+
+

‘फोटो सिन्धुली’ प्रदर्शनीका लागि फोटो आह्वान, उत्कृष्टलाई पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ६ गते १९:१६

६ असोज, काठमाडौं । किनलोकको नेतृत्वमा आएको बेलायती फौजलाई सिन्धुलीगढी किल्लामा विसं. १८२४ असोज १५ मा गोर्खाली सेनाले पराजित गरेको दिन पारेर फोटो सिन्धुली प्रदर्शनी हुने भएको छ । यस दिनको अवसरमा नेपाल पर्यटन बोर्डको नियमित अभियान ‘फोटो नेपाल’मा फोटो सिन्धुली प्रदर्शनी गरिने भएको छ ।

आगामी असोज ११ देखि १७ सम्म हुने उक्त कार्यक्रम नेपाल पर्यटन बोर्ड, कमलामाई नगरपालिका, समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल, रोटराक्ट क्लव अफ सिन्धुलीगढी, सिन्धुली साईकल क्लवको सयुक्त आयोजनामा हुन लागेको बोर्डले जनाएको छ ।

यस कार्यक्रमको प्रमुख उद्देश्य विविध जातजाति, पर्यटकीय स्थल, कृषि उत्पादनलाई जोड्दै सिन्धुलीको पर्यटन प्रवर्धन गर्नु रहेको बोर्डले जानकारी गराएको छ । सिन्धुलीमा हरिहरपुरगढी, सिन्धुलीगढी, फिक्कल, आदिलिंग कुशेश्वर महादेव, सिद्धबाबा, पञ्चकन्या पोखरी, सुनकोशी, ठाकुर राजाको दरबार, महाभारत, चुरे, माइस्थान, मधुगंगा महादेव, सर्वसिद्धेश्वर गुफा, महाकाली देवी, बैष्णवी मन्दिर, शहश्रधारा गुफालगायत दर्जनौं पर्यटकीय स्थल छन् । अल्पसंख्यक हायु, थामी, पहरी मात्र होइन दनुवारलगायत विविध जातजातिको बसोबास समेत सिन्धुलीमा छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले सिन्धुली जिल्ला आफैंमा गौरवपूर्ण इतिहास बोकेको र यसको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्डले नियमित आयोजना गरीरहेको फोटो नेपाल अन्तर्गत यो अभियान अघि सारेको बताए । उनले यस अभियानमा फोटो पठाई सहभागी हुन समेत अनुरोध गरेका छन् । सिन्धुली जिल्लालाई पहिचान दिलाउने फोटोहरु सङ्कलनका लागि अनलाइन आह्वान गरिएको छ । यसरी सङ्कलन भएका फोटो नै फोटो सिन्धुली प्रदर्शनीमा समावेश गरिने छ ।

सिन्धुलीलाई पहिचान दिने ऐतिहासिक, धार्मिक, सांस्कृतिक स्थल, सिन्धुलीलाई चिनाउने पूर्वाधार, कृषि उत्पादन, विभिन्न जातजातिका भेषभूषा, संस्कृतिलगायत सिन्धुलीका रमणीय दृष्यावलोकन गर्न सकिने पर्यटकीय स्थलहरुका फोटो आह्वान गरिएको छ । उत्कृष्ट फोटोलाई सम्मानसहित पुरस्कृत गरिने समेत जनाइएको छ । फोटो १० असोजसम्म पठाउनु पर्नेछ ।

यस्तो छ फोटो पठाउने नियमः

  • आफैंले खिचेको कम्तिमा एकातर्फ २००० पिक्सल भएको तस्वीर पठाउनु पर्ने छ ।
  • फोटो खिच्दाको कथा समेत सँगै सामेल गरेर पठाउनु पर्नेछ ।
  • तस्वीरसँगै त्यसको विवरण (क्याप्सन) समेत उल्लेख गर्नु पर्नेछ ।
  • तस्वीरमा खिच्नेको नाम उल्लेख हुनेछ । तस्वीर अन्यत्र समेत प्रयोग गर्न सकिने छ । तस्वीरको कपिराइट फोटोग्राफर सँगै हुनेछ । प्रयोग गर्ने अधिकार भने आयोजकसँग सुरक्षित हुनेछ ।
  • तस्वीर छनौटको अन्तिम अधिकार आयोजकसँग हुनेछ ।
  • छनौट नभएका तस्वीर पनि अन्यत्र प्रयोग गर्न आयोजकलाई अधिकार हुनेछ ।
  • अरुले खिचेको तस्वीर पठाउनेहरुले वास्तविक फोटो ग्राफरको स्वीकृति लिएको हुनुपर्ने छ । कसैले पठाएको तस्वीर अर्को व्यक्तिले आफ्नो भएको दावी गरे त्यसको जिम्मेवार तस्वीर पठाउने व्यक्ति स्वयं हुनेछ ।

पर्यटन बोर्डका अनुसार फोटो http://photo.ntb.gov.np वा https://forms.gle/LTyeNtUMD8nhtwHM8 वा [email protected] मा पठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?