+
+
फिचर :

रैथाने बाली जोगाउन जुम्लाका गाउँगाउँमा बीउ बैंक

जुम्लामा रहेका ८ वटा बीउ बैंकहरूमध्ये केही बैंकले स्थानीय स्तरमा उपलब्ध माटोको ढरा, कोठी र काठको भकारीहरू बनाएर बीउ भण्डारण गरेका छन् भने केहीमा आधुनिक तवरका ‘सिड’ बैंकहरू खोलिएका छन् ।

कृष्णमाया उपाध्याय कृष्णमाया उपाध्याय
२०७८ असोज ६ गते १८:०२

६ असोज, जुम्ला । पछिल्लो समयमा हराउँदै गएको रैथाने बाली चिनो, कागुनो, कालीमार्सी धान, गहत, कालो भट्मास, मैमास लगायतको संरक्षण र खेती विस्तारमा सघाउन जुम्लामा सहकारी तथा महिला समूह मार्फत बीउ बैंक स्थापना गरिएका छन् । जिल्ला कृषि विकास कार्यालय, जुम्लाको सहयोग तथा स्थानीय सहकारी संस्था र गाउँघरमा गठन गरिएका समूहले बीउ बैंक स्थापना गरेका हुन् ।

गाउँघरमा उपलब्ध बीउ संकलन गरेर बीउ बैंकमा राख्ने र त्यसलाई आवश्यकता अनुसार बिक्री वितरण गर्ने गरिएको तातोपानी गाउँपालिका वडा नम्बर २ जर्मीमा स्थापना भएको लछाल कृषि सहकारी संस्था अन्तर्गतको बीउ बैंककी अध्यक्ष विष्णु रावलले बताइन् ।

उनले भनिन्, ‘बीउ बैंक स्थापना भएपछि गाउँघरमा उपलब्ध चिनो, कागुनो, फापर, मार्से, कालीमार्सी धान, तिलखुडो, भट्मास, मकै लगायत अन्नका बीउहरू संकलन गरेर राखेका छौं ।’ यसले गाउँघरमा कसैलाई आवश्यकता परेको समयमा बैंकबाट बीउ दिने र खेती गर्ने काममा सघाउँदै आएको उनले बताइन् ।

रावल भन्छिन्, ‘गाउँघरमा समूहमा लगानी गरेर पनि जिल्ला बाहिरका मानिसहरू आएर बीउ किन्ने गरेको हुनाले आफूहरूलाई भने जस्तो फाइदा भएको छ । अनि यसबाट स्थानीय रैथाने बालीको संरक्षणमा सहयोग पनि पुगेको छ ।’

पछिल्लो समयमा हराउन थालेका रैथाने बालीहरू चिनो, कागुनो, मार्से, कालो भट्मास, गुराँस, मैमास, गहत, तिलखुडो लगायत बालीको बीउ लिएर खेती गर्न थालेको तातोपानी गाउँपालिकाको जर्मी गाउँकी चैती नेपालीले बताइन् । उनले भनिन्, ‘यसले गर्दा खेती गर्न चाहेका किसानलाई बीउ खोज्न टाढा जान पनि परेन र भनेको समयमा बीउ पाइयो पनि ।’

जुम्लामा रहेका ८ वटा बीउ बैंकहरूमध्ये केही बैंकले स्थानीय स्तरमा उपलब्ध माटोको ढरा, कोठी र काठको भकारीहरू बनाएर बीउ भण्डारण गरेका छन् भने केहीमा आधुनिक तवरका ‘सिड’ बैंकहरू खोलिएका छन् ।

यसमा गाउँकै महिला सहभागी छन् । असोजदेखि कात्तिक महीनासम्म गाउँघरमा पाइने रैथाने बालीहरूको बीउ संकलन गरेर मंसीरदेखि समूह, सहकारी तथा गाउँघरमा रहेका अन्य किसानलाई लगानी गर्ने र आवश्यकता अनुसार जिल्ला बाहिर पनि पठाउने गरिएको छ ।

तातोपानी गाउँपालिकामा स्थापना गरिएको बीउ बैंककी सदस्य रेवती रावल गरीब विपन्न किसानलाई खेती गर्न आवश्यकता अनुसारको बीउ दिने र खेती गरिसकेपछि लिएको बीउमा केही थपेर फिर्ता माग्ने गरिने हुनाले गाउँघरमा बीउ संरक्षणको काम सहज पनि भएको बताउँछिन् ।

