप्पणी गर्दिन । तर पारि चितुवा करायो, वारि सिंगारी हरायो भने जस्तै कार्य भयो,’ उनले भने, ‘उहाँहरुलाई न्यायाधीशका रुपमा आदर गर्छु । त्यसैले उहाँहरुलाई आग्रह गर्छु, यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तरुन्तै यो दिइएको मेडल हामी अस्वीकार गर्छौं भनेर घोषणा गरिदिनुस् ।’

संविधान दिवसको अवसरमा सरकारले ९०३ जनालाई विभिन्न विभूषण, अलंकार पदक प्रदान गरेको छ, जसमा ५ पुस २०७७ को प्रतिनिधिसभा संसद विघटन बदर गर्ने संवैधानिक इजलासमा रहेका पाँच जना न्यायाधीश परेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाउज्ज्वल राष्ट्रद्वीप, न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र न्यायाधीशत्रय अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिइएको छ ।

यस्तै संसद विघटनविरुद्ध बहस गर्ने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रसिद्ध प्रबल जनसेवाश्री तथा बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्कालाई सुकीर्तिमय राष्ट्रद्वीप पदक दिइएको छ ।

संसद विघटनविरुद्ध मुद्दा लिएर जाने कानूनका विद्यार्थीद्वय सुलभ खरेल र समृत खरेललाई पनि जनसेवाश्री पदक दिइएको छ ।

पार्टी फुटाउनेलाई पनि मेडल

एमाले संसदीय दलका नेता नेम्वाङले आफ्नो दल विभाजन गर्न भूमिका खेल्नेहरुलाई पनि सरकारले पदक दिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

नेम्वाङले भने, ‘एक जना साथी दिल्लीमा हुनुहुन्थ्यो । दिल्लीबाटै पार्टी फुटाउन भूमिका खेल्नुभयो, उहाँले पाउनु भएछ ।’

उनको संकेत पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालतिर थियो । खनाललाई राष्ट्र गौरव विभूषण प्रदान गर्ने निर्णय भएको छ ।

प्रचण्ड र माधवकुमार नेपालतर्फ संकेत गर्दै नेम्वाङले भने, ‘दुई जना नेताहरु यहीं रहेर क्रियाशील हुनुहुन्थ्यो, उहाँहरुका परिवारका महत्वपूर्ण सदस्यले मेडल पाउनुभएछ ।’ प्रचण्ड पत्नी सीता दाहाललाई उज्ज्वल कीर्तिमय राष्ट्रद्वीप र माधव नेपालका दिवंगत पिता मंगलकुमार उपाध्यायलाई प्रवल जनसेवाश्री पदक प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?