+
+

क्रिकेट मैदानको अभाव हुँदा खेलाडीले चाहेजति अभ्यास गर्नै पाउँदैनन्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ८ गते १४:१०
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान

८ असोज, काठमाडौं । त्रिवि क्रिकेट मैदान । यो नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट म्याच हुने एक मात्र मैदान हो । यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट म्याच एसीसी ट्रफी अन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो ।

त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवा न्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन । जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो ।

त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेल खेल्ने एक मात्र मैदान बनेको छ । नेपालले क्रिकेटको क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको छ । तर अन्तर्राष्ट्रियस्तरको खेल मैदान नहुँदा खेलाडीहरुले चाहेजति अभ्यास गर्न सकेका छैनन् । एउटा मात्र अन्तर्राष्ट्रियस्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर म्याच खेल्न पनि सकस परिरहेको स्वयं खेलाडीहरुले नै बेलाबेला बताउने गरेका छन् ।

नेपाली खेलाडीहरुलाई सिकाउन आएका प्रशिक्षकहरु पनि नेपालले अन्तर्राष्ट्रियस्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन् । तर पनि सरकार यसबारेमा लाचार देखिन्छ । नेपालले सन् १९८८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)बाट एशोसिएट सदस्यता पाएको थियो ।

अहिलेसम्म आइपुग्दा नेपाल टी–२० वरियतामा विश्वमा १३ औं स्थानमा छ भने एकदिवसीयमा १६ औं स्थानमा छ । नेपालमा टीयू क्रिकेट मैदान बाहेकका अन्य ३ वटा मैदान भए म्याच खेलाउन, खेलाडीहरुलाई अनुभव बटुल्न र अभ्यासमा धेरै सहयोग हुने टीयू क्रिकेट मैदानका क्युरेटर मधु तामाङले बताए । एउटै क्रिकेट पिचमा खेल्दा एक–दुईवटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान बनाउनुपर्ने उनले जोड दिए । एकपछि अर्को लगातार म्याच खेलाइरहँदा टीयू क्रिकेट मैदानलाई खेलको भार परेको उनले बताए ।

‘नेपालको अन्तर्राष्ट्रिय ग्राउण्ड यही एउटा मात्रै भयो, यसको विकल्पमा अरु ग्राउण्डहरु पनि छैन । यस्तै तीनवटा जति ग्राउण्ड भइदिएको भए, टुर्नामेण्ट गर्न सजिलो हुन्थ्यो, मैदानलाई भार पनि पर्दैन थियो,’ उनले भने, ईपीएलको लागि तयारी लगभग सकिएको छ, १५/२० दिन अघिदेखि तयारी शुरु भयो, टी २० को लागि घाँसे मैदान फाइदाजनक हुन्छ, हामीसँग अहिले ठिक्क मिल्ने पिच छ, ब्याटिङको लागि राम्रो हुने पिच छ, एउटै विकेट (पिच) मा सबै म्याच खेलाउन पनि सकिँदैन, खेलाए पिचलाई धेरै भार पर्छ ।’

नेपालले सन् १९९८ मा एसीसी ट्रफीको आयोजना गर्ने अवसर पाएको थियो । त्यसका लागि अन्तर्राष्ट्रियस्तरको मैदान आवश्यक पर्ने भएपछि सन् १९९६ मा भारतको जीस्पोर्ट्स कम्पनीसँग मैदान बनाउन सम्झौता गरेको थियो । सम्झौता अनुसार सानो फुटबल मैदानलाई जीस्पोर्ट्सले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?