+
+

ननिभेको असोज-३ को आगो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १८:००

३ असोज, काठमाडौं। चिन्तक सीके लालले आफ्ना लेखहरूमार्फत् ‘नेपालको संविधान २०७२’ माथि असहमति जनाइरहेका थिए । छैटौं संविधान दिवसको अवसरमा भने उनले सडकमै आएर संविधान संशोधन मार्चमा सहभागिता जनाएका छन् ।

‘कोभिड महामारीले गर्दा एक वर्षपछि सडक प्रदर्शनमा आएको हुँ’ अनलाइनखबरसँग उनले भने ‘संविधानमाथि हाम्रा केही असहमति छन् । त्यसैको लागि निरन्तर आन्दोलनमा छौं ।’

आइतबार माइतीघरदेखि शुरु भएको ‘संविधान संशोधन मार्च’मा चिन्तक सीके लालसहित खगेन्द्र संग्रौला, मोहना अन्सारी, राजेन्द्र महर्जन, विमल अर्याल, नारायण वाग्लेलगायत अभियन्ताहरू अग्रमोर्चामा सहभागी थिए।

बृहत् नागरिक आन्दोलन, किरात राई यायोक्खा, मुस्लिम अधिकार मञ्च, थरुहट–थारूवान राष्ट्रिय मोर्चालगायत एक दर्जन संस्थाले संविधान विभेदकारी भएको भन्दै संसोधनको मागसहित प्रदर्शन गरे ।

‘असोज तीन-कालो दिन’, ‘विभेदकारी संविधान खारेज गर’, ‘यो सडकको आवाज सुन’जस्ता नारासहित माइतिघरदेखि वानेश्वरसम्म मार्च गरियो ।

बानेश्वरतर्फ जाँदै गरेको प्रदर्शनको राजतन्त्र पक्षधर समूहको एक जुलुससँग जम्काभेट भएको थियो । मुठभेट हुने सम्भावना भएपछि प्रहरीले संयुक्त नागरिक आन्दोलन र राजावादी समूहलाई फरक–फरक बाटोबाट छुट्याइदियो।

राजतन्त्र पक्षधर समूहले प्रदर्शनमा भने २०४७ को संविधान लागू गर्नुपर्ने मागसहित बानेश्वरबाट माइतीघरसम्म मार्च गर्‍यो ।

बानेश्वरमा आयोजित सभामा विभिन्न अधिकारकर्मी संस्थाका प्रतिनिधिले संविधानमाथिका आफ्ना असहमति उल्लेख गरे । मुस्लिम अधिकारकर्मी अब्दुर कमीले नियोजित रुपमा धार्मिक अल्पसंख्यकको अधिकार संकुचन गरिएको बताए ।

‘मुस्लिमलाई संविधानमै विशेष व्यवस्था गर्न हामीले आन्दोलन गरेका थियौं’ उनले भने, ‘जति प्रयत्न गर्दा पनि मुस्लिमलाई किटान नै गरेर अधिकार दिइएन । यसैबाट सम्पूर्ण अल्पसंख्यकलाई विभेद गरेको पुष्टी हुन्छ ।’

यस्तै अधिकारकर्मी दीप्ति गुरुङले आमाको नामबाट सहजै नागरिकता पाउने व्यस्वस्था संविधानमै किटान गर्न माग गरिन् । ‘संविधानले नागरिकताको विषयमा घुमाउरो तरिकाले महिलामाथि अन्याय गरेको छ’ गुरुङले भनिन्, ‘भारतीयहरुले नागरिकता लिन्छन् भन्ने कुतर्क गरेर आमाको नामबाट नागरिकता लिने व्यवस्थालाई कमजोर बनाइएको छ ।’

कवि रजनीमिलाले काठमाडौं उपत्यका रैथाने नेवाः समुदायमाथि राज्यले विभेद गरेको भन्दै आदिवासीको विशेष सम्बोधन गर्न माग गरिन् । उनका अनुसार नेपालका हरेक संविधानमा आदिवासीका अधिकारमाथि केही न केही लगाम लगाएर नजानिँदै ढंगले विभेद गरेको बताइन् ।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले किरातसहित सम्पूर्ण जनजातिको अधिकार सुनिश्चित गर्न माग गरे । राईले भने, ‘राज्यले संघीय लोकतान्त्रिक गणतन्त्रको नारा दिए पनि भाषिक तथा सांस्कृति दमन गरेको छ । त्यो संविधानमै किटान गरेर अन्त्य गरिनुपर्छ ।’

सभामा कविहरू जगबहादुर बुढा मगर र अभय श्रेष्ठले कविता वाचन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?