उदाहरणको लागि १० किलो बीउ लिएका किसानले अर्को वर्ष ११ किलो बनाएर बीउ बैंकलाई फिर्ता दिने गर्छन् । सहकारीमा आवद्ध र त्यस गाउँ आसपासका किसानका लागि यस्तो व्यवस्था गरिएको छ । गाउँपालिका भन्दा बाहिरका किसानलाई चाहिं पैसामा बीउ बेच्ने गरिएको रावलले बताइन् ।

सहकारी मार्फत स्थापना भएको बीउ बैंकमा महिला धेरै रहेको उनको भनाइ छ । जुम्लामा खेतीपातीको काममा महिलाहरू बढी संलग्न हुने भएकाले पनि बीउ बैंकका सदस्यहरू पनि महिला नै धेरै छन् ।

यहाँका महिलाले यसमा किन रुचि देखाए त ? ‘पछिल्लो समय बजारमा प्रशस्त सेतो चामल पाउन थालेपछि मानिसहरू रैथाने बालीको खेती गर्न छोडे । यसले रैथाने बाली हराउने खतरा भयो, अनि हामी यसलाई जोगाउनुपर्छ भनेर लाग्यौं’ तातोपानी गाउँपालिकाको डठाँगीबाडा गाउँकी किसाननानी डाँगीले भनिन् ।

किसाननानीले भनिन्, ‘पहिलाको जस्तो अहिले मानिसहरू दुःख गर्न चाहँदैनन् त्यसैले गर्दा पुरानो बाली खोजेको समयमा भेटिंदैन ।’ खोजेको बेला भेटियोस् भनेर पनि आफूहरूले खेती गर्नुका साथै बीउ बैंकमा लगेर राख्ने गरेको उनको भनाइ छ ।

खेतीपाती गर्ने मान्छे कम हुँदै गएको बेला पछिल्लो समयमा रैथाने बालीको बजारमा माग बढ्दै गएको छ तर उत्पादन घट्दै गएको छ । यसको लागि स्थानीय तह, प्रदेश र संघ सरकारको तर्फबाट रैथाने बाली संरक्षणको लागि किसानलाई सहुलियत दरमा बीउ, खेती गर्नेलाई सिंचाइ र आवश्यक पर्ने औजारमा सहयोग गर्नुपर्ने उनको माग छ ।

‘हाम्रो गाउँघरमा पाइने कोदोले रक्तअल्पता भएका मानिसलाई सञ्चो गर्नुका साथै यो अन्य बालीहरूमा पनि विभिन्न रोगको औषधिको रूपमा प्रयोग हुने भएकाले यसको खेती विस्तारमा हामी लागेका छौं’, किसाननानीले भनिन् ।

बजारमा पाइने चामल भन्दा आफ्नै घरमा उत्पादन भएको अर्गानिक बालीबाट बढी पोषण पाइनुका साथै विभिन्न किसिमका रोगबाट बच्न सहयोग पुगिरहेको स्थानीय महिलाको भनाइ छ । यी बालीहरूको पछिल्लो समयमा बजार मूल्य पनि राम्रो भएको हुनाले आफूले खाएर पनि बजारमा बेच्न सकियो भने आम्दानी पनि राम्रो हुने स्थानीय महिलाहरूको भनाइ छ ।

जुम्लामा रहेका ८ वटा बीउ बैंकहरूमध्ये केही बैंकले स्थानीय स्तरमा उपलब्ध माटोको ढरा, कोठी र काठको भकारीहरू बनाएर बीउ भण्डारण गरेका छन् भने केहीमा आधुनिक तवरका ‘सिड’ बैंकहरू खोलिएका छन् ।

स्थानीय रैथाने बालीहरूको संरक्षणमा सहयोग गर्ने उद्देश्यले बीउ बैंक स्थापना भएको कृषि विकास कार्यालय, जुम्लाले जनाएको छ । पुरुषहरूको तुलनामा बीउ संकलन, ग्रेडिङ, प्याकेजिङ र लेभलिङ गर्न महिलाहरूमा राम्रो अनुभव भएको हुनाले यहाँ स्थापना भएका बीउ बैंकमा महिलाहरूको सहभागिता धेरै रहेको जिल्ला कृषि विकास कार्यालय, जुम्लामा कार्यरत कृषि प्रसार अधिकृत कमला थापाले बताइन् ।

