+
+

फेसबुकले भन्यो– प्रयोगकर्ताको सुरक्षामा १३ अर्ब डलर खर्च भयो

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १०:३१

काठमाडौं । सन् २०१६ यता प्लाटफर्मलाई सुरक्षित तथा प्रयोगकर्तामैत्री बनाउनका लागि फेसबुकले १३ अर्ब डलर खर्च गरेको छ ।

पछिल्लो ५ वर्षमा सेफ्टी र सेक्योरिटीका विभिन्न कार्यहरु गर्न १३ अर्ब डलर रकम लगानी गरिएको फेसबुकको दाबी छ ।

सोसल मिडिया प्लाटफर्मको खराब असरलाई निस्तेज पार्न फेसबुक असफल भएको भन्ने अनुसन्धानात्मक रिपोर्ट प्रकाशित भएसँगै फेसबुकले मंगलबार आफूले फेसबुकलाई सुरक्षित र मर्यादित बनाउनका लागि खर्चिएको रकमको तथ्यांक प्रस्तुत गरेको हो ।

फेसबुकका अनुसार हाल कम्पनीमा सेफ्टी तथा सेक्योरिटीको काममा ४० हजार कर्मचारी खटाइएका छन् जबकि ५ वर्षअघि १० हजार कर्मचारी खटाइएका थिए ।

एक आन्तरिक समीक्षा दस्तावेजको हवाला दिँदै हालै वालस्ट्रिट जर्नलमा प्रकाशित समाचारले कम उमेरका इन्स्टाग्राम प्रयोगकर्तामा परिरहेको नकारात्मक असरलाई फेसबुकले नजरअन्दाज गर्ने गरेको उल्लेख थियो ।

साथै विकासशील देशहरुमा मानव तस्करहरुले फेसबुकलाई तस्करीका लागि दुरुपयोग गरेको विषयमा कर्मचारीहरुले सचेत गराएको विषयमा समेत फेसबुकले क्रियाशीलता नदेखाएको रिपोर्टमा उल्लेख छ ।

एक ब्लग पोष्टमा फेसबुकले भनेको छ– विगतमा प्रडक्ट विकशित गर्ने प्रक्रियामा हामीले सुरक्षा चुनौतिको विषयलाई सुरुवातमै पर्याप्त ध्यान दिन सकेका थिएनौं । तर अहिले हामीले उक्त अवधारणामै आधारभूत परिवर्तन गरेका छौं ।

कम्पनीका अनुसार यो वर्षको सुरुका ६ महिनामै फेसबुकले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गरेर ३ अर्ब वटा फेक अकाउन्ट ब्लक गरेको छ । साथै कोभिड १९ तथा भ्याक्सिनका विषयमा पोस्ट गरिएका विभिन्न २ करोड वटा गलत सामाग्री पनि हटाइदिएको छ ।

फेसबुक तथा इन्स्टाग्राम प्लाटफर्ममा पोस्ट गरिएका गलत सामाग्रीहरु हटाउने क्रममा सन् २०१७ को तुलनामा अहिले १५ गुणा बढेको फेसबुकको दाबी छ ।

–रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?