
४ असोज, काठमाडौं । रुसमा संसदीय निर्वाचन सम्पन्न भएको छ । रुसको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक नतिजामा राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसिया पार्टी बहुमत उन्मुख देखिएको छ । यद्यपि यो पार्टीले आफ्नो पकड रहेको केही क्षेत्र भने गुमाएको छ ।
३३ प्रतिशत मतगणना सकिँदासम्म युनाइटेड रसिया पार्टीले ४५ प्रतिशतभन्दा धेरै मत पाएको छ भने कम्युनिष्ट पार्टीले २२ प्रतिशत मत पाएको छ । एलडीपीआर पार्टीले ९ प्रतिशत मत पाएको छ ।
यसअघि सन् २०१६ मा भएको निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीले ५४ प्रतिशत मत प्राप्त गरेको थियो। त्यसयता यो पार्टीको लोकप्रियता पनि घट्दै गएको छ । सन् २०२४ मा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनअघि भएको यो संसदीय निर्वाचन निकै महत्वपूर्ण मानिएको छ ।
यसपटकको निर्वाचनमा अधिकांश विपक्षी नेतालाई भाग लिन रोक लगाइएको थियो । यसैबीच यो निर्वाचनमा ठूलो मात्रामा धाँधली भएको आरोप पनि लगाइएको छ ।
रुसले विपक्षी नेता एलेक्सी नाभाल्नीको संगठनलाई ‘चरमपन्थी’ भएको बताउँदै निर्वाचनमा रोक लगाएको थियो । यससँगै धेरै मानिसहरु रुसको सरकारविरुद्ध देखिएका थिए ।
एजेन्सीहरुको सहयोगमा
प्रतिक्रिया 4