उनले भनिन्, ‘जुम्लाको एक नगरपालिका र ७ वटा गाउँपालिकालाई समेट्ने गरेर बीउ बैंक स्थापना भएको हुनाले ती बैंकमा बीउ संकलन र वैज्ञानिक तवरले भण्डारण गर्नेहरूलाई प्राविधिक सल्लाह दिनुका साथै केही बीउ भण्डारणको लागि आवश्यक पर्ने भाँडाहरू पनि सहयोग गर्दै आएका छौं ।’ यसले बीउ बैंकमा रैथाने बाली संकलन गरेर राख्न र बजारसम्म पुर्‍याउन सहज भइरहेको उनको भनाइ छ ।

स्थानीय बालीको संरक्षण, प्रवर्द्धन र उपभोगको लागि जानकारी गराउने उद्देश्यले स्थानीय तह, प्रदेश र संघ सरकार मार्फत कृषि प्रदर्शनी मेलाहरूको आयोजना हुने गरेको थापाले बताइन् । यस्ता कार्यक्रमहरूमा जुम्लामा स्थापना भएका बीउ बैंकका सदस्यहरूले सहभागिता जनाउने गरेको उनको भनाइ छ ।

पुरुषहरूको तुलनामा बीउ संकलन, ग्रेडिङ, प्याकेजिङ र लेभलिङ गर्न महिलाहरूमा राम्रो अनुभव भएको हुनाले यहाँ स्थापना भएका बीउ बैंकमा महिलाहरूको सहभागिता धेरै रहेको जिल्ला कृषि विकास कार्यालय, जुम्लामा कार्यरत कृषि प्रसार अधिकृत कमला थापाले बताइन् ।

राष्ट्रियस्तरमा हुने प्रदर्शनी मेलामा पनि जुम्लाको उत्पादनले राम्रो बजार मूल्य पाएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । बजारमा माग त बढ्दै गएको छ तर उत्पादन भने घट्दै गएको हुनाले यसको संरक्षण र खेती विस्तारमा जोड दिनुपर्ने आवश्यकता देखिएको कृषि प्रसार अधिकृत थापा बताउँछिन् ।

कर्णाली प्रदेशका दशवटै जिल्लामा रैथाने बाली संरक्षणको लागि बीउ बैंक स्थापना गरेर खेती विस्तारमा जोड दिनको लागि संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

अहिले त महिलाहरूको सक्रियतामा रैथाने बालीको संरक्षणको लागि केही प्रयास भए पनि यसले सबैलाई पुर्‍याउन गाह्रो हुने अवस्था छ । यसका लागि प्रत्येक गाउँमा र नभए पनि प्रत्येक वडास्तरमा बीउ बैंकको स्थापना गर्न सकेमा हराउँदै गएको बालीको संरक्षण हुने र बजारको माग अनुसार रैथाने उत्पादन पुर्‍याउन सकिने थापा बताउँछिन् ।

सबै जातका बालीको बीउ संकलन गरेर ‘ग्रेडिङ’, ‘प्याकेजिङ’ र ‘लेभलिङ’ गरेर मात्रै बीउ बैंकमा राख्ने गरेकोले यसको गुणस्तरमा पनि निश्चिन्त हुन सकिने अवस्था रहेको उनको भनाइ छ ।

गाउँघरमा पाइने रैथाने बाली संरक्षणको लागि स्थानीय सरकारको तर्फबाट पनि पहल भइरहेको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायले बताइन् । उनले भनिन्, ‘पहिला पहिला जिल्लास्तरीय कृषि प्रदर्शनी मेला हुने भए पनि अहिले पालिकास्तरीय प्रदर्शनी मेला गर्ने र उत्कृष्ट बीउ बैंक र खेती राम्रो गरेको किसानलाई पुरस्कृत गर्नुका साथै आवश्यक औजारको सहयोग गर्ने तयारी भइरहेको छ ।’

एउटा पालिकाले मात्रै नभएर देशभरमा यस्तो अभ्यास अगाडि बढाउन सकियो भने हराउँदै गएका रैथाने बालीको संरक्षणमा सहयोग पुग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?