+
+

व्यवसायीले दशैंका लागि मासुको औसत मूल्य तोक्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ५ गते १७:४१

५ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका व्यवसायीले दशैंका लागि तयारी मासुको औसत मूल्य तोक्ने भएका छन् । मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा भएको छलफलमा चाडपर्वलाई कारण देखाएर मासुको मूल्य बढ्न नदिन औसत मूल्य तोक्न व्यवसायी राजी भएको विभागले जनाएको छ ।

खसी–बोका, बंगुर र राँगाको मासुको मूल्य केही दिनमै तोकिने विभागका प्रवक्ता शिवराज सेढाईंले बताए । दशैंमा उपत्यकामा मासुको माग, बजार मूल्य र मासुको उपलब्धताबारे भएको छलफलमा मासुको मूल्य तोक्न सहमति बनेको उनले बताए । ‘मासुको मूल्य हालकै अवस्थाबाट बढ्दैन र त्यो रोक्न औसत मूल्य तोक्न व्यवसायी राजी भएका छन्’ सेढाईंले भने ।

चाडबाडमा उपभोक्तालाई मासुको मूल्य, गुणस्तर र सरसफाईमा विशेष ध्यान दिन पनि विभागले आग्रह गरेको छ । विभागमा भएको छलफलपछि मासुको मूल्य तोक्न छलफल थालिएको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । मासुको मूल्य तोक्न अहिले बैठक बसीरहेको अध्यक्ष रमेश खड्गीले बताए ।

अहिले बजारमा उपलब्ध मूल्यमा थप बृद्धि नहुने गरी संघले उपत्यकामा मासुको मूल्य तोक्ने उनले बताए । मासुको मूल्यका लागि मुख्यतयः यसको उपलब्धता महत्वपूर्ण भएको खड्गीले बताए । अहिले राम्रो खसीको मासुको मूल्य प्रतिकिलो १३ सय, मध्यम खालको मासुको मूल्य १२ सय र भाग लगाएको मासुको मूल्य एक हजार रुपैयाँ रहेको संघले जनाएको छ । यस्तै बंगुर, बफ, सुंगुरको मासुको प्रतिकिलो मूल्य ५ सय रुपैयाँ छ । ब्रोइलर कुखुराको मासुको मूल्य भने तीन सय रुपैयाँ छ ।

दशैंमा धेरै मानिस उपत्यकाबाहिर जाने भएकाले मासु बिक्री पुरानै अवस्थामा नहुने व्यवसायीहरु बताउँछन् । सरकारी विवरणअनुसार उपत्यकामा सामान्य अवस्थामा दैनिक तीनदेखि तीन लाख ५० हजार किलो कुखुराको मासु खपत हुनेको गरेको छ । यस्तै १२ सय गोटा खसी दैनिक मासुको प्रयोजनका लागि काटिन्छन् भने आठ सयको संख्यामा राँगा र भैसी, ६ सय गोटा बंगुर र पाँच हजार किलो माछा उपत्यकामा दैनिक खपत हुने गरेको छ ।

दशैंको बेलामा खपत अलि उकासिने आंकलन सरकार र व्यवसायी दुवैको छ । कम्तीमा जिउँदो एक लाख खसी बोका उपलब्ध भए दशैंमा मासुको मूल्य स्थिर नै रहने अनुमान राष्ट्रिय मासु व्यवसायी संघको